२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जुम्लामा शुरुभयो मार्सी धानको रोपाइँ

जुम्लामा शुरुभयो मार्सी धानको रोपाइँ
file photo
अ अ+ अ-

खलङ्गा । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दुरी कायम गर्दै रोपाइँमा लागि परेका छन् । कोरोना भाइरसको दोेस्रो लहरको सङ्क्रमण रोकथामका लागि जुम्लाको प्रशासनले पनि एक महिनादेखि  निषेधाज्ञा जारी गरेको छ । यो याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै कालीमार्सी धान रोपाइँको चटारोमा छन् । यहाँ यसै महिनाको पहिलो हप्तादेखि नै रोपाइँ शुरु भएको हो ।  

पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् । जुम्लामा मात्र उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेती गर्ने यहाँका किसानको सङ्ख्या पनि बढेको स्थानीय किसान सुनिता रावतले बताउनुभयो । जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँको चटारो शुरु हुने गर्दछ । त्यसैले अहिले पनि यहाँ समयमै रोपाइँ थालिएको हो । 

कृषि क्यालेन्डरअनुसार किसानहरुले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहीआएको छ । यही परम्पराअनुसार यस वर्ष पनि सोही क्यालेन्डरअनुसार बीउ राखिएको स्थानीय जानकार रमानन्द आचार्यले बताउनुभयो । 

स्थानीय कृषि क्यालेन्डरअनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ शुरु हुन्छ । कोरोना सङ्क्रमणको जोखिम भए पनि किसानलाई रोपाइँ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ । स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम शुरु गरेको यहाँका किसानहरु बताउँछन् । 

जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कले देखाएको छ । 

अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ । मार्सी चामलको बजारभाउ प्रतिकिलो १२० रुपैयाँ छ । व्यापारीहरु पनि यो चामल खरिद गर्न घरघरमा नै आउन थालेका छन् । मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहनत गर्नुुपर्छ भन्छन् यहाँका किसानहरु । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कात्तिकको पहिलो सातादेखि घरमा भित्र्याउने गर्छन् । वर्षेनी मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हुँदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको यहाँका किसान जय बुढाले बताउनुभयो ।
 
मार्सी धान खेतीको विधि
जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये काली मार्सी धानको खेती जिल्लामा शुरु भएको छ । नेपाली बजारदेखी तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको काली मार्सी धानको खेती हरेक वर्षको चैत १२ गतेदेखि शुरुवात हुने गरेको छ । धानको बीउ बोराको पानीमा भिजाइ राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुवात भएको दिनका रुपमा लिने गरेको गुठीचौर गाउँपालिका – ४ का स्थानीयवासि विष्णु धितालले बताउनुभो । 

उहाँले भन्नुभयो, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कुल देवतालाई सम्झेर बीउ राख्ने परम्परागत चलन रहेको छ ।” विश्वकै उच्च स्थानमा उत्पादन हुने कालिमार्सी धान जिल्लाको पातारासी गाउँपालिकास्थित  छुम चौरज्युलोमा सबैभन्दा बढी सो धानको खेती हुने गरेको स्थानीयवासि धितालले बताउनुभयो ।” 

हरेक वर्ष चैत १२ गते बोरामा बीउ राखेर पानीमा भिजाइन्छ । सोह्र गते बाहिर निकालिन्छ र २० गते बेर्ना छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बीउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ गतेलाई यहाँको परम्परागत चलनअनुसार बारुवा पनि भन्ने गरेको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी रमिला भण्डारीले बताउनुभयो । 

तिला गाउँपालिका –१ स्थानीयवासी बिजकली बुढाका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि रहेको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । घरका सबै दिदीबहिनीहरु एक आपसमा चिउरा कुट्ने चलन रहेको छ । यो चलन विस्तारै लोप हुदै गरेको स्थानीयवासि रावतले बताउनुभयो ।  
कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रंगको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको हो । त्यसैले होला नेपालका राजनीतिक दलका ठूला नेताहरुले धनीहरुको भान्सामा मार्सी धान चालमको भात आएको बेलाबेला चर्चा पनि हुने गरेको छ ।  

जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ । सो धान पाक्न सात महिना पूरै लाग्छ । बाह्र चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । त्यसैगरी वैशाख १ मा भने बेर्नाको पानी पूरै सुकाउने चलन छ ।

त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिंगर चालेर मलका रूपमा हालिन्छ । एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । 

भदौमा झारजंगल काट्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताउनुभयो  ।

मार्सी धानका विशेषता
समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने तथा आडिलो हुने धानबाली विशेषज्ञहरु बताउँछन् । 

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए भनिन्छ । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ । यो धान रोपाइँका लागि भारत तथा तराइमा गएका स्थानीय युवाहरु पनि घर फर्किने गर्दछन् । यो धान रोपाइँको विशेष महत्व रहेको र यसलाई स्थानीयले एक किसीमको पर्वका रुपमा पनि मनाउने गरेकोले रोपाइँका लागि उनीहरु घर फर्किने गरेको स्थानीयहरुको भनाई छ ।  

जुम्लामा धानखेती बेँसी क्षेत्र (समुद्र सतहबाट दुई हजार देखि दुई हजार २०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट दुई हजार २०० देखि दुई हजार ८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट दुई हजार ८०० देखि तीन हजार ५० मिटर) मा हुने गरेको छ । यो धानबाली दुई हजार ७९० मिटर उचाइको जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा पनि हुन्छ । यसैलाई संसारको सबैभन्दा उच्च स्थानमा फल्ने धानका रुपमा लिने गरिन्छ ।

संसारमा रातो रङ्को चामल १० प्रजातिभन्दा बढी छैन । जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो । विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भूटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।

ग्रामीण क्षेत्रका किसान धान रोप्न व्यस्त भए पनि सदरमुकाम खलङ्गामा निषेधाज्ञा कडा पारिएको छ । कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले औषधि पसल, खाद्यान्न र बंैकहरु हरेक दिन बिहान ९ बजेसम्ममात्र सञ्चालन गर्न दिने गरिएको  र अरु सबै सेवा ठप्प पारिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।   विजय रावत/रासस