१३ असार २०८३, शनिबार
,
Latest
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँघरमा देखिन छाडे हलगोरु



अ+ अ-

रामपुर । असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रुपमा गोरुको प्रयोग रहेता पनि पाल्पाका सबैजसो ठाउँमा किसानले प्रविधिको प्रयोग गर्न थालेको पाइएको छ ।

हलगोरुको ठाउँमा विभिन्न मेसिनरी प्रविधिको प्रयोगमा आएपछि असार लागे पनि विगतका वर्षमा जस्तो पछिल्ला वर्षमा चटारो हुन छाडेको पाल्पा रामपुरका धनराज श्रेष्ठ बताउनुहुन्छ । “बिहान सबेरै खाना खाएर रात नपरुन्जेलसम्म खेतमा जोतेर राति अबेर मात्रै घर फर्कने गरिन्थ्यो, पालोअनुसार गाउँमा सबैका खेतमा पुगेर गोरुले हिलो गरेर धान रोपिन्थ्यो, यसरी धान रोप्दा छुट्टै आनन्द लाग्थ्यो भने हामीलाई खेत जोतेर असारमा राम्रै कमाई गर्ने माध्यम बन्थ्यो”, उहाँले भन्नुभयो ।

ट्र्याक्टर गाउँमा नभित्रिँदासम्म उहाँलाई बर्खायाम सुरु भएपछि खेतमा धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने श्रेष्ठका दिन फुर्सदिला बनेका छन् । अर्कोतर्फ गाउँमा युवा जनशक्तिको अभाव छ । युवा जनशक्ति अध्ययन, रोजगार, विभिन्न पेसा, व्यवसाय तथा विविध कामको सिलसिलामा गाउँदेखि सहर, बजार तथा विदेशमा छन् । गोरुपालन तथा गाउँका खेतबारी जोत्ने व्यक्तिको अभाव छ । समयानुकूल विभिन्न प्रविधिको विकास, गाउँमा सडक पुगेपछि परम्परागत पेसा हराउन पुगेको हो ।

प्रविधिको बढ्दो प्रयोगले गाउँघरमा गोरुपालन गर्ने चलन छैन । परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि गोरुपालन गर्न किसानले छाडेका हुन् । एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनिटिलर, ट्र्याक्टरबाट छोटो समयमा सम्पन्न हुने हँुदा यसप्रति कृषकको आकर्षण बढेको हो । आकाशेपानी परेका मौका छोपेर धान रोप्नुपर्ने भएकाले एक दशकयता गोरुले खेत जोत्न छाडेको देवराज अर्याल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला घरमा गोरु पालेर थोरै–थोरै दिनमा खेत हिल्याएर धान रोप्न तयार पारिन्थ्यो, अहिले खेतमा ठूला ट्र्याक्टर जान थालेपछि घरमा पालिएका गोरु हटाइयो, पानी परेपछि एकैपटक हिलो गरेर धान रोप्ने गरिएको छ ।”

छोटो समयमा धेरै काम सम्पन्न हुने भएपछि गोरुको ठाउँमा पावर टिलर, मिनिटिलर, ट्र्याक्टर लगाएर धान रोपाइँ गर्न थालेको अर्यालले बताउनुभयो । कम लगानीमा काम छिटो सम्पन्न हुने भएपछि कृषकलाई धान रोपाइँ गर्न सजिलो भएको छ । गोरुले रोपाइँ गर्दा एक हप्ता दश दिन अघिदेखि हल, खेतालाको बन्दोबस्त गर्नुपथ्यो । कृषकलाई लागत पनि बढी पर्दछ भने समयमा नै हलगोरु नपाउँदा कृषकले निकै दु:ख भोग्नुपथ्र्यो । यस समस्याबाट पनि कृषक अहिले मुक्त भएका छन् ।

राज्यले कृषि व्यवसायलाई जोड दिएर विभिन्न कृषिजन्य औजार, उपकरणमा अनुदान सहयोग, गाउँ–गाउँमा प्रविधिको प्रयोग गरेर खेती गर्न प्रोत्साहन गरिएपछि आधुनिक प्रविधिमा किसान आकर्षित भएको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।

गाउँ–गाउँमा ट्र्याक्टर, पावर टिलर, मिनिटिलर भित्रन थालेपछि गोरुले खेत रोप्ने चलन हट्दै गएको हो । गोरु पाल्न झन्झट र वर्ष दिनभरि पाल्नुपर्ने हुँदा पनि गोरु पाल्ने, गोठाला जाने प्रचलन गाउँघरमा कमै मात्रामा छ । गाउँका पाखा, पखेरा, भिराला जमिनमा मिनिटिलरबाट बारीहरु रोप्ने सुविधा पुगेपछि दिनभर गोरुले जोतेर खेती गर्ने चलन अहिले कम हँुदै गएको निस्दी गाउँपालिका–४ मित्यालका धनबहादुर ठाडाले बताउनुभयो ।

जिल्लामा बढ्दो यान्त्रिकीकरणको विकास र प्रयोगले काम गरेर खाने श्रमिक, मजदुरहरु विस्थापित हुन पुगेका छन् । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक, मजदुरहरुको आम्दानीको स्रोत नै गुमेको छ ।

परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्र्याक्टर, पावर टिलर, बीउ रोप्ने मेसिन, धान काट्ने मेसिन, गहुँ ठटाउने, धान झाट्ने मेसिनको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन् । रासस