काठमाडौं । नेपाल सरकारले पत्रकारको उपचारका लागि निशुल्क व्यवस्था गरेको छ । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर सो कार्य गरिने अर्थमन्त्री विष्णु पौडेलले आज प्रस्तुत बजेट वक्तव्यमा बताए ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८, ७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
सो बजेटमा सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्तिको सुविधा दिने पनि बताएका छन् ।
सूचना विभागको पास बाहक पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार सेवा दिइने सो बजेट वक्तव्यमा उल्लेख गरिएको छ । तर केकति सम्मको सुविधा दिइने हो र लेखनबृत्ति पनि के कति मात्रामा दिइने हो भन्ने बारेमा भने केही खुलाइएको छैन । त्यस्तै श्रमजीवी पत्रकारको सात लाख रुपैयाँको बीमा गरिदिने पनि सो बेजेटमा उल्लेख छ ।











