५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

नेपालगन्ज सहर: टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

नेपालगन्ज सहर: टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो
अ+ अ-

बाँके । “पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ । उहाँले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ ।

उहाँ भन्नुभहुन्छ “श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ । श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो । उहाँ बिरामी भएर थलिएदेखि उहाँको उपचार खर्चदेखि साँझ–बिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ ।”

गुड्डीलाई घाँस काट्नमा सघाउनुहुन्छ उहाँकी १७ वर्षीया छोरी सोनी घँसियारले । तीन कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी सोनी आमासँगै नेपालगन्जका खाली चौरमा घाँस काट्न जानुहुन्छ । घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो ।

गुड्डीका अनुसार पहिला नेपालगन्जमा टाँगा चल्ने गथ्र्यो र घाँस पनि राम्रै बिक्री हुन्थ्यो । हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए । “पहिला–पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्”, उहाँले भन्नुभयो, “घोडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ । आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वभाविक हो ।”

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहनुभएको छ मीना घँसियारले पनि । श्रीमान्को मृत्युपछि दुई सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डीजस्तै नेपालगन्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जानुहुन्छ । उहाँको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ । “घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दया–माया नै देखाउँछन्”, मलिन मुहार बनाउँदै उहाँ भन्नुहुन्छ, “हामीले रु बीस भनेको घाँसलाई किन्नेले रु पाँच भन्छन् । कसैले रु पाँच र त कसैले दश दिएर लैजान्छन् । साँझ परिसकेको हुन्छ । घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा पाँच–दश रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ ।”

वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक दुईदेखि तीनसयसम्मको कमाइ हुने बताउनुहुन्छ मीना । घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले रु डेढ लाख बचत गरेको जानकारी दिनुभयो । मीनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताउनुभयो । “छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घर खर्चबाट पैसा जोगाएर सहकारीमा रु डेढ लाख बचत गरेको थिएँ । तर त्यो सहकारी नै भागेपछि मेरो वर्र्षौँदेखिको कमाइ खेर गयो । मैले छोरीको विवाह गर्न सकिरहेको छैन”, उहाँले दु:खी हुँदै भन्नुभयो ।

मीना र गुड्डीको भन्दा फरक छैन परेमपति घसियारको व्यथा पनि । ४० वर्षको उमेरमा हजुरआमा बनिसक्नु भएकी परेमपतिको चार पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेको छ । श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उहाँहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ । हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरीजस्तो अभाव नहुने उहाँको भनाइ छ । “मजदुरी त पाइए गर्ने हो नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाइन्छ । त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइएको पैसाले नै बल्ने गरेको छ”, परेमपतिको कमाई पनि यो सिजनमा सयदेखि डेढ सयसम्म मात्रै हुने गर्छ ।

सत्ताइस घरधुरी भएको उक्त घसियार टोलको एउटा घरमा तीनजना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन् । घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन् । साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ–आफूले काटेको घाँसको थुप्रो लगाएर महिलामात्रै घाँस बेच्ने गर्नुहुन्छ । उहाँहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन । यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दिनभरि घामपानी केही नभनी दु:ख गरेर आमा–बहिनीले काटेको घाँस साँझ जम्मा रु पाँचमा बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुवैले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि ।”

नेपालगन्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको तीन–चार पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्वउपप्रमुख तथा टोलका स्थानीयवासी शमशुद्धिन सिद्धीकी बताउनुहुन्छ । उहाँका अनुसार पुस्तौँ पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उहाँहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो/चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ । “हामी नजन्मिदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो पहिला–पहिला पाँच–दश पैसामा घाँस बिक्री गर्थे रे । आज जम्मा रु पाँच–दशमा बिक्री गर्ने गर्छन् । के फरक भएको भन्ने त रु”

उहाँले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दु:खी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियारन टोलका समुदाय वर्षौँदेखि विपन्नतामा बाँचिरहेको बताउनुभयो । “टोलमै हाइस्कुल पढेका मान्छे छैनन् । हातमा सीप छैन । व्यवसाय गर्न लगानी छैन । केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन् ।” उहाँले भन्नुभयो, “उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्जवल हुने थियो ।”

वडाध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताउनुभयो । “शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौँ । घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौँ ।” रासस