६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

बाख्रापालनमा हौसिँदै रामपुरका महिला

बाख्रापालनमा हौसिँदै रामपुरका महिला
अ+ अ-

पाल्पा । करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो । बाख्रापालन गरेर आम्दानी धेरै लिन सकिन्छ भन्ने चेतना र सोच कमैमा थियो ।

बाख्रापालन गर्ने प्रविधि, ज्ञान, सीप र सहयोग नपाउँदा कतिपय स्थानीय नयाँ तरिकाबाट व्यवसाय गर्ने चाहना भएता पनि यसबारे अनभिज्ञ रहँदा परम्परामै सीमित रहन बाध्य भएका हुन् । तर अहिले भने स्थानीयको अवस्था पहिलेको तुलनामा धेरै फेरिएको छ । गाउँ–गाउँमा स्थानीय सरकारले आयआर्जनमूलक क्षेत्रमा लगानी, विभिन्न सीप, प्रविधि सिकाउन थालेपछि बाख्रापालन आम्दानीको भरपर्दो र दिगो आयस्रोत हो भन्ने सबैमा चेतना बढ्दै गएको छ । बाख्रापालन व्यवसायमा राम्रो ज्ञान सीप र प्रविधि पाएपछि पाल्पा रामपुरका महिलाको दिनचर्या बदलिएको छ ।

बाख्रापालनलाई व्यवसायीकरण गर्न थालेपछि रामपुर–१० तल्लो कुमालगाउँ बस्ने कमला कुमालको दिन फेरिँदै गएका छन् । आफूले घरमा पालनपोषण गरेको पाठा नौ महिनामा बिक्री गरी बुझेको रु १५ हजार रकमले उहाँमा खुसीको सीमा छैन । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा नगरभित्रका महिलालाई बाख्रापालनबाट जिविका धान्ने गरी माउ बाख्रा वितरण तथा विभिन्न औषधि, तालिम, बाख्रापालन गर्ने सीप पाएपछि उहाँले नयाँ प्रविधिबाट बाख्रापालन थाल्नुभयो ।

उहाँ भन्नुहुन्छ, “बाख्रापालनका लागि धेरै प्रविधि सिकियो, आधुनिक प्रविधिअनुसार पालनपोषण थालिएको छ, दानापानी, घाँसपात दिने तरिकालगायत धेरै सीप सिकेपछि बाख्रापालनमा सजिलो भएको छ, आफ्नो मेहनतले आर्जन गरेको कमाई हात पर्दा छुट्टै आनन्दको अनुभूति भइरहेको छ ।”

उहाँको घरमा नगरपालिकाको सहयोगमा एक माउ बाख्रासहित एक सानो पाठी र दुई ठूला माउ बाख्रा छन् । बाख्रापालन गरेर मनग्य आम्दानी गर्ने लक्ष्यसहित व्यवसाय विस्तार गर्दै जाने उहाँ बताउनुहुन्छ । धेरै मेहनत गर्न नपर्ने, घरको कामधन्दा, छोराछोरीको हेरचाह गर्दै बाख्रापालन कमाई गर्ने आधार बनेकामा उहाँ उत्साहित हुनुहुन्छ ।

तल्लोकुमाल गाउँकै गङ्गादेवी कुमालले बाख्रापालन गर्ने विभिन्न प्रविधि, सीपमूलक तालिम पाएपछि व्यवस्थित खोर निर्माण गरेर बाख्रापालन थाल्नुभएको छ । उहाँको घरमा हाल पाँच माउबाख्रा, दुईवटा पाठा, दुईवटा पाठी छन् । रामपुर नगरको सहयोगमा एक माउ बाख्रा पाएपछि अरु बाख्रा आफैँले थप गरेर व्यवसाय चलाउनुभएको हो । बाख्रापालनलाई व्यवस्थित गरी दिगो आम्दानीको स्रोत भित्र्याउन रु ४५ हजारको लागतमा करिब २० वटा बाख्रा अट्ने खोर निर्माण गर्नुभएको छ । उहाँले ५० वटासम्म माउ बाख्रापालन गर्ने लक्ष्य राख्नुभएको छ । एक बाख्राबाट सुरु गरेको व्यवसाय थपिँदै जाँदा अहिले नौ पुगेको छ । बाख्रापालन गर्नुअघि उहाँले गाउँघरमा मजदुरी गर्दै आउनुभएको थियो ।

“मजदुरी कामले मात्रै जीविका चलाउन सकिएन, परिवारको आयस्रोत केही छैन, परिवार धान्न र आयआर्जनका लागि बाख्रापालनलाई जोड दिएको छु”, उहाँले भन्नुभयो, “बेला–बेलामा यससम्बन्धी सीपमूलक तालिम, प्रविधि सिक्न पाइने, बाख्रापालनमा स्थानीय सरकारबाट सहयोग पाइँदोरहेछ, यसमै असाध्यै खुसी छु ।”

