२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोरोना कहर : भोक सहनै गाह्रो

कोरोना कहर : भोक सहनै गाह्रो
अ अ+ अ-

सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ ।

सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् । एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् । 

राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उहाँलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ । केही महिनापछि सासुलाई उहाँका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उहाँको अर्को भाइकोमा शरण पाउनुभयो । तर नवविवाहिता उहाँले सहारा पाउनु भएन ।

श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउनु हुन्थ्यो र केही रकम हात लाग्थ्यो । दासका अनुसार उहाँ पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्नुहुन्थ्यो । दास भन्नुहुन्छ,‘‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।’’ गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उहाँ सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिनु हुन्छ । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उहाँले सुनाउनुभयो । 

सानै उमेरमा विवाह गरी आमा बन्नुभएकी दासले रोजीरोटीका लागि तरकारी पनि बेच्नुभयो । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उहाँको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उहाँलाई समस्या भयो । पछिल्लो समय उहाँ होटलमा भाँडा माझ्ने काम गर्नु हुन्छ ।

तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उहाँहरूको चिनजान मित्रतामा परिणत भयो । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए । श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बन्नु भएकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आउनुभयो । भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उहाँ स्थायी कामको खोजीमा हुनुहुन्थ्यो । यस काममा दासले सघाउनु भयो र उहाँलाई पनि होटलमा सँगै काम दिलाउनु भयो । बिहान ७ बजे होटल जाने गर्नुभएका उहाँहरूले राति साढे ९ बजे छुट्टी पाउनु हुन्छ । दुबै जनाले महिनाको सात÷सात रुपैयाँ हजार पाउनु हुन्छ । खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थाल्नु भएको हो ।

उहाँहरू काम गर्दै आउनु भएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ । बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उहाँहरूलाई छुट्टी दिएका छन् । न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उहाँहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ । 

उहाँहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ । छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताउनुभयो । लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताउनु भयो । बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उहाँहरूको भनाई छ ।

बन्दाबन्दी भएको १७ दिन पुगेको छ । उहाँहरूसँग भएको पैसा पनि सकिएको छ । उहाँहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ । पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उहाँहरूलाई चिन्ता छ । चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन् । चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् । 

होटलमा काम गर्दै आउनु भएका उहाँहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाउनु भएको छैन् । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ । काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उहाँहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो । त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताउनु भयो । आँखाभरि आँसु लिदै दासले भन्नुभयो– “आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।”