“ठूला मान्छेले तल कार्यक्रम दिया पनि आफैँजस्तो ठूलै मान्छेलाई दिए। हामी महिलाको पनि अधिकार छ। हामीमा पनि गर्ने क्षमता छ। हामी महिलालाई पनि यस्तो यस्तो आएको छ मेडम यस्तो गर्न सक्नु हुन्छ की नाइँ भनेर कसैले सोधेनन्। “
सुदूरपश्चिम अछामको एउटा लेककी धनादेवी धामी स्थानीय भाषामा “विकास बाँड्न आएका सरहरू” लाई महिला हकका बारेमा बताउँदै हुनुहुन्थ्यो। आफ्नो किराना दोकान, होटल अनि खाजाघर सबैको काम गर्ने पसल अगाडि बसेर कुरा गरिरहनु भएको धनादेवीको सुदूरपश्चिमी लबजलाई बिस्तारै विकासे लबजले जितिसकेको बुझिन्थ्यो। मिल्लेक गाउँपालिकाको ऋषि दहको वडा कार्यालयको ठ्याक्कै तलको धनादेवीको जस्ताले छाएको दोकान छ। तल गहुँ बाली लहराइरहेको छ।
यो मनसुन भन्दा केही अगाडिको कुरा हो। आकाशमा बादल थिएनन्। घाम पनि उल्कै थियो तर लेकको चिसो हावाले गर्मी हुन दिएको थिएन। त्यस्तोमा भीडभाड भएको दोकानमा श्रीमान् भान्छामा ग्राहकका लागि चाउचाउ पकाइरहेका थिए। गहुँ फलेका बारीहरूका बीच धनादेवीको मुहारमा खानलाउन र छोराछोरी पढाउन पुगेको आत्मविश्वास झल्किन्थ्यो। तर अचानक उज्यालो आकाश अँध्यारो भयो। काला बादल देखिए। गड्याङगुडुङ आवाज आयो। अनि असिना पर्न थाल्यो। ठूल्ठूला असिना। होटलको जस्ताको छानो नै छेड्ने असिना। धनाको मुहारबाट आत्मविश्वास हट्यो। अनुहारमा काला बादल नै देखिए। मलिन स्वरमा धनाले भन्नुभयो, ” कुबेलामा असिना आयो। असिनाले गहुँ झारिदियो। अब हामी भोकै। मकै लगाएम्। बयला (हावाहुरी) ले झारी दियो। तब नि हामी भोकै। हाम्रो लेकको ठाम। अब बजारकै चामल खान पर्छ।”
नेपाल जल सम्पदाका हिसाबले विश्वमै धनी देश मध्ये एक हो भनेर सानामा हामीलाई खुब पढाइयो । तर त्यससँगै विश्व बैक तथा एसियाली विकास बैङ्कलगायतका संस्थाहरूका अनुसार विपद् जोखिमका हिसाबले २० औँ स्थानमा रहेको कुरा कसैले भनेन। त्यसमाथि बाढी र पहिरोजस्ता पानीजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट नेपाल ३० औँ स्थानमा छ भन्ने कुरामा जानकारी नै दिइएन। त्यसमाथि जलवायु परिवर्तनको जोखिमका हिसाबले विश्वमै चौथो नम्बरमा आउँछ नेपाल। जोखिम अनुसार त्यसबाट बच्ने शिक्षा पनि अब अत्यावश्यक छ।
यस्तै प्राकृतिक विपदाको सिकार भएपछि नेपालका धेरै धनादेवी धामीहरूको जीवन एक छिनमा कायाकल्प हुन्छ। एउटा खानलाउन र जोगाउन पुग्ने परिवार एक निमेषमा गरिब हुन्छ।
यहाँ धनादेवीको उदाहरण किन दिइएको हो भने विपदका कुरा गर्दा सामान्य त भारी वर्षा र मेघ-गर्जन/ चट्याङ्गका कारणले हुने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका जोखिम वा क्षतिका कुरा बढी हुन्छ। तर सामान्य झै लाग्ने असिनाले पनि धनादेवीलगायतका कतिपयको जीवन बरबाद हुन्छ भन्ने उदाहरण दिन खोजिएको हो।
त्यसमाथि वर्षामा पहाडमा परेको पानीको नियति नै मधेशतिर बगेर जाने भएको छ। पहाडमा अडिने ठाउँ नभएर वर्षाको पानीले पहाड क्षेत्रका जमिनमुनिको पानी भण्डारलाई रिचार्ज गर्न नै भ्याउदैन। जलवायु परिवर्तनका कारण अहिले नै एकै पटक धेरै पानी पर्ने प्रवृत्ति देखिएको वैज्ञानिकहरूले बताउन थालिसकेका छन्।
