२ श्रावण २०८३, शनिबार
,
Latest
मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षित आवास पाएपछि भजनीका बाढी प्रभावित खुसी



अ+ अ-

भजनी । कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जनश्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् ।

नगरपालिका, दिगो विकास समाज र जनश्रमदान गरी रू ९५ लाख ४६ हजार नौ सय बराबरको लगानीमा १६ वटा बाढी प्रभावित परिवारका लागि घर निर्माण भएका छन् । नगरपालिकाले रू ४० लाख दिगो विकास समाजले रू ३२ लाख खर्च गरेको नगरपालिकाले जनाएको छ ।

भजनी नगरपालिका–५ का मोतीराम भण्डारीको परिवार यतिबेला हुलाकी सडक छेउमा त्रिपालको भरमा असुरक्षित घरमा बसिरहेको छ । एकरदुई दिनमा मोतीरामसहित परिवार नयाँ निर्मित आवासमा बस्ने तयारीमा हुनुहुन्छ । नयाँ आवासमा सरेपछि हुलाकीमा वर्षायामको पाँचरछ महिना बिताउनु नपर्नेमा उहाँ खुसी हुनुहुन्छ ।

नगरपालिका र दिगो विकास समाजको आर्थिक सहयोगमा जमिनको सतहदेखि छ फिट अग्लो घर निर्माण गरेको मोतिरामले बताउनुभयो । “यस वर्ष सडकमा जानुपर्दैन । घरभित्र पानी पस्ने छैन । परिवार र खाद्यान्न सुरक्षित हुन्छन्”, उहाँले भन्नुभयो, “स्थानीय सरकार छ भन्ने अनुभूति हामीलाई भएको छ । हाम्रो वर्षौंदेखिको समस्या समाधान भएको छ ।”

सोही ठाउँका राज विक अहिले घर निर्माणमै व्यस्त हुनुहुन्छ । घर निर्माण सम्पन्न गरेर यस वर्षको वर्षात् नयाँ घरमा बिताउने उहाँको रहर छ । “हुलाकी सडकमा भोकभोकै बस्नुको पीडा हाम्रा लागि खत बनेर बसेको छ । त्यो पीडा कहिल्यै भुल्ने छैनौँ”, विकले भन्नुभयो, “त्रिपालको सहायतामा सडकमा बस्ने दिनको अन्त्य हुँदैछ । घर बनेपछि बाढीबाट हुने क्षति कम हुनेमा विश्वस्त छौँ ।” उहाँले नगरपालिका सहयोग गरेर आवास निर्माण गरिरहेको बताउनुभयो ।

आवास निर्माण भए पनि शौचालय र खानेपानीको भने समस्या हुने देखिएको विकको भनाइ थियो । “आवास निर्माण गर्दा शौचालय निर्माण गरिएको छैन । खानेपानीका हाते नल्कामा बाढीले क्षति पुर्‍याउँछ”, उहाँले भन्नुभयो, “खानेपानीका लागि उचाइ बढी बनाएर व्यवस्थित धारा जडान गर्नुपर्ने हुन्छ ।”

वर्षामा शौचालय र खानेपानीको समस्या हुने सोही ठाउँकी सरिता टमट्टाले बताउनुभयो । “बर्खाको समयमा हुने किरारफट्याङ्ग्राको जोखिमबाट बच्ने भएका छौँ । बालबालिका बाढी र डुबानबाट सुरक्षित हुने भएका छन्”, उहाँले भन्नुभयो, “घर निर्माण भएको क्षेत्रबाट बाहिर जान ढुङ्गा आवश्यक पर्छ । यहाँ नदी बग्छ । यस्तो अवस्थामा खानेपानी र शौचालयका लागि कता जाने भन्ने चिन्ता छ ।” घर निर्माण भएको क्षेत्रमा भुइँको सतह निकै गहिरो भएकाले माटो पटानी गरेर समस्या समाधान गर्नुपर्ने टमट्टाको भनाइ थियो ।

नयाँ आवासमा खाद्यान्न सुरक्षित राख्न सकिने भएपछि लालबहादुर कामी तनावमुक्त हुनुभएको छ । बर्खा लागेसँगै घरमा भएको अन्न तथा अन्य खाद्यान्न आफन्तकामा सार्नुपर्ने बाध्यता यस वर्षदेखि अन्त्य हुने उहाँले बताउनुभयो । “बर्सेनि आउने बाढी र डुबानबाट सुरक्षित राख्न हामीले केही सामान आफन्तकामा राख्दै आएका थियौँ । आफन्तकामा राखिएका सामान पनि बाढीबाट सुरक्षित हुँदैनथ्यो”, लालबहादुरले भन्नुभयो, “यस वर्ष आफ्नै घरमा खाद्यान्न सुरक्षित हुने भयो । हामी सुरक्षित हुने भयौँ ।”

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिकाले पाँच वर्षमा ५० सुरक्षित आवास निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । उहाँले बाढी र डुबानको बढी जोखिम हुने क्षेत्रका नागरिकको सुरक्षाका लागि दातृ संस्थासँग समन्वय गरी सुरक्षित आवास निर्माण थालिएको बताउनुभयो ।

“चालू आर्थिक वर्षमा १६ घर निर्माण भएका छन् । शौचालय, खानेपानी लगायतको काम बाँकी छ । आगामी आर्थिक वर्षमा बााकी काम पूरा गर्ने योजना बनाएका छौँ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “बाँकी जोखिम भएका क्षेत्रमा पनि आवास निर्माणका लागि नगरपालिकाले सहयोग गर्नेछ । यसका लागि दातृ संस्थासँग निरन्तर समन्वय गर्नेछौँ ।” उहाँले कान्द्रा नदीलाई नियन्त्रण गर्न नसकेसम्म भजनीलाई डुबानबाट जोगाउन नसकिने बताउनुभयो ।

“हाम्रो पीडा कान्द्रा हो । कान्द्र नियन्त्रण गर्नसके आधा दुख सकिन्छ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “त्यसका लागि हाम्रो बजेटले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले अपेक्षित सहयोग गरेको छैन । टुक्रे बजेटले कान्द्रा नियन्त्रण गर्न सकिँदैन ।” रासस