११ पुष २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरु र चेला किन चाहियो ?



अ+ अ-

गुरु ज्ञानको प्रतीक हो, जीवनको बाटो हो, प्रगतिको आधार हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो । कुल र मूललाई जोगाउन, शिक्षा र संस्कारलाई बचाउन, इतिहास र तत्वलाई बुझाउन, आत्मा र ईश्वर चिनाउन गुरु चाहिन्छ । राजादेखि रंकसम्म, दानवदेखि देवतासम्मले गुरु माने ।

देवताले वृहस्पतिलाई, राक्षसले शुक्राचार्यलाई, रामले विश्वामित्रलाई, जनकले याज्ञवल्क्यलाई, सुदामाले सान्दिपनिलाई गुरु बनाए । गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरिक र एकलव्यको हालत हुन्छ । गुरु आगो हो, शिष्य सुन हो । अब्बल र अद्वितीय हुन मृत्युपर्यन्त गुरुको छायाँ र आशीर्वाद चाहिन्छ । गुरु नहुँदा ज्ञान ओइलिन्छ, संस्कार चाउरिन्छ, धर्म खुम्चिन्छ, परम्परा लर्खराउँछ, सीप सुक्छ, इतिहास हराउँछ, अनुभव अस्ताउँछ ।

वेद, विज्ञान, ब्रह्माण्ड सबै बुझ्छ । गुरु चाहिने हुँदा गुरु दिवशका रुपमा गुरुपूर्णिमा बनाइन्छ । गुरुपूर्णिमाकै दिनमा वेदव्यासको जन्मजयन्ति बनाएर अक्षर र आत्माको उपासना गर्न सिकाइन्छ । निर्जिवको गुरु प्राणी, प्राणीको गुरु प्रकृति, प्रकृतिको गुरु ईश्वर हो । गुरु परम्पराको लहरो परमात्मासम्म पुग्छ । गुरु सर्वव्यापक छन् उनीविना न त पृथ्वी एक इञ्च धुम्छिन्, न त प्राणीहरु एक कदमअगाडि बढ्न सक्दछन् ।

खान, लेख्न, हिँड्न, अक्षर चिन्न गुरुकै आवश्यकता पर्दछ । गुरु नहुँदो हो त, मानिस अझैँ पनि पशुझैँ चार खुट्टाले टेकेर, वानरझैँ रूखमा, बाघझैँ गुफामा, सर्पझैँ जमिनमा घिस्रिएर हिँड्ने थियो । चराचुरुङ्गीलाई उड्न सिकाउने, माछालाई पौडन सिकाउने, चारखुट्टे र दुई खुट्टलेलाई हिँड्न सिकाउने आ–आफ्नै गुरु हुन्छन् । त्यसकारण गुरूपरम्परा मानवलगायतका सम्पूर्ण प्राणीहरूमा आदिम कालदेखि थियो ।

प्राणीदेखि प्रकृतिसम्म, ब्रम्हा देखि ब्रम्हाण्डसम्म चलाउने गुरुलाई ईश्वर भनिन्छ । सीप, शिक्षा, संस्कार, सभ्याताको हस्तान्तरण तथा पुस्तान्तरण गुरुले गराउँछन् । परमात्माले बनाएको नियम, प्रकृतिले दिएको सूचना, समयको संकेत गुरुद्वारा बुझिन्छ । गड्यौलाको टुक्रिदै संख्या वृद्धि हुने, समुद्रमा सबै नदी र सागरको अटाउने, हरेक जीवात्माको वंशपरम्परालाई कायम राख्ने, जन्म र मृत्युलाई निरन्तरता दिने काम हाम्रो वशमा हुँदैन । त्यसैले ईश्वरलाई सबैका साझा गुरु मान्छौँ ।

श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ।।
–गीता (४।३९)