सल्यानको कुमाख गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष ईश्वरी शाही भन्नुहुन्छ, ” पहाडका भिरालो जमिनमा हामी खेती गर्छौ। पानी परेपछि माथिबाट आएको पानीले मल माटो सबै बगाएर तल खोल्सातिर पुर्याइदिन्छ।”
मनसुनमा एक डेढ साता जस्तो बेस्सरी पानी पर्ने अनि बाँकी समय सुख्खा हुन थालेको छ। जलवायु परिवर्तनको कारण बढ्दो तापक्रम, अति वृष्टि, खण्ड वृष्टि, तथा लामो समय सम्म खडेरी पर्नाले भइरहेका पानीका मूलहरू सुक्दै गएका छन्। प्रकृतिको अमूल्य वरदान पानी विना हामी प्राणी र वनस्पतिको जीवन सम्भव छैन। तर स्वच्छ पिउने पानीका लागि संघर्ष गर्न हामी बाध्य भइरहेका छौं।
पहाडमा ठाउँ ठाउँमा पोखरी बनाएर पानी संरक्षण गर्ने परम्परागत ज्ञानलाई हामीले छोड्दै गयौ। कतिपय त्यस्ता संरचना बाटोघाटोलगायतका विकासका काम गर्दा नासिए। पानीको मूल, कुवा, इनार, पोखरी तथा आहालको संरक्षणमा ध्यान पुगेन। फलस्वरुप वर्षाको पानी जमिनले पानी सोस्न नपाई छिटै बगेर जानाले जमिन मुनीका जल भण्डारमा पुनर्भरण हुन सकेन । परिणामत पानीका को मूलहरू सुक्दै गएका छन्। त्यसमाथि यसरी बगेर जाने पानीले जमिनमा क्षति पनि पुर्याएको छ।
कतिपय स्रोतमा पानी उपलब्ध भए तापनि प्रदुषणका कारण पिउन अयोग्य भएको छ । यी सबै कारणले स्वच्छ पिउने पानीको अभाव बढ्दै गएको छ । स्वच्छ पानीको अभावले सबैको जीवन समस्यामा पर्छ तर यसको सबैभन्दा बढी असर सीमान्तकृत, विपन्न र विशेषगरी महिलामा परिरहेको छ।
भर्खर १८ वर्षकी हुनु भएको सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा एककी सरिता बुढा उहाँकै शब्दमा भन्दा “भावी पुस्ता” का लागि वनजंगल हराभरा बनाउनका लागि सीम कबुलियत बनमा सक्रिय हुनुहुन्छ। एउटा उजाड भीरलाई उहाँको समूहले हरियो बनाइसकेको छ। खासमा नगरपालिकामा बस्ने भएपनि आमसँगै आतेजाते एक घण्टा लगाएर पानी बोक्न पर्ने बाध्यता सरिताको छ। जमिन हरियो भए घर नजिक पानी आउने आशा सरितालाई छ।
पारिस्थितिकीय प्रणाली र माटो, पानी, वन, कृषि भूमिलगायतका सम्पदाहरूको हैसियतमा सुधार गर्न सकेमा जलवायु परिवर्तनको जोखिम तथा त्यसबाट सिर्जना भएको स्वच्छ पानीको अभावलाई कम गर्न सकिन्छ भन्ने तथ्य स्थापित छ। त्यससँगै जलवायु परिवर्तनले समुदायमा परेको असर कम गर्न प्राकृतिक श्रोत र साधनमा आधारित अनुकुलन कार्यक्रम अत्यन्त प्रभावकारी तथा किफायती उपाय भएको विश्वव्यापी रूपमा स्थापित मान्यतालाई नेपालमा पनि मनन गरिएको थियो।
यसक्रममा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम तथा वन तथा वातावरण मन्त्रालयले सन् २०१९ देखि मध्य पहाडी क्षेत्रका सल्यान र अछाम तथा उच्चपहाडी क्षेत्रको दोलखा जिल्लामा छोटकरीमा “इबिए टु” भनिने इकोसिस्टम बेस्ड एडप्टेशन अर्थात पारिस्थिकीय प्रणालीमा आधारित अनुकुलन अन्तरगत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रमका लागि ग्लोवल इन्भाइरनमेन्ट फ्यासिलिटीद्वारा सञ्चालित एलडिसी कोषबाट वित्तीय सहयोग प्राप्त भएको