• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

कालिगड पेसाको संरक्षण गर्दै पौवादुङमा



भोजपुर । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि पौवादुङमा गाउँपालिकाले कालिगड पेसाको संरक्षण थालेको छ । आवश्यक औजाररउपकरण र कच्चा पदार्थको अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपरेको कालिगड पेसा सङ्कटमा पर्दै गएपछि गाउँपालिकाले संरक्षण थालेको हो ।

दिनानुदिन पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि कालिगड पेसा गर्दै आएकालाई आवश्यक सामग्री सहयोग गर्दै प्रोत्साहनको कार्यक्रमलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पालिका लोपोन्मुख पेसाको संरक्षणमा जुटेको उहाँको भनाइ थियो । “पछिल्लो समय शिक्षा तथा रोजगारीका सिलसिलामा कालिगड पलायन हुँदै गएका छन्”, अध्यक्ष राईले भन्नुभयो, “अहिले गाउँघरमा व्यावसायिकरूपमा यो पेसा गर्ने मान्छे पाउनै मुस्किल छ । औजार उपकरण बाहिरी बजारबाट किनेर ल्याउनुपर्ने अवस्था छ । यो पेसारव्यवसायमा लागेकाहरूको तथ्याङ्क सङ्कलन गरेर पालिकाले आवश्यक सहयोग गरिरहेको छ ।”

खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा लागिएको उहाँको भनाइ थियो । “जिल्लाभर नै कालीगड पेसा छाड्ने सङ्ख्या बढ्दो छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पेसाको संरक्षण गर्नुपर्ने आवश्यक ठानेर अहिले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

पेसा छाड्नेको सङ्ख्या बढेसँगै गाउँघरमा औजाररउपकरणको अभाव हुन थालेपछि वडाका नागरिकलाई आवश्यक सहयोग गरेको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । पेसामा लागेका दुई परिवारलाई प्रोत्साहन स्वरुप आवश्यक आधुनिक सामग्री उपलब्ध गरिएको उहाँले बताउनुभयो ।

कालिगड पेसामा लाग्नेलाई आधुनिक उपकरणको प्रयोगमा जोड दिएको उहाँको भनाइ थियो । “पराम्परागतरूपमा काम गर्दा उहाँहरूलाई धेरै कठिन छ । विद्युतीय औजार उपकरणको प्रयोग गर्दा केही सहज हुने देखेर आवश्यक सामग्री सहयोग गरेका हौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

खुकुरी बनाउने आरन सञ्चालकलाई रू ८० हजार बराबर आवश्यक सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । “पराम्परागत पेसा संरक्षण गर्ने उद्देश्यले यो पेसामा लागेका दुई परिवारलाई पौवादुङमा–१ श्यामशिलाले आवश्यक सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।

सामग्री निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थसँगै सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या हुने गरेको पौवादुङमा–१ श्यामशिलाका कालिगड कृष्णबहादुर विकले बताउनुभयो । विभिन्न कारणले पेसा सङ्कटमा परेको भन्दै स्थानीय सरकारबाट पाएको सहयोगले पेसामा लाग्न थप टेवा मिलेको उहाँको भनाइ थियो ।

नयाँ पुस्ताको रोजाइमा नपर्दा पेसा सङ्कटमा परेको भन्दै राज्यको तर्फबाट आवश्यक सहयोग हुनुपर्नेमा विकले जोड दिनुभयो । “अत्यावश्यक औजाररउपकरण बनाउने भए पनि यो पेसालाई अझै पनि अपहेलनाका रूपमा लिने चलन छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ता यो काम गर्न नै चाहँदैनन् । व्यवसाय सञ्चालन गर्न कोइला, दाप, बिँडका लागि काठ पाउनै मुस्किल छ । विविध कारणले पेसा छाड्नेको सङ्ख्या बढेको छ ।”

स्थानीय सरकारलाई कालिगड पेसामा आकर्षण बढाउन युवा पुस्तालाई आकर्षित गर्ने तथा सिप सिकाउने तालिम तथा योजना बनाउनुपर्ने विकले बताउनुभयो । उहाँले राज्यबाट आर्थिक सहयोग नभएमा कालिगड पेसा लोप हुने अवस्थामा पुग्ने बताउनुभयो ।

जनशक्तिको अभाव, आवश्यक सामग्रीको कमीलगायत कारणले मेहनत गरेअनुसारको प्रतिफल पाउन नसकेको कालिगड खड्गबहादुर विकले बताउनुभयो । राज्यले गरिरहेको सहयोगका कारण पेसालाई जीवन्त राख्न केही टेवा मिलेको उहाँको भनाइ थियो ।

“अन्य सहज काम खोज्ने र कालिगड पेसाबाट राम्रो आम्दानी नहुने देखेपछि खुकुरी बनाउनेको सङ्ख्या घट्दै गएको छ”, उहाँले भन्नुभयो, “पेसा छाडेर अन्य पेसा/व्यवसायमा लाग्नेको सङख्या बढ्दो छ । यस्तै अवस्था रहे मैले गरेको काम अब मेरा छोरारनातिले गर्छन् भन्ने आशा छैन ।” राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातावरण सिर्जना गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विकको भनाइ थियो । रासस