१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती वैज्ञानिकले बनाए ‘नक्कली सूर्य’



अ+ अ-

लण्डन । बेलायती वैज्ञानिकले ‘नक्कली सूर्य’ बनाउने दिशामा ठूलो उपलब्धि हासिल गरेका छन् । बेलायती वैज्ञानिकहरूले सूर्यको प्रविधिमा आणविक फ्यूजन गर्ने रिएक्टर बनाउन सफल भएका छन्, जसले ठूलो ऊर्जा निकाल्छ।

अक्सफोर्ड युनिभर्सिटी नजिकै गरिएको प्रयोगका क्रममा यस रिएक्टरबाट ५९ मेगाजुल ऊर्जा निस्क्यो । यो विश्वमै कीर्तिमान हो । यो मात्रामा ऊर्जा उत्पादन गर्न १४ किलो टीएनटी प्रयोग गर्नुपर्छ।

यो भव्य परियोजनालाई ऋगजिबm मा संयुक्त यूरोपीयन टोरसले कुल्हाममा कार्यान्वयन गरेको छ। वैज्ञानिकहरुको यो उपलब्धिलाई कोसेढुङ्गाको रुपमा लिइएको छ ।

यो प्रविधिको सहयोगले ताराहरुको ऊर्जाको दोहन गरी पृथ्वीमा सस्तो र स्वच्छ ऊर्जा प्राप्त गर्ने बाटो खुलेको छ ।

प्रयोगशालाले ५९ मेगाजुल ऊर्जा उत्पादन गरेर सन् १९९७ मा बनाएको आफ्नै कीर्तिमान तोडेको छ । बेलायतको परमाणु ऊर्जा प्राधिकरणले बुधबार यो सफल परीक्षणको घोषणा गरेको हो ।

एजेन्सीले डिसेम्बर २१ मा आएका नतिजाहरू आणविक फ्युजनको प्रविधिमा आधारित ऊर्जाको सुरक्षित र दिगो आपूर्तिका लागि विश्वको सम्भावनाको प्रदर्शन भएको बताएको छ।

बेलायतका विज्ञानमन्त्री जर्ज फ्रिम्यानले यो नतिजाको प्रशंसा गर्दै यसलाई कोसेढुङ्गा भनेका छन् । उनले भने, “बेलायतमा महत्वपूर्ण अनुसन्धान र आविष्कारहरू प्रवर्द्धन गरिएको छ भन्ने यी प्रमाण हुन् । साथै युरोपेली साझेदारहरूको सहयोगमा आणविक फ्युजन–आधारित ऊर्जालाई वास्तविक रुप दिइएको छ ।”

आणविक फ्युजन प्रविधिले उही प्रविधि प्रयोग गर्दछ जुन सूर्यले ताप उत्पन्न गर्न प्रयोग गर्दछ। भविष्यमा मानवजातिले प्रचुर मात्रामा सुरक्षित र स्वच्छ उर्जाको स्रोत पाउने र जलवायु परिवर्तनको समस्याबाट मुक्ति पाउने विश्वास गरिएको छ ।

आणविक फ्युजनमा केन्द्रित बेलायती प्रयोगशालामा वर्षौंको प्रयोगपछि यो सफलता आएको हो। यस प्रयोगशालामा टोकामाक नामको डोनट आकारको मेसिन जडान गरिएको छ ।

जेइटी प्रयोगशालामा जडान गरिएको टोकामाक मेसिन संसारको सबैभन्दा ठूलो र शक्तिशाली हो। यो मेसिनभित्र अत्यन्त थोरै मात्रामा ड्युटेरियम र ट्रिटियम भरिएको थियो।

यी दुबै हाइड्रोजनका आइसोटोप हुन् र ड्युटेरियमलाई भारी हाइड्रोजन भनिन्छ। यसलाई प्लाज्मा बनाउन सूर्यको केन्द्रभन्दा १० गुणा बढी तताइएको थियो।  

यसलाई सुपरकन्डक्टर इलेक्ट्रोम्याग्नेट प्रयोग गरेर एक ठाउँमा राखिएको थियो। यसलाई घुमाउँदा अपार मात्रामा ऊर्जा निक्लिएको थियो । 

न्यूक्लियर फ्युजनबाट उत्पादित ऊर्जा सुरक्षित छ । यसले एक किलोग्राम कोइला, तेल वा ग्याँसबाट उत्पादित ऊर्जाभन्दा ४० लाख गुणा बढी ऊर्जा उत्पादन गर्छ। एजेन्सी