२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने
अ अ+ अ-

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ ।

हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ । “छ स्थानमा शव व्यवस्थापन गर्न सकिने भन्दै स्थानीय तहले स्थान पहिचान गरी पठाएका छन्, सोहीअनुसार हाल कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न सकिन्छ”, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो । उहाँका अनुसार केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन् । 

स्थानीय तहले पहिचान गरी पठाएअनुसार पाँचखाल नगरका लागि सीमाक्षेत्र भुम्लु गाउँपालिकाबीचमा अवस्थित दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरका लागि स्थानीय मशानेघाट क्षेत्र, लट्ठघारी वन क्षेत्र र बाँसखर्कलगायत वन क्षेत्र, चौँरी देउराली गाउँपालिकामा चिहानडाँडा, गोठपानीलगायत आठ स्थान, भुम्लु गाउँपालिकाका लागि सुनकोशी र इन्द्रावती नदीको दोभान, खानीखोला गाउँपालिकाका लागि वाग्मती घाट, रोशी गाउँपालिकाका लागि भ्याकुरे खोला र रोशी खोलीस्थित त्रिवेणीघाट पहिचान गरिएको केन्द्रले जनायो । पहिचान भएका स्थानमध्ये सदरमुकाम नजिकका स्थानमा केही तीन दिनपछि शव व्यवस्थापन थालिने प्रजिअ पोखरेलले जानकारी दिनुभयो । 

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । सदरमुकाम अवस्थित धुलिखेल नगर, नजिकका पनौती र बनेपाले शव व्यवस्थापनबारे चासो दिएका छैनन् । केन्द्रले सुरक्षाका हिसाबले सदरमुकाम नजिक सुरक्षित स्थानमा शव व्यवस्थापन गर्न चाहेको तर स्थानीय जनप्रतिनिधि यसबारे गम्भीर नभएको जनाइएको छ । “सदरमुकाम नजिक स्थानीय तहका प्रमुखले सोच्छौँ भन्नुभयो”, पोखरेलले भन्नुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौँको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको छ । 

केन्द्रले दुई हप्ताअघि कोभिड–१९ को दोस्रो लहरबाट काभ्रेपलाञ्चोकमा दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शववाहन मागेको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्नेगरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी र स्थानीय तहमा शववाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शववाहन माग्ने निर्णय गरेको थियो । “दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेपछि जिल्लामा शववाहन नहुँदा प्रदेशमा मागेका हौँ, अब आउने भएको छ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार केन्द्र मातहत रहनेगरी हाललाई एक थान शववाहन मागिएको हो ।
 
पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोक तथा अन्य जिल्लाको समेत गरी सरदर दैनिक चार नागरिकको मृत्यु हने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १३७, अघिल्लो दिन १७८, तथा आइतबार १९८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् । 

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल एक हजार ९३८ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३४ दशमलव ४६ प्रतिशत अर्थात् ६६८ सङ्क्रमित छन् । सङ्क्रमितमध्ये धुलिखेलमा ४४३, पनौतीमा ३७७, पाँचखालमा १०६, नमोबुद्धमा ७४, मण्डनदेउपुरमा १०९ तथा रोशी गाउँपालिकामा २५, चौँरीदेउरालीमा २५, तेमालमा ३१, भुम्लुमा २९, खानीखोलामा २३, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा १६ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।  

कुल सङ्क्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८३२ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ८८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।