२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिम्स्टेकमा विदेश मन्त्रीबीच सहयोग सुदृढ पार्ने उपायबारे छलफल



अ+ अ-

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा आज बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल भएको हो । छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो ।

‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीले आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे फलदायी छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, “ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्र थिए ।”

बिम्स्टेक राष्ट्रका विदेश मन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक जानु भएको हो । बिम्स्टेकमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमार सदस्य छन् । बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच ‘साइडलाइन’ वार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउद यही साउन २ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस