• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

रुसले भन्यो– युक्रेनले हाम्रा पत्रकारको हत्या गर्यो



एजेन्सी । रुस–युक्रेन युद्धका बीच जापोरिजिया क्षेत्रमा युक्रेनको आक्रमणमा परी एक रुसी पत्रकारको मृत्यु भएको छ । यस्तै, ३ पत्रकार घाइते भएका छन् । रुसले यसका लागि कीभ र पश्चिमी देशहरूलाई दोष लगाएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले अमेरिकाबाट प्राप्त क्लस्टर बममार्फत यो हमला गरेको आरोप लगाएको छ । रुसको विदेश मन्त्रालयले यसलाई पूर्व नियोजित जघन्य अपराध भनेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्– ‘युक्रेनले आतंक फैलाइरहेको छ । रुसी पत्रकारलाई निशाना बनाएर हामीमाथि बदला लिन खोज्नेलाई कारबाही हुन्छ । युक्रेनलाई हतियार आपूर्ति गर्ने व्यक्तिहरू पनि यस मृत्युका लागि जिम्मेवार छन् ।’

हत्या गरिएका रुसी पत्रकारको नाम रोस्टिस्लाभ झुराभलेभ हो । उनी सरकारी समाचार एजेन्सी आरआइएका लागि युद्ध संवाददाताका रूपमा कार्यरत थिए । युक्रेनको जापोरिजिया क्षेत्रबाट आक्रमणका बीच उनका तीन सहयोगीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।

मन्त्रालयले सबै पत्रकारले क्लस्टर बम प्रयोग गरी कीभका आतंककारीहरूले गरेको आक्रमणको रिपोर्ट गर्न प्रमाण सङ्कलन गरिरहेको बताएको छ । समाचार एजेन्सी आरआइएले पनि जापोरिझिया गाउँमा पत्रकारको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि आक्रमणमा क्लस्टर हतियार प्रयोग भएको हो भन्ने अहिले नै पुष्टि भएको छैन ।