अर्थात् “जसको हृदय श्रद्धावान् छ, इन्द्रियहरूलाई संयममा राखेको छ, उसले ज्ञान र परमशान्ति प्राप्त गर्दछ ।” यसका लागि पनि गुरुको आवश्यकता पर्छ । यवाज्जीवं त्रयो वन्द्या वेदान्तो गुरुरीश्वरः । आदौ विद्या प्रसिद्धय्र्थं कृतघ्नत्वापनुत्तये ।। “जवसम्म बाँच्दछौँ तबसम्म तीन गुरुलाई नछोड । वेदान्तको गुरु जसले मुक्ति दिलाउँछ, दोस्रो गुरु जसले शास्त्रको अध्यापन गराउँछ, तेस्रो गुरु ईश्वरले जसले चराचर जगत्लाई सञ्चालन गर्दछ ।” हरेक ज्ञान प्राप्त गर्न गुरु चाहिन्छ यसकारण गुरुको चरणमा ढोग्छन् । नेपाल लथालिङ्ग हुनमा गुरुको अभाव हो । पृथ्वीनारायाणलाई भुलेर विदेशीलाई राजनीतिक गुरु, वैदिक तन्त्र भुलेर विदेशी तन्त्रलाई आदर्श मान्त्र नेपाल सवाङ्गिण रुपमा रुग्ण बन्यो । गुरुसँग गुरुत्व हुन्छ, गुण हुन्छ, गुन हुन्छ । शासकले पुर्खालाई गुरु मान्ने कि विदेशीलाई, माटोलाई सोध्ने कि पश्चिमालाई, मुलुकलाई बुझ्ने कि छिमेकीलाई ? यी सबै पाठ गुरुपूर्णिमाले पढाउन सकोस् ।

गुरुले शिष्यहरूका आँखा खोलिदिएर, समाज र राष्ट्र चिनाइदिएर देशका सन्तान बनाइदिन्छन् । गुरु शब्दको उच्चारण वा दर्शनले शिष्यको शरीर रोमाञ्चले भरिन्छ, हृदयमा श्रद्धा उम्लन्छ र शिष्यहरू गुरुको दर्शनमा मग्न बन्छन् । द्वापरयुगसम्म संसारमा दुईथरिका मानिसहरूमात्र बस्थे, एउटा गुरु अर्को चेला । अनुशासनमा रही गुरुले चेलालाई शासन गर्दथे । ‘‘शिष्य’ शब्दको उत्पत्ति “शिष् अनुशिष्टौ” र “शाष् अनुसिष्टौ” धातुबाट भएको छ ।

अनुशासनमा रहनु वा अनुशासनको पालना गर्नु भन्ने अर्थमा शिष् धातुको उत्पत्ति भएको छ । “शासितुं योग्य शिष्यः” जो अनुशासित गुरुको छायाँमा रहेर गुरुको शासन र प्रशासनमा रमाउँछ त्यो नै शिष्य हो । हजारौँ शिष्यहरूबाट एउटा छात्र निस्कन्थ्यो । “गुरोर्दोषावरणम् छत्रमस्यास्तीति छात्रः” अर्थात्, गुरु पनि मानिस हो, दोषहरू हुन सक्छन् । ती सबै दोषलाई त्यागेर राम्रा गुण ज्ञान लिई छात्राछात्र बन्ने प्रयास गर्नुपर्छ ।

गुरुमाथि श्रद्धा र विश्वास गर्नेमा मात्र ज्ञान पलाउँछ, योगदान फलिभूत हुन्छ । प्रशिक्षण गराउने, परीक्षा लिने, परामर्शन दिने कार्य गुरुले गरिरहन्छन् । गुरु विश्वासको जग हो, आस्थाको केन्द्र हो, जसले शिष्यमाथि सधैँ सन्तानभाव राख्छन् ।

मन्त्रे तीर्थे द्विजे देवे दैवज्ञे भेषजे गुरौ ।
यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।।

अर्थात् “मन्त्र, तीर्थ, देवता, ज्योतिष, औषधि र गुरुमा जसले जस्तो भावना राख्दछ त्यहीअनुसारको फल प्राप्त गर्दछ ।” गुरु पनि मानिस हो, पैसा तिरेपछि किन मान्ने ? किन पुज्ने ? किन सम्मान गर्ने भन्ने पाप बढ्दै गएको छ । गुरुको आशीर्वाद र ज्ञानले पाप, कुविचार, अज्ञान आदिलाई पखाल्छ । गुरुका चरणमा शिर राख्यो भने बुद्ध, अंशुवर्मा, महेन्द्र मल्ल, पृथ्वीनारायण शाह, अरनिकोजस्ता शिष्य बन्दछन् । जसको विद्या, ज्ञान, सीप प्राप्त गर्छ, उसकै चेला वा नादपुत्र हुन्छ । गुरु कस्तो हुन्छ भन्ने थाहा पाउन कुण्डलीमा बृहस्पतिको बसाई एवं नवम स्थानलाई हेरिन्छ । गुरुलाई सम्मान गर्दा वृहस्पति ग्रहले राम्रो फल दिन्छ, पितृ प्रसन्न हुन्छन्, सरस्वतीले आशीर्वाद दिन्छिन् ।