बाख्रापालनसम्बन्धी सीप र प्रविधिबारे जानकारी नहुँदा आशा गरेअनुसार प्रतिफल लिन नसकिरहेको अवस्थामा रामपुरका महिलाले भने मनग्य कमाई गर्ने सोच बनाएर व्यवसायमा होमिएका छन् । महिला आर्थिक क्षेत्रमा अब्बल बन्दै जान थालेका छन् । बाख्रालाई दानापानी, घाँसपात दिने, खोर व्यवस्थापनसम्बन्धी राम्रो जानकारी नहँुदा मेहनतअनुसार उत्पादन नहुँदा बाख्रापालनमा निराशा बनेका महिला हिजोआज धेरै प्रविधि सिक्ने र बुझ्ने अवसर पाएपछि उत्साहका साथ व्यवसाय सञ्चालन गरिरहेका छन् ।

रामपुर–१० स्वामीभन्ज्याङ बस्ने सिर्जना सुनारले यसभन्दा अघि भैँसी बाँध्ने गोठमा परम्परागत तारिकाले बाख्रापालन गर्नुहुन्थ्यो । बाख्रापालनका लागि नयाँ प्रविधि र सीप नजान्दा यसबाट आशा गरेअनुसारको प्रतिफल लिन सक्नुभएन । सात वर्षदेखि बाख्रापालनमा आबद्ध सुनारले परम्परागत तरिकाले पालन गरेकाले खासै आम्दानी गर्न नसकेको बताउनुभयो । उहाँमा बाख्रापालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिबारे जानकारी नहँुदा भैँसी बाँध्ने गोठमा सामान्य तरिकाले बाख्रा पाल्नुहुन्थ्यो । हिजोआज भने बाख्रापालन गर्ने उहाँमा धेरै ज्ञान, सीप र प्रविधिले घरमा पालिएका बाख्रा छिटो हुर्कँदै गएका छन् ।

“बाख्रापालन गर्ने ज्ञान, सीप थाहा नहुँदा राम्रोसँग बढ्न र हुर्कन नसक्ने, विभिन्न रोगको समस्याले सताउँथ्यो, नयाँ तरिकाबाट बाख्रापालन गरेपछि पाठापाठी जन्मेको एक महिनामा नै हलक्क हुर्कन थालेका छन्, समयमा दानापानी, घाँसपात उपलब्ध, बाँध्ने ठाउँ बेग्लै बनायो भने बाख्राबाट छोटो समयमा उत्पादन लिन सकिने रहेछ”, उहाँले भन्नुहुन्छ ।

रामपुर नगरपालिकाले बाख्रापालनसम्बन्धी प्रविधि, बाख्रालाई औषधोपचार सेवा उपलब्ध गराएपछि पहिले र अहिले गर्र्ने व्यवसाय फरक भएको सुनार बताउनुहुन्छ । हाल उहाँको घरमा चार माउ, तीन पाठा, दुई पाठी गरी जम्मा नौवटा बाख्रा छन् । पाठापाठी र माउ बस्ने खोर नै बेग्लै बनाउनुभएको छ । विस्तारै घरमा उत्पादन भएका पाठी हुर्काएर माउ बनाउने र अन्य बाख्रा थप गरेर बढाउँदै जाने उहाँ बताउनुहुन्छ ।

रामपुर–६ तालपोखरा बस्ने हरिमाया घर्तीले बाख्रापालनमा सहयोग पाएपछि अहिले रामपुरमै नमूना खालको व्यवस्थित खोर निर्माण गर्नुभएको छ । नगरपालिकाले खोर व्यवस्थापनका लागि रु २० हजार रकम सहयोग गर्ने भएपछि उहाँले व्यवसायलाई बढाउने गरी करिब रु ६० हजारको लागतमा नमूना खोर तयार पारेको बताउनुहुन्छ । हाल उहाँको घरमा चार माउबाख्रासहित नौवटा बाख्रा छन् । पहिलेदेखि नै बाख्रापालन गर्दै आएको भए पनि धेरै ज्ञान, सीप नजानेपछि मेहनत र परिश्रमअनुसार उत्पादन लिन भने नसकेको बताउनुहँुदै अब भने प्रविधिको प्रयोग गरी व्यवसाय सुरु गरेपछि राम्रो कमाई गर्ने आशा लिनुभएको छ ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आयआर्जनका लागि समूह गठन गरी बाख्रापालन कार्यक्रम सञ्चालन गरिएपछि महिला व्यवसायमा अग्रसर बनेका हुन् । नगरका १० वटै वडामा बाख्रापालन कार्यक्रम सञ्चालन भइरहेको छ । बाख्रापालनसम्बन्धी ज्ञान, सीप, नयाँ प्रविधि सिकाउँदै माउ तथा बोका वितरण गरिएको छ । सो कार्यक्रम सुरु भएपछि बाख्रापालनमात्र नभई निर्धक्कसँग बोल्न, आफ्ना मनमा लागेका कुरा बताउन सक्ने भएका छन् ।

