• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै



ढोरपाटन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ ।

पुल सञ्चालनमा आएको तीन वर्ष भयो । यो अवधिमा लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएको स्थानीयवासीको अनुमान छ । कोभिड–१९ सङ्क्रमणका बेला सञ्चालनमा आएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, छेउमै कालीगण्डकी नदी, केहीमाथि धार्मिक पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा पछिल्लो समय बागलुङमा धार्मिक पर्यटकको आवागमन बढेको हो ।

तीन वर्ष अगाडिसम्म यहाँ आउने पर्यटकको सङ्ख्या साह्रै न्यून थियो तर अहिले हरेक दिन बागलुङ बजारमा पर्यटकको चहलपहल बढेको छ । पहिले अधिकांश पर्यटक बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने गर्थे भने अहिले लामो झोलुङ्गे पुलले गर्दा बजार हुँदै पञ्चकोटसम्म पुर्‍याउने गरेको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन् । झोलुङ्गे पुलका कारण बागलुङसहित पर्वत र म्याग्दीमा पनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले लामो पुलमा बालबालिकादेखि युवायुवती र बूढापाकाको भीड हुने गरेको छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या पनि निकै ठूलो देखिन्छ । अझ बिदाको दिन सयौँले पुल अवलोकनका साथै वारपार गर्ने गरेका छन् ।

हरेक दिन जिल्लामा पर्यटकको सङ्ख्या बढ्दै गएपछि कोभिडका कारण थला परेका जिल्लाका होटल व्यवसायीलाई यतिबेला भ्याइनभ्याइ छ । पर्यटकीय क्षेत्रको तीव्र प्रचार र सही व्यवस्थापन हुँदा पर्यटकको भित्रिने सङ्ख्या पनि बढ्दै गएको हो । पहिले यहाँ भारतीय पर्यटक निकै कम आउने गरेकामा अहिले दैनिकजसो पुल तर्नका लागि आउने गरेका छन् । भारतको चण्डिगढबाट घुम्न आउनुभएका पोकस चौधरीले यहाँको वातावरण, मन्दिर र लामो झोलुङ्गे पुल निकै रमणीय रहेको बताउनुभयो । परिवारसहित मुक्तिनाथ दर्शनका लागि आउनुभएका उहाँले बागलुङका बारेमा धेरै पटक सुनेको हुँदा यसपालि घुम्न आएको बताउनुभयो ।

“मुक्तिनाथ तीन पटकसम्म आएँ, मुक्तिनाथ जाने बेला गाडीबाट आकाशमाथि झोलुङ्गे पुल देखेको थिएँ, यहाँ आउन पहिलेदेखि नै मन लागेको थियो, विभिन्न कारणले आउन पाइएको थिएन, अहिले परिवारसहित आएको बेला पुल तरियो, कालिका मन्दिरको दर्शन पनि गर्‍यौँ”, चौधरीले भन्नुभयो, “अहिले पनि हतार भयो, अर्को समय आउँदा अरु धेरै ठाउँ घुमेर जाने छौँ, यो ठाउँ साँच्चिकै ‘एमेजिङ’ रहेछ, धेरै खुसी लाग्यो ।”

कपिलवस्तु चन्द्रौटाका नविन बेलवासेले यहाँको लामो झोलुङ्गे पुलसँगै पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका सामाजिक सञ्जालमा देखेर नै घुम्न आएको बताउनुभयो । यहाँका स्थल भिडियो युट्यु र फेसबुक पेजमा धेरै भाइरल भएको भन्दै त्यसले धेरैलाई आकर्षित गरेको उहाँको भनाइ थियो । आफूहरु सात जनाको समूह बनाएर यहाँ आएको र धार्मिक तथा पर्यटकीय ठाउँको भ्रमण गरेर फर्किने बेलवासले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसभन्दा अगाडि बञ्जीजम्पमा आएको थिए, अहिले यहाँसम्म आएका छौँ, गर्मी बिदाको मेसो मिलाएर आएको बेला ढोरपाटनसम्म पुग्ने योजना छ, यो पुल तर्ने ठूलो रहर थियो, तरियो, बीचमा पुग्दा डर पनि लाग्दो रैछ रमाइलो पनि भयो, यति लामो पुल अहिलेसम्म देखेको थिएन, हाम्रोतिर त छोटोछोटो मात्रै पुल बनेका छन् ।”

पछिल्लो समय अहिलेसम्मकै धेरै पर्यटक बागलुङ आउने गरेको होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । उहाँले लामो पुलले गर्दा बागलुङमा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताउनुभयो । पहिले कालिकामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै बजारमा आउने गरेकामा अहिले ५० प्रतिशत बढी आउन थालेको अध्यक्ष चोखालको भनाइ थियो । अहिले अधिकांश पर्यटक पुल नै हेर्न र पार तर्न आउने गरेको देखिन्छ ।

“अहिले होटल व्यवासय राम्रो भईरहेको छ, होटलमा आउने पाहुनाको संङ्ख्या पनि बढीराखेको छ, हामीहरुले कस्तो सेवा दिएका छौँ, उहाँहरुले मूल्याङ्कन गर्ने विषय हो, अहिले पर्यटक बढ्नुको मुख्य कारण भनेकै लामो झोलुङ्गे पुल हो”, उहाँले भन्नुभयो, “पुलको व्यापकरुपमा प्रचार भएकै कारण पर्यटक बढेका हुन्, अहिले अन्य पर्यटकीय ठाउँको पनि विकास भयो, त्यसले गर्दा पनि होला दिनप्रति दिन बागलुङमा आउनेको सङ्ख्या बढिरहेको पाएका छौँ ।”

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र म्याग्दीको गलेश्वरको प्रवेशद्वारमै लामो पुल हुँदा दैनिक एक हजार बढी पर्यटक यहाँ घुम्न आउने अध्यक्ष चोखालको भनाइ थियो । पुल हेर्न आएकामध्ये डेढ सय बढी पर्यटक बागलुङका होटलमा बास बस्ने गरेका छन् । अहिले राति घुम्न आउने पर्यटकलाई लक्षित गरी विद्युतीय बत्तीसमेत जडान गरिएको छ ।

‘सिङ्गल स्पान’ मा संसारकै लामो भनिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङसँग जोडिएको छ । पुल करिब रु नौ करोड २५ लाखमा सम्पन्न भएको थियो । पुल आसपासमा अहिले व्यावसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण भइरहेका छन् । रासस