गुरुमा पूर्णरूपेण समर्पित हुनेलाई शिष्य भनिन्छ । परशुरामका शिष्य कर्ण थिए । भीष्मपितामह र आचार्य द्रोणचाहिँ परशुरामका छात्र थिए । द्रोणका छात्र अर्जुन थिए । प्राचीन समयमा विद्यार्थी हुँदैन्थे । “अर्थ प्रयोजनं अस्यास्तीति अर्थी” “विद्याया अर्थी विद्यार्थी ” अर्थात्, केही प्राप्त गर्ने स्वार्थीले क्षणिक समय गुरुको पछि लाग्ने अर्थी हो । अर्थी नै स्वार्थी वा विद्यार्थी हुन् । विद्यार्थीसँग स्वार्थ हुन्छ, स्वाभिमान हुँदैन । मास्टरका विद्यार्थी, सरका स्टुडेण्ड, गुरुका शिष्य हुन्छन् । गुरुले देखाएको बाटो हिँड्ने शिष्यले न हिजो वेरोजगार बस्नुप¥यो, न आज बाटो र माटोलाई भुलेको छ, न भोलि कर्तव्य विमुख हुन्छ । शिक्षा र सरस्वती कहिल्यै बन्ध्या हुँदिनन्, त्यसका लागि गुरुको अनुसरण र आशीर्वाद आवश्यक पर्छ ।

गुरुमुख्याः क्रियाः सर्वाः भुक्तिमुक्तिफलप्रदाः ।
तस्माद् सेव्यो गुरोर्नित्यं मोक्षार्थिभिःसमाहितैः ।।

अर्थात्, “सबैको भुक्ति–मुक्तिको फल दिने कार्य गुरुको हो । मोक्ष वा योग्यता चाहने शिष्यहरूले सधैँ गुरुको सेवा गरी विद्यार्जन गरोस् ।” गुरुले जन्तुलाई जनार्दन, विषालुलाई विष्णु, नशालुलाई नारायण, बुद्धुलाई बुद्ध, बरालिनेलाई ब्रह्मा, संस्कारबिहीनलाई शंकर बनाउने बाटो देखाउनुहुन्छ । बिडम्बना गुरुलाई नमस्कार गर्नु मानवअधिकारको हनन ठान्दा आज विद्यालय र विश्वविद्यालयले ९९ प्रतिशत विद्यार्थी उत्पादन गरेका छन् । भनेजस्तो नम्बर नदिए बाटो छेकेर कुट्ने, दुर्गममा सरुवा गराइदिने विद्यार्थीको कर्तव्यजस्तो भएको छ । प्रजातन्त्रको पुनस्र्थापनापछि शिक्षण संस्थामा पार्टीका उपासक, नेताका अनुयायी नियुक्त हुने क्रम बढ्न थाल्यो ।

शिक्षा र शिष्यलाई अमृतसमान बनाउन शिक्षकलाई दास बनाउन थाले । शिक्षकले बाटो भुल्दा विद्यार्थीले नेटो काट्छ, विद्यालय बेकुवहरुको अखडा बन्छ । वैदिक शिक्षापद्धतिमा विद्या+आलय (विद्याको घर) थियो अब विद्या+लय अर्थात् विद्याकै नाश हुने ठाउँ बन्न थाल्यो । विद्यालय नै राजनीति गर्ने अखडा बन्यो, विश्वविद्यालय ढु∙ा–मुडा चलाउने मैदान भयो । यही रूप लिँदै जाने हो भने विद्यार्थी शैतान, गुरुहरु भूत, शिक्षालय मशानघाट हुने दिन नआउला भन्न सकिँदैन । गुरुलाई मास्टर बनाउँदा न शिक्षा, न ज्ञान, न विज्ञानलाई नेपालका विद्यालयले जन्माउन सके । महावीर पुन जस्ता स्रष्टाहरु सडकमा बसेर अनसन गर्नुपर्ने दिन आयो । महेन्द्रले विद्वत्ता संरक्षण गर्न स्थापना गरेको प्रज्ञा प्रतिष्ठा पार्टीका भक्तहरुको भर्तीकेन्द्र बन्यो ।

