• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै



गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७/७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो ।

यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ । रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ ।

गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान कम फलेको थियो । निर्देशनालयको तथ्याङ्क अनुसार चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसले रोपाइँ हुने क्षेत्रफलसँगै उत्पादन पनि घट्दै गएको देखाउँछ । वर्षे मात्र नभएर चेतै धान खेतीको क्षेत्रफल खुम्चिएको छ । प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धान खेतीको क्षेत्रफल घटेको हो । आव २०७७/०७८ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धान खेती गरिएकामा अघिल्लो वर्षको हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।

उत्पादन पनि ३२ हजार सात सय ७३ मेट्रिक टनबाट घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा पुगेको थियो । वर्षदिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो । यो वर्षको चैते धान भने किसानले भित्र्याउन बाँकी छ ।

निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले वर्षे र चैते दुवै धानको उत्पादन र क्षेत्रफल बर्सेनि घट्दै गएको जानकारी दिनुभयो । खेतीयोग्य जग्गामा ‘प्लटिङ’, तीब्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चदैँ गएको छ । पछिल्लो समय जग्गा बाँझिने क्रम पनि बढ्दो छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताउनुभयो ।

“मल, उन्नत बीउबिजनको अभाव, प्रतिकुल मौसम जस्ता कारणले पनि उत्पादन घट्छ, मुख्य कारण रोपाइँ हुने क्षेत्रफल घट्दै जानु हो”, उहाँले भन्नुभयो । बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधँै चुनौती व्यहोर्दै आएका छन् ।

घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदै गएको छ । धानका पकेट क्षेत्रमा भौतिक विकास र बजारीकरण तीव्र छ । खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झनझन परिनिर्भर बनाउँदै लाने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

उहाँले चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उल्लेख गर्नुभयो । “चैते धान भित्र्याउने बेला बर्सातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”

चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन् । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्राउँछन् ।

प्रमुख भट्टराईले धान खेती जोगाउन खेतीयोग्य जमिनमा मनपरी रुपमा भइरहेको ‘प्लटिङ’ रोक्नुपर्ने बताउनुभयो । उन्नत बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले किसानलाई सघाउनुपर्ने उहाँको भनाइ थियो ।

कृषि प्रसार अधिकृत तिमिल्सिनाका अनुसार गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

यही असार १५ गतेसम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सो अवधिमा १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ गरिएको कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिनुभयो । मनसुन सक्रिय भएसँगै यतिबेला किसान रोपाइँको चटारोमा छन् । बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ ।

गोरखाको छेवेटार, पालुङटार, लमजुङको धमिलीकुवा, हर्राबोट, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन् । रासस