• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

पर्वतमा पहिराले छ घर विस्थापित



तस्बिरः सामाजिक सञ्जाल

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवारसमेत विस्थापित भएका छन् ।

पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उहाँले बताउनुभयो ।

स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभयो । “पहिराको कमेरे माटो बस्तीमाथिको जङ्गलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ”, उहाँले भन्नुभयो, “आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ ।”

पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताउनुभयो ।

“यसअघि जङ्गल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षात्पछि पूर्णगाउँको तालसम्म पुगेको छ”, उहाँले भन्नुभयो, “बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन् । पौवाभित्र बाढी पसेको छ ।”

स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताउनुभयो । “चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्”, उहाँले भन्नुभयो, “पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ ।”

मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उहाँले बताउनुभयो । विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो । यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए । पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ । रासस