नेपाल गुरुराष्ट्र हो । आर्यावर्तका गुरुकुलको जरो नेपाल हो । वेदव्यासको भूमिमा गुरु नपाइनु, मुन्धुमको जन्मस्थानमा शिक्षक नहुनु, त्रिपिटकको भूमिमा आचार्य नुहुनु हाम्रा लागि दुर्भाग्य हो । सगरमाथा अग्लिएर, पशुपतिले पाशुपतास्त्र दिएर, जनकपुरले जनकदर्शन दिएर, पहाडले शाक्ततन्त्र दिएर, लुम्बिनीले बौद्धदर्शन दिएर हामीलाई गुरु बन्ने सौभाग्य दिएको छ । गुरुलाई भेट्दा शिष्यहरूले आमा–बुबालाई भेटेजस्तो अभिभावकीय ममता पाउँथे । दुःख बिसाउने चौतारी, ज्ञान मिल्ने मन्दिरलाई गुरुको घर भनिन्छ । गुरुकहाँ जान, बस्न, बोल्न शंकोच मान्नुपर्दैनथ्यो ।

गुरुले चेला–चेली आउँदा छोरा–छोरी आएको अनुभूति गर्दथे । गुरुकुल र संस्कृतभाषाको अन्त्यसँगै मिसहरू छात्रको कोठामा पस्नलाई साथी चाहिन्छ । शिक्षकहरू छात्राको कक्षमा जाँदा चारित्रिक प्रश्न उठ्छ । यो कस्तो दयनीय, लज्जास्पद विषय अरु के हुन्छ ? सीताले बाल्मीकिको आश्रममा, हिरण्यकश्यपुकी श्रीमती नारदको आश्रममा कैयौँ वर्ष एक्लै बसे तर चरित्रको प्रश्न उठेन । शिक्षक र छात्रा, शिक्षिका र छात्रसँगै हिँड्दा, बोल्दा चारित्रिक प्रश्न आउनु, आर्थिक प्रलोभनमा परेर फेल भएकालाई पास गर्न मिल्नु, प्रश्नपत्र परीक्षा पहिले नै सार्वजनिक हुनुले गुरु र शिष्यको महिमालाई बगाउँछ, वैदिक शिक्षाको धज्जी उडाउँछ ।

स्वामी दयानन्द सरस्वतीलाई उनका चेलाले आर्थिक प्रलोभनमा परेर शिशा पिसेर खुवाए । शिशाको विष शरीरमा फैलिएर मरणासन्न अवस्थामा पुगेका दयानन्दले चेलालाई बाटो खर्च दिई भाग्ने आज्ञा दिनुभयो । दयानन्दले भन्नुभयो– “विषवृक्षोद्रपि स्वयं छेत्तुमसाम्प्रतम्” अर्थात् आफैँले रोपेको बिरुवा विषै भए पनि चाहन्न ज्यान जोगाउन भाग । महाभारको युद्धमा द्रोणाचार्यले आफ्ना शिष्य युधिष्ठिरकै वचनमा देहत्याग गरे ।

गुरुको हृदयको कोमलता र निष्पक्षताको मापन गर्ने एकाई संसारमा छैन । गुरुले सर्टिफिकेट होइन ज्ञान दिने हो, नम्बर दिने होइन अमर बनाउने हो, अक्षरमात्र चिनाउने होइन अजय गराउने हो । गुरु कुनै पनि हालतमा टिचर हुन सक्दैन् । टिचर भनेका राजनीतिकर्मीका चेला, तलबका दास, द्रव्यका उपासक हुन्छन् ।

गुरु शब्दले नै गुरुको महत्व र गरिमालाई बताइरहेको छ । ‘गु’को अर्थ अँध्यारो, ‘रु’को अर्थ उज्यालो अर्थात्, जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालोतर्फ डो¥याउँछ त्यो नै गुरु हो । गुरु कसैको दास बन्दैन । गुरुको ईशारामा शासक घुम्छन्, गुरुको आशीर्वादमा संस्कार फूल्छ, गुरुको छत्रछायाँमा विश्वविद्यालयहरू ओत लाग्छन् । शिक्षकबाट ज्ञानको सुबास, विज्ञानको उज्यालो फैलन्छ ।

शिक्षकको तागत कति हुन्छ, चाणक्यबाट सिक्न सकिन्छ । बहुदलबाट गणतन्त्रसम्म आइपुग्दा नेपालका गुरुहरूले शिर निहुराएर आँखा झुकाएर, मन दुःखाएर, हिँड्नुपर्ने अवस्था आइरहेको छ । उपकुलपतिको नियुक्त, शिक्षकको सरुवा गराउन नेता भेट्नुपर्छ । छात्र–छात्राले श्रद्धासहित दिएको वस्तुमा सन्तोष गर्दासम्म गुरु र छात्र–छात्रामा ओज थियो । तलबले शिक्षकलाई अपाङ्ग बनायो । शिक्षाले समाज, राष्ट्र, पुर्खा, परम्परा, सम्पन्नता र सम्पत्तिको सुुरक्षा गथ्र्यो ।

