१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन सट्टेबाजीको आरोपमा पक्राउ परेका बल्छी धुर्बे,राजु मास्टर लगायत कलाकारलाई धरौटीमा छाड्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा छाड्ने आदेश दिएको हो । कलाकारहरु राजु मास्टर बल्छी धुर्बे ,जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा (जिडी), बेगम नेपाली (भटभटे माइला), सरोज घिमिरे (ढेडु बुढो), रोशन खतिवडा, पिके भाइन्स (पवन खतिवडा) विरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । उनीहरुले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गर्दा ४० लाखसम्म लिएको बताइएको छ । उनीहरुविरूद्ध विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार कसुर मागदाबी गरिएको थियो ।

त्यस्तै, कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई भने सट्टेबाजी गराएको आरोपमा प्रमुख अभियुक्तको रूपमा पेश गरिएको छ । उनीहरूसँग ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो माग गरिएको थियो । ।