• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

पूर्व राष्ट्रपति भण्डारीसहित कलाकर्मी तथा राजनीतिज्ञद्वारा ‘बगान’को प्रशंसा



काठमाडौँ। गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिईरहेको छ । मंगलवार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौँ उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ सम्भावना देखाएको छ ।

मंगलवारका शोहरूमा दर्शकको उपस्थिती उच्च देखिएको थियो । यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा बिश्लेषकहरूले मंगलवार साँझ ‘बगान’ हेरेका छन् ।

अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्व राष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिनुभयो ।

बरिष्ठ पत्रकार तथा राजनीतिज्ञ रविन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सो बिषय ‘बगान’ले उठाएको बताउनु भयो । उहाँले पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफुसँग सम्बन्धित एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको र यो बिषयलाई शसक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको प्रतिक्रिया दिनुभयो । पूर्व मन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफै पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताउनुभयो ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो चलचित्र आमा छोरी नै आएर हेर्नुपर्ने बताउनुभयो । “नारीमाथी भईरहेको अन्यायको बिषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबै मनले स्विकारेको छ”, श्रेष्ठले भन्नुभयो , “महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान वितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।”

बरिष्ठ कलाकार हरिवंश आचार्यले यो चलचित्रको बिषय नै मुटु छुने रहेको बताउनुभयो । “जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो बिषय नै त्यस्तै छ”, आचार्यले भन्नुभयो । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नव अभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गर्नुभयो ।

बरिष्ठ कलाकार किरण केसीले चलचित्रमा धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गर्नुभयो । प्रमिलालाई साथमा राख्दै उहाँले भन्नुभयो, “तपाईंलाई भगवानले अभिनय गर्न नै भनेर पठाएको हुन् । भबिष्य उज्जव छ ।” यो चलचित्रमा अभिनयका माहिरहरूले अभिनय गरेको बताउँदै उनले यो चलचित्र सबै नेपालीले हेर्नैपर्ने रहेको जिकिर गर्नुभयो ।

बरिष्ठ निर्देशक तुलसी घिमिरेले यो बिषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताउनुभयो । यो चलचित्रले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उल्लेख गर्नुभयो ।

संविधानविद् भिमार्जुन आचार्यले नेपाली समाजमा संवेदना हराउँदै गएको अवस्थामा हाम्रै समाजको संवेदनशिल बिषय उठान भएको बताउनुभयो । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आम नेपालीले यो चलचित्र हेर्न अनुरोध गर्नुभयो ।

बिशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाउनुभएकी अभिनेत्री प्रमिला कार्कीले नयाँ आएको कलाकारको लागि उत्कृष्ट रहेको प्रतिक्रियाहरू आउँदा केही भन्नै नसक्ने अवस्था आएको जनाउनुभयो । उहाँले भन्नुभयो, “मैले सँधै कोहीपनि व्यक्ति पुरुष वा महिला भएर भन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो चलचित्रमा मेरो पात्र पनि त्यस्तै मैले आगामी दिनमा पनि मैले निभाएका भूमिकाले समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु ।”

मंगलवार बगान हेर्न दर्जनौँको सङ्ख्यामा बिशिष्ट व्यक्तिहरू काठमाडौँ सुन्धाराको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुगेका थिए ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गर्नुभएको हो ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुनुहुन्छ । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।