धर्मशाला, मठमन्दिर र व्यक्तिविशेषबाट शिक्षा र शिक्षक संरक्षित थिए । व्यापार र पश्चिमाको प्रवेशले आर्यावर्तको शिक्षा सकियो । पैसाको भूमरीमा हाम्फालेको शिक्षाले शिक्षण स्थलमा विद्यार्थीमात्र उत्पादन गरायो । परिश्रम बिना सफलताले मानवाधिकारको हनन हुन्छ । विद्यार्थी असल र परिश्रम भएमात्र शिष्यबाट छात्र हुन पुग्छ । अन्यथा छात्र नै शिष्य हुँदै विद्यार्थी बन्न पुग्छ । पश्चिमाको शिक्षण संस्थाहरूले विद्यार्थीमात्र उत्पादन गर्दछन् । उपाध्याय, आचार्य, गुरुले शिष्यमात्र जन्माउँछन् । राणाकालसम्म सीप र शिक्षालाई कदर गर्थे । जंगबहादुरले बेलायत भ्रमणपछि शिक्षामा जागरण ल्याउने प्रयास गरे । उनले ज्ञान दिन खोजेका थिए तर त्यो शिक्षाले अंग्रेजभाषा र पश्चिमातिर दौडिन विचारको विजारोपण गरिदियो ।

वि. सं. २०२८मा ल्याइएको नयाँशिक्षाले चेतनामा वृद्धि त गरायो तर चेत खुलाउने काम गरेन । संस्कृतका श्लोक कण्ठ गर्न वा मन्त्र रट्नुलाई अर्काथरीले शिक्षा ठाने । आधुनिक शिक्षाका नाममा जति लगानी गरे पनि माटो सुहाउँदो नभएकाले नेपालले आर्थिक, अन्ताराष्ट्रिय, आत्मगौरवमा फड्को मार्न सकेन । आफूदेखि ब्रह्माण्डसम्म, प्रविधिदेखि परमात्मासम्म, युवादेखि युगसम्म बुझ्ने र प्रयोग गर्ने कर्मलाई निरन्तरता दिन गुरु र चेला चाहिन्छ ।

गुरुब्रम्हा, गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रभतस्मै श्रीगुरवे नमः ।।

गुरु ब्रम्हा हो जसले विद्यार्थीहरूमा ज्ञान उत्पत्ति गराउँछ, गुरु विष्णु हो जसले ज्ञानलाई फूलाउँदै, फलाउँदै जीवन्त राख्छ । शिक्षकले डाक्टर, प्रोफेसर, उपकुलपति, विद्वान्, लेखक आदि जन्माउँछन् । विद्यार्थीमा आएको अभिमानलाई नाश गराउने हुँदा गुरुलाई महादेवका रुपमा लिइन्छ । गृह्णाति ब्रभतअभवं उपदिशति शिष्यान् इति गुरुः अर्थात्, ब्रéतŒव बुझेर शिष्यहरूलाई उपदेश दिनेलाई गुरु भनिन्छ । गुरु नै शिक्षक हो । शिक्षक शब्द तीन अक्षरले बनेको जहाँ ‘शि’ शिष्ट, ‘क्ष’ क्षमतावान्, ‘क’ कर्मठ हुन्छ । बुबाआमाको सम्पत्ति सन्तानले समानरूपमा नपाउन सक्छन् तर गुरुको ज्ञान विना भेदभाव सबै छात्राछात्रले पाउँछन् । यति दयालु, कृपालु गुरुलाई साक्षात् परमेश्वर मान्नु अनुचित हो र ? ईश्वरको आशीर्वाद प्राप्त गर्न समय लाग्छ । परिश्रमी, आज्ञाकारी, नैतिकवान् शिष्यहरूलाई गुरुको आशीर्वाद तुरुन्त मिल्छ । कवीरले भनेका छन्–

