• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

निकोलस पूरनको ५५ बलमा १३७ रनको इनिङ्सले न्यूयोर्क बन्यो च्याम्पियन



एजेन्सी । एमआई न्यूयोर्कले अमेरिकाको मेजर लिग टी–२० को पहिलो उपाधि जितेको छ । फाइनलमा सिएटल ओर्कासलाई ७ विकेटले पराजित गर्दै टोलीले पहिलो उपाधि जितेको हो ।

एमआईका कप्तान निकोलस पूरनले १६ बलमा अर्धशतक बनाएपछि ४० बलमा शतक बनाए । पुरनले १३७ रन बनाएर नटआउट रहे र आफ्नो टिमलाई च्याम्पियन बनाए । उनले १० चौका र १३ छक्का प्रहार गरे ।

डलासको ग्रान्ड पियर स्टेडियममा टस हारेर ब्याटिङ रोजेको ओर्कासले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा एमआईले कप्तान पूरनको विस्फोटक इनिङ्सको आधारमा १६ ओभरमा खेल जित्यो ।

ओर्कासलाई ५ औं ओभरमा नै पहिलो झट्का लागेको थियो । ओपनर नुमान अनवर ९ रन बनाएर आउट भए । उनीपछि सेहान जयसूर्या १६ र हेनरिक क्लासेन पनि ४ रन बनाएर आउट भए ।

एकतर्फ लगातार विकेट खसिरहेको थियो तर अर्कोतर्फबाट क्विन्टन डी ककले छिटो रन बनाएर आफ्नो अर्धशतक पूरा गरे । उनी १७ औं ओभरमा ५२ बलमा ८७ रन बनाएर आउट भए तर त्यतिन्जेल उनको टोलीको स्कोर १४० रन पुगेको थियो ।

डिकक आउट भएपछि ओर्कासको टोलीबाट शुभम रञ्जनले २९, इमाद वासिमले ७ र ड्वेन प्रिटोरियसले २१ रन बनाए । वेन पार्नेल २, एन्ड्रयु टाई र हरमित सिंहले १–१ रन मात्र बनाउन सके र टिमले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

एमआईका रासिद खानले ९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै फास्ट बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनीहरु बाहेक स्टिभन टेलर र डेभिड भिजेले पनि एक–एक विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए । भिजेले आफ्नो ४ ओभरमा ६५ रन दिए ।

डेवाल्ड ब्रुइस १३ औं ओभरमा २० रन बनाएर रनआउट भए । कप्तान पूरन अझै रोकिएनन् र ४० बलमा शतक बनाए । पूरनले १६ औं ओभरमा आफ्नो टोलीलाई ७ विकेटले जिताए । उनले क्यामरन ग्याननको बलमा फाइन लेगतर्फ विजयी चौका प्रहार गरे । पुरनले ५५ बलमा १३७ रन बनाए भने टिम डेभिड १० रन बनाएर नटआउट रहे । ओर्कासका इमाद वासिम र वेन पार्नेलले १–१ विकेट लिए ।

मेजर लिग टी–२० प्रतियोगिता पहिलो पटक अमेरिकामा खेलिएको हो । एमआई न्युयोर्क पहिलो च्याम्पियन बन्यो भने टिमका कप्तान निकोलस पूरन सर्वाधिक स्कोरर बने । उनले ८ खेलमा ३८८ रन बनाए । एमआईका ट्रेन्ट बोल्ट सर्वाधिक विकेट लिने बलर बने । उनले ८ खेलमा २२ विकेट लिए ।