काठमाडौ । लगातार तेस्रो दिन प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । भौतिक दूरी कायम गर्दै बोलाइएका निश्चित संख्याका पत्रकारमा आज तेस्रो दिन पनि उहाँलाई एउटा प्रश्न भने निरन्तर आइनै रह्यो ।
भौतिक दूरी कायम गरी आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्न दूरीकै थियो, त्यो पनि झण्डै आधा दशक सँगसँगै हिँडेका दुई साथीबीचको दूरी ।
यता पत्रकार सम्मेलनमा पत्रकारबीचको भौतिक दूरी कोरोनाको कहरले कोरिदिएको थियो तर प्रधानमन्त्रीसँग ती पुराना मित्रसँगको दूरीको निर्माण भने सत्ताले गराएको थियो, कोरोनाले होइन ।
त्यो प्रश्न थियो, उहाँको उहाँकै ती पुराना मित्र माधव नेपालसँगको सम्बन्धको । अस्ति, हिजो र आज पनि उहाँमाथि आइलाग्ने यो प्रश्ले खोजेको उत्तर अब उहाँहरुबीचको सम्बन्ध आगामी दिनमा कस्तो हुन्छ भन्ने नै थियो ।
कुनै समय गायक सुगम पोखरेलको एउटा गीत बडो चर्चित थियो– फेरी त्यो दिन सम्झन चाहान्न…. । त्यही गीतको बोलको वरिपरि छ अहिले उहाँहरु दुई जनाको सम्बन्ध पनि । र जब जब पत्रकारबाट यो प्रश्न आउँथ्यो अनि प्रधानमन्त्रीको मुहारले पनि त्यही कथा आफूले दोहो¥याउन नचाहेको तथ्य उहाँको मुहारले बाहिर निकाल्थ्यो ।
हो, उहाँले शब्दले दिन नचाहेको र शारीरिक हाउभाउले आफै बुझेहुन्थ्यो भन्ने लाग्ने त्यही उत्तरकै वरिपरि अचेल एमालेका बरिष्ठ नेता माधब नेपालसँगको सम्बन्ध यस्तै मोडमा पुगेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निबास बालुवाटार आयोजित सञ्चारकर्मीहरुसंगको अन्तरक्रियमा पनि यही प्रश्न आयो– अब यहाँको माधव नेपालसँगको सम्बन्ध कसरी अघि बढ्ला ?
उहाँले भन्नुभयो–ए माधवजीसँगको सम्बन्ध त अब पाष्ट टेन्स नै भैसक्यो नि ।
एउटै आन्दोलन एउटै मोर्चामा करिब ४० बर्षदेखि सहकार्य गर्दै आउनु भएका अध्यक्ष ओली र नेता नेपालको सम्बन्ध यति कटुतामा पुगेको छ कि अहिले दुबैको सबैभन्दा ठुलो बर्ग सत्रु एक अर्का नै हुन् ।
राजनीतिमा बरु माओबादी अध्यक्ष पुष्पकमल दहालसंग त्यत्ति सम्बन्ध बिग्रीएको छैन होला जति नेपालसंंग उहाँको बिग्रीएको देखिएको छ ।
उहाँहरु बीचको मात्र होईन उहाँ निकट तल्लो तहका कार्यकर्ता सामाजिक सञ्जालमा यसरी प्रस्तुत हुन्छन कि एक अर्कालाई नाङ्गो बनाउन कुनै कसर नै बाकि राख्दैनन् ।
लोकतन्त्रमा दलहरु एकजुट हुन्छन् बिचार वा स्वार्थ नमिले अलग अलग बाटो लाग्छ्न् र कुनै मोडमा फेरि पनि भेट हुन सक्छ भन्ने ठाउँ भने राखेका हुन्छन् ।
तर आजको अवस्था हेर्दा ओली र नेपाल कुनै त्यस्तो राजनीतिक मोडमा फेरि भेटिए भने एक अर्काप्रति कस्तो ब्यबहार गर्लान ? पाँचतारे होटलको कोठा वा कुनै ब्यवसायीको घरको कोठामा
भेट्दा सामान्य खुसी हुने कार्यकर्ता उहाँहरु त्यहाबाट बाहिरिएपछि फेरि एक अर्कालाई उछित्तो काट्न पछि पर्दैनन् ।
कुनै दिन उहाँहरु फेरी कथंकदाचित भेट भै हालेको खण्डमा एक अर्काप्रति उछित्तो काडेर दिएका अन्तरवार्ता, भाषणसँगै बसेर हेरेभने के प्रतिक्रिया ब्यक्त गर्छन् होला ?
कि उहाँहरुको कुरा मिलेपछि सबैले त्यो कुरा बिर्सन्छन् होला ? अथवा आज पार्टी अध्यक्ष ओलीले भनेझैँ अहिलेका ती तीता कुरा पनि पास्ट टेन्स नै पो हुनेहुन् कि ?
हुनपनि सक्छ । किनभने, भनिएकै छ राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र पनि हुदैनन् रे ।