रामपुरमा सुरु भएको परियोजनाले दुई वर्षदेखि तालिम तथा प्राविधिक सहयोगसहित नगरभित्रका १० वटै वडामा १० मूल समूह, १० युवा उद्यमी समूह र ३१ वटा उपहार समूह गरी ५१ समूह गठन गरेको छ । परियोजना सुरु भएदेखि चार सय २१ वटा बाख्रा माउ वितरण, उपहार प्रदान विधिअनुसार दिदी–बहिनी समूहलाई ३६ वटा माउबाख्रा प्रदान, नश्ल सुधारका लागि ५१ समूहमध्ये ४० समूहलाई ४१ वटा उन्नत जातको बीउ बोका प्रदान गरेको सो परियोजनाका संयोजक सन्जु परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कार्यक्रममा नगरका ७७ जनाले बाख्रापालनका लागि आवश्यक उपयुक्त खोर निर्माण गरेका छन् । यस वर्ष समूहमा आबद्ध महिलाका लागि बाख्रा खोर सुधार कार्यक्रमअन्तर्गत रु २० हजार अनुदान प्रदान गरिएको छ । परियोजनाले छरिएर रहेका महिला तथा युवा उद्यमीलाई एकीकृत गरी सामूहिक भावनाको विकास गरी उद्यमी बन्न प्रेरित गर्दै आएको छ ।

घरमै बसेर सानो लगानीमा पनि बाख्रापालन गरेर महिलाले आफ्नो जीविका निर्वाह गर्न सक्ने भएकाले बाख्रापालनको क्षेत्रमा नगर सरकारले माउबाख्रा तथा औषधोपचार, विभिन्न सीपमूलक प्रविधि सहयोग कार्यक्रम गरेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुभयो । बाख्रापालन कार्यक्रम नगर सरकारले प्राथमिकता दिएर सुरु गरेपछि रामपुरमा बाख्रापालन गर्ने महिलाको उत्साह बढेको र यसबाट आयआर्जनतर्फ उन्मुख हँुदै गएको नगरप्रमुख थापाले बताउनुभयो ।

“महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उनीहरूको रुचि र इच्छाअनुसार बाख्रापालन व्यवसाय भएकाले यस क्षेत्रमा नगर सरकारले परियोजनामार्फत आर्थिक सहयोग गरिरहेको छ”, नगरप्रमुख थापाले भन्नुभयो, “नगरको आर्थिक सहयोगमा परियोजना सञ्चालनमा आएपछि घरमा एक–दुईवटा बाख्रापालन गर्नेले व्यावसायिकतामा जोड दिनुभएको छ ।”

घरपरिवार, छोराछोरीको जिम्मेवारी महिलाको काँधमा छ । महिलाले कमाइ गर्न नसक्दा घरपरिवार, समाज, आफन्त, छिमेकीबाट अपहेलित हुनुपरेको छ । आर्थिक समस्याले महिला हिंसाका घटना पनि विभिन्न ठाउँ–ठाउँमा घट्ने गरेका छन् । त्यसकारण रामपुर नगरपालिकाले गरेको यस कार्यले व्यावसायिक बाख्रापालनमा महिलाले उदाहरणीय काम गर्न थालेका छन् । गाउँ–गाउँमा हिजोआज बाख्रापालनको लहर चलेको छ ।

व्यावसायिक बाख्रापालनसम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्थामा अब भने नगर सरकारको सहयोगमा महिलाले बाख्रापालनलाई परिवारको दरिलो आयस्रोत बनाउनेतर्फ अग्रसर भइरहेका छन् । गाउँ–गाउँमा सडक सुविधाले उत्पादित कृषिउपज बजारसम्म लैजान सहज, बजारमा बाख्राको माग बढ्दो, बजार मूल्य राम्रो, थोरै लगानीमा खोरमा दुई–चार बाख्रालाई राम्रोसँग पालनपोषण गरेर दैनिकी चलाउन सकिने भएकाले बाख्रापालन व्यवसाय महिलाको मुख्य व्यवसाय बनेको छ । रासस