१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै लुतो फाल्ने चलन



फाईल फोटो
अ+ अ-

ढोरपाटन । आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दु:ख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।

बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताउनुभयो । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उहाँको भनाइ थियो ।

पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको पुनले बताउनुभयो । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उहाँले बताउनुभयो ।

यसरी तुलो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको पुनको भनाइ थियो । “पहिले–पहिले साउने सङ्क्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ, दिनभरी जङ्गल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडा जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैबारीमा फलिन्थ्यो, लुतो फाल्दा दु:ख कष्ट आइ नलाग्ने, बालीनाली र वस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने?”, उहाँले भन्नुभयो ।

पुनले हालसम्म आफूले लुतो फाल्दै आएको भन्दै सन्तानले यो चलन गर्ने हुन् कि होइनन् भन्ने चिन्ता लागेको बताउनुभयो । उहाँले लुतो फाल्ने विधि कसैले सिक्न चासो नदिएकाले यो प्रचलन हराउँदै जाने चिन्ता थप बढेको बताउनुभयो ।

स्थानीय प्रेम बुढा मगरले असारमा किसानले बारीमा रुज्दैँभिज्दैँ खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन तुलो फाल्ने चलन बसेको बताउनुभयो । आज साँझ लुतो, दादलगायत रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको उहाँको भनाइ थियो ।

“हामी सानो हुँदा बाउबाजेले विभिन्न विधि/पद्दति अपनाएर लुतो फाल्ने गर्नुहुन्थ्यो, तर अहिले उहाँहरु हुनुहुन्न, उहाँहरुसँगै विस्तारै लुतो फाल्ने प्रचलन पनि हरायो”, मगरले भन्नुभयो, “हामीले पहिला सिकेनौँ अहिले केकसरी लुतो फाल्ने केही थाहा छैन ।”

गाउँघरमा लुतो फाल्ने प्रचलन कम भए पनि साउन महिनालाई महिलाले विशेष रुपमा मनाउन थालेका छन् । साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहेन्दी लगाउनुका साथै भगवान शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गर्दछन् ।

व्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने बढेसँगै यसले विकृतिसमेत भित्र्याएको बुढापाको गुनासो छ । रासस