• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता



काठमाडौँ । भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिनुभएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ ।

“अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दश वर्षमा १० हजार मेघावाट जलविद्युत् भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गर्नुभयो”, भारतीय समकक्षीसँगको भेटवार्ताबारे अर्थमन्त्री डा महतको सचिवालयले भनेको छ, “दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो ।”

भारतका अर्थमन्त्रीले एनपिएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गर्नुभएको छ । जवाफमा अर्थमन्त्री महतले उक्त परियोजना छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम भइरहेको बताउनुभयो ।

भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउन समेत अर्थमन्त्री डा महतले अनुरोध गर्नुभएको छ ।

जी–२० सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुका साथै यो मञ्चमा नेपाललगायत कम आय भएका देशको सरोकारका विषय राख्न अवसर दिएकोमा धन्यवाद दिँदै जी–२० को गतिशील एवं सवल नेतृत्व लिएकोमा अर्थमन्त्री डा महतले भारतलाई बधाई दिनुभयो । आपसी हितका क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानुपर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिनुभएको थियो । रासस