रुद्रप्रयाग । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा पहिरो गएको छ । गौरीकुण्डमा केही समयदेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण घर भत्किँदा करिब १३ जना भग्नावशेषमा फसेका छन् । भग्नावशेषमा फसेकामध्ये अधिकांश नेपाली रहेको बताइएको छ ।
दुर्घटना बिहीबार राति भएको हो । पहाडबाट लगातार ढुङ्गा खस्दा उद्धार टोलीलाई कठिनाइ भइरहेको छ । रुद्रप्रयाग प्रहरी, एसडीआरएफ, डीडीआरएफ लगायतका धेरै टोली उद्धार कार्यमा जुटेका छन्, तर बेपत्ताको पहिचान हुन सकेको छैन।
रुद्रप्रयागको गौरीकुण्डमा बिहीबार साँझदेखि पानी परिरहेको छ । राति झन् झन् झरी परेको थियो । अविरल वर्षाका कारण पहाड चिरिँदा दुई पसलमा क्षति पुगेको छ । पसलमा काम गर्ने करिब १३ जना भग्नावशेषमुनि पुरिएका छन् । पहिरो खसेको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।
पहिरोको सूचना पाएलगत्तै जिल्ला प्रशासन, जिल्ला प्रकोप व्यवस्थापन, एसडीआरएफ र डीडीआरएफका टोली पनि घटनास्थलमा पुगेका थिए। तर, अविरल वर्षाका कारण रातभर पसलमा बस्ने सर्वसाधारणको ज्यान बचाउन सकिएको छैन । तीमध्ये केही स्थानीय र अधिकांश नेपालका रहेको भारतको नवप्रदेश डटकमले जनाएको छ ।