युरोपेली फुटबलको सर्वाधिक प्रतिष्ठित मानिने च्याम्पियन्स लिगको फाइनल शनिबार राति हुँदैछ ।
पोर्चुगलको ड्रागो रङ्गशालामा हुने यस वर्षको प्रतिस्पर्धामा इङ्लिस प्रिमियर लिगका दुई टिम आमनेसामने भएका छन् । युरोपेली फुटबलका पावर हाउस मानिने स्पेन, इटाली, जर्मनी, फ्रेन्च लिगबाट यस पटक कुनै पनि टिम फाइनलमा पुग्न सकेनन् ।

यस पटकको फाइनल खेल इङ्लिस प्रिमियरको लिग उपाधि जितेको म्यान्चेस्टर सिटी र लिगको तेस्रो स्थानमा रहेको चेल्सीबीच हुँदैछ । नेपाली समय अनुसार उक्त खेल शनिबार मध्यराति १२ः४५ बजे शुरु हुनेछ । यस खेलमा करिब १६ हजार ५०० दर्शकलाई रङ्गशालामा उपस्थित हुन अनुमति दिइएको छ ।
चेल्सीले सन् २०१२ यता च्याम्पियन्स लिगको उपाधि हात पार्न सकेको छैन ।
अझ रोचक कुरा के भने म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यो प्रतियोगितमा विजय हासिल गर्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक पेप ग्वार्डिओला बताएका छन् । ग्वार्डिओलाको नेतृत्वमा यसअघि सन् २००९ र २०११ मा बार्सिलोनाको प्रशिक्षक हुँदा बार्सिलोना च्याम्पियन बनेको थियो । सिटीका अघिल्तिर पछिल्लो समय निकै शसक्त प्रदर्शन गरिरहेको चेल्सी काँडा बनेर देखा परेको छ ।

हालैमात्र इङ्लिस प्रिमियर लिगमा भएको खेलमा चेल्सीले निकै स्तरीय खेल प्रदर्शन गर्दै सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर त्यस खेलमा सर्जियो अग्वेरोले एउटा पेनाल्टी मिस गरेका थिए भने अरु गोल गर्ने मौका गुमाएको थियो ।
त्यसलगत्तै मे १३ मा खेलिएको अर्को खेलमा आर्सनलसँग चेल्सी १–० गोल अन्तरले पराजित भएको थियो । अझ एफ ए कपको फाइनलमा पनि चेल्सी लेस्टर सिटीसँग पराजित भएपछि चेल्सीका प्रशिक्षक टमस टुचेल निकै चिन्तित भएका छन् । टुचेलको प्रशिक्षकत्वमा कुनै टिम फाइनलमा पुगेको यो पहिलो पटक हो ।
तर युरोपेली महारथी स्पेनी लिगको रियल म्याड्रिडलाई सेमिफाइनलमा पराजित गरेर फाइनलमा स्थान बनाएको चेल्सीमा प्रतिभावान खेलाडीको कुनै कमी छैन ।
चेल्सीका खेलाडीहरु
अग्रपंक्ति – टिमो वर्नर, ओलिभर जिरुड, टामी अब्राहाम, काल्लम हडसन
मिडफिल्डर – चेल्सीको मिडफिल्डरमा रहेका खेलाडीहरु निकै प्रतिभावान रहेका छन् । उनीहरुले बनाउने मुभ र प्लेमेकिङ निकै दर्शनीय रहने गरेको छ । क्रिस्टियन पुलिसिक, हकिम जियेच, एन्गोलो कान्टे, कार्ल हार्भिज, म्यासोन माउन्ट, म्याटियो कोभासिक, जोर्जिन्हो निकै शसक्त खेलाडी हुन् ।
डिफेन्डर – थियागो सिल्भा, बेन चिलवेल, एन्टोनियो रुडीगर, एन्ड्रियेज क्रिस्टेन्सन, जेम्स रिज, सेजार एज्पीलीक्वेटा, कुर्ट जुमा चेल्सीका प्रतिरक्षा पंक्ति हो । जेम्स, रुडीगर, जुमा र एज्पीलीक्वेटाको जोडीलाई तोड्न निकै कठिन मानिन्छ ।

म्यान्चेस्टर सिटी
त्यसो त चेल्सीको डिफेन्सलाई तोड्न सक्ने एक से एक खेलाडी छन् सिटीसँग । सटिक पास, तिब्र गति र अचुक निशानाको कुनै कमी छैन सिटीमा । सिटीमा अहिले युवा र अनुभवी खेलाडीहरुको सम्मिश्रण छ, र यसले जस्तासुकै टिमलाई सहजै परास्त गर्न सक्छ । इङ्लिस प्रिमियर लिगमा होस् वा च्याम्पियन्स लिगका फाइनल खेलहरु सबैमा सिटीको खेल अद्भूत र अद्वितीय छ । खासै खोट लगाउने ठाउँ नै छैन । भनिन्छ, सिटी पराजित भयो भने त्यो आफ्नै कारणले हुन्छ विपक्षीका कारण होइन ।
सिटीका पछिल्ला केही खेलहरुको नतिजा हेरौं ।
प्रिमियर लिगमा सिटीले हालैमात्र न्यूक्यासललाई ४–३, एभर्टनलाई ४–०, क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
च्याम्पियन्स लिगका खेलहरुमा गत मे ५ मा भएको तनावपूर्ण सेमिफाइनलको दोस्रो लेगमा सिटीले पिएसजीलाई २–० ले पराजित गरेको थियो । पहिलो लेगमा पनि सिटीले पिएसजीलाई २–१ ले पराजित गरेको थियो ।
यद्यपी ब्राइटनसँग ३–२ र चेल्सीसँग २–१ ले सिटी पराजित भएको थियो ।
सिटीका खेलाडीहरु
अग्रपंक्ति – सर्जिओ अग्वेरो, रियाद महारेज, रहीम स्टर्लिङ, ग्याब्रिएल जिसस, फेरान टोरेस
मिडफिल्डर – केभिन डि ब्रुएन, इल्के गुन्डोगान, रोड्री, ओलेक्सान्डर जिन्चेन्को, फर्नान्डिन्हो, बर्नार्डो सिल्भा, क्लाउडियो गोमेज
डिफेन्डर – रुबेन डायस, आयमेरिक लापोर्टे, जोआओ कान्सेलो, जोन्स स्टोन्स, एरिक गार्सिया, नाथन एक, बेन्जामिन मेन्डी, काएली वाल्कर












