६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
अ+ अ-

काठमाडौँ । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।

रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो लिनुभएको छ । उहाँले कृषि तथा पशुपन्छीमन्त्री डा बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिनुभएको छ ।

सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा सङ्घीय सरकारले स:शर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ ।

विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ । बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपश्चात् पहिलोपटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आवमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका सम्पूर्ण जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गत चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमश: अन्य प्रदेशमा फैलिई हालसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा बढी प्रभाव परेको विभागको भनाइ छ । हालसम्म प्राप्त तथ्याङ्कअनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३ हजार आठ सय १९ निको भएका छन् । यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन् । हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन् । सङ्क्रमणको दर क्रमश: घट्दै गइरहेको विभागको दाबी छ ।

यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभागबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत पशु स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधिलगायतका अन्य सरोकारवालासँग रोग रोकथाम तथा नियन्त्रणका लागि पटकपटक समन्वय र सहकार्य गरिएको महानिर्देशक काफ्लेले जानकारी दिनुभयो । विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालासँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको छ ।

सो टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने कार्य गरेको छ । परिचालित टोलीले सबै प्रदेशमा थप समन्वय र सहकार्यका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेको छ । हाल रोगको प्रकोप देखिएका स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

यस रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिहरू तथा खोप आपूर्तिका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहबाट आवश्यक कार्य भइरहेको छ ।

त्यस्तै, लामखुट्टे, झिङ्गा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ नि:सङ्क्रमण गर्न पशुधनीलाई विभागले अनुरोध गरेको छ । रोग देखा परेको क्षेत्रमा सङ्क्रमण हुनबाट बचाउन पशु स्वास्थ्यकर्मीहरूलाई प्राथमिक उपचारबारे जानकारी गराइएको छ ।

यो रोग नियन्त्रणका लागि विगत तीन महिनादेखि विभिन्न पैठारीकर्ताले खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीको लागि अनुमति दिइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट विभिन्न विकास साझेदारसँग रोग रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि समन्वय गरिएको विभागको भनाइ छ । मन्त्रालयले चालु आवमा बचत हुने रकम रोग नियन्त्रणका लागि रकमान्तर गरी स्थानीय तहमा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरेको छ ।

दीर्घकालीनरूपमा यो रोग नियन्त्रणका लागि आवश्यक खोप नेपालमा नै उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वय भइरहेको महानिर्देशक काफ्लेले जानकारी दिनुभयो । खोप उत्पादनका लागि आवश्यक सीड तथा प्रविधि भारतसँग माग गर्न उच्च राजनीतिकस्तरबाट कूटनीतिक पहल जरुरी रहेको विभागको ठहर छ ।

प्रभावित पशुको उपचार तथा सङ्क्रमण नभएका क्षेत्रमा ठूलो मात्रामा खोप लगाउन आवश्यक भएकाले सोको लागि सरकारीस्तरबाट बजेट व्यवस्थापन गरी रोग नियन्त्रण कार्य सञ्चालन आवश्यक छ ।रासस