गुरु गोविन्द दोऊ खडे काके लागौँ पाय ।
बलिहारि गुरु आपनु गोविन्द दियो दिखाय ।।

कवीरको अगाडि एकैपटक भगवान र उनका गुरु रामानन्द उभिए छन् । कवीरलाई संकट परेछ, पहिले गुरुलाई नमस्कार गरौँ कि भगवान््लाई ? भगवान्सम्म पु¥याउने गुरु भएकाले गुरुको पाउमा लागेछन् । त्यो घटनाले भगवान्् र गुरु दुबै प्रसन्न हुनुभए छ । गुरुविना सीप, शिक्षा र जीवनको ज्ञान हुँदैन । अहिलेको शिक्षाले पूँजीपतिका सन्तानलाई संरक्षण दिँदा प्रतिभाको पलायन हुन पुग्यो । प्राचीन शिक्षा जनमुखी, सेवामुखी, जीवनमुखी भएकाले विद्या वन्द्या थिइनन्, अद्यपि संस्कृतशिक्षा पढेकाहरू रोजगार बस्नुपर्ने स्थिति आएको छैन । नेपाललाई नेपाल नै बनाउन छ भने गुरु भएको शिक्षा, अभिभावक भएको समाज चाहिन्छ जसका लागि वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ । विदेशीको शिक्षा, पश्चिमाको सीप, युरोपको प्रविधि पनि आवश्यक पर्छ तर मौलिकता र माटोलाई बिर्सन हुँदैन ।

हामीलाई जुम्लाको स्याउ र ओखरको बजार व्यवस्थापन, पहाडका यार्चागुम्बा–पाँचऔलेको प्रयोग, नदी र तीर्थस्थलको सदुपयोग, खनिज र पौरस्त्य दर्शनको गरिमाबाट लाभ लिने विधि थाहा हुन आवश्यक छ । जबदेखि बुबा ड्याडी बने, आमा ममी बनिन्, गुरु सर बने तबदेखि परिवार पराई बने, समाज सामन्त भयो । आधुनिक शिक्षाले नातालाई भुलेको छ, कर्तव्य बिर्सिएको छ, मर्यादा भगं गरेको छ ।

एकमप्यक्षरं यस्तु गुरुः शिष्ये निवेदयेत् ।
पृथिव्यां नास्ति तद्द्रव्यं यद्दअभवाभनृणो भवेत् ।।

अर्थात्, “गुरुले आशीर्वचनस्वरूप एक अक्षरमात्र पढाएको छ भने, गुरुदक्षिणास्वरूप पृथ्वी नै उठाएर चरणकमलमा अर्पण गरे पनि गुरुको ऋणबाट मुक्त हुन सक्दैन ।” शिक्षित बनेपछि समाज र राष्ट्रले फाइदा लिनुपर्छ । यो परम्परा भुलेर साक्षारबाटै आफ्नो कला, भाषा, इतिहास, संस्कृति मेटाउन लगाउने क्रम बढ्दोछ । यस्तो वितण्डा मच्चाउने हो भने दशकौँ लगाएर किन पढ्ने ? किन राष्ट्रले अरबौँको खर्च गर्ने ? नेपालमा नेपाली शिक्षा चाहिन्छ । पढे लेखेका योग्य छात्र–छात्रा विदेश जानुपर्ने, भष्टचारबाट जीवन जिउनुपर्र्ने, छिमेकीको सीमाना मिचेरै शान देखाउनुपर्ने, आफ्नो धर्म, संस्कृति, परम्परा छोडेर विदेशीको अनुयायी हुनुपर्ने हो भने शिक्षाको अर्थ के ? हामी छात्र–छात्रा बनाउने शिक्षा चाहन्छौँ, नेपाल बनाउने शिष्य चाहन्छौँ, स्वाभिमाने सिकाउन गुरु चाहन्छौँ । आज असल चेला भएर भोलि असल गुरु बन्ने शिक्षा चाहन्छौँ ।

इतिहास र ईश्वर, माटो र माता, नेपाल र नेपालीलाई चेला चाहिन्छ । असल गुरु र सभ्य चेला आवश्यक पर्छ । पहिलो पुस्ता र भावी पुस्तालाई जोड्न गुरु चाहिन्छ । शिक्षा, सीप, कला, इतिहास आदिको संरक्षण र संवद्र्धन गर्न, गुरुलाई शिष्यले जीवित गराउन, विद्याको तन्तुलाई सुरक्षा गर्न शिष्य चाहिन्छ । परमात्मा र प्रकृतिको अन्तरङ्गसम्बन्धजस्तै सृष्टि रहेसम्म गुरु र चेला परिपूरकका रुपमा रहन्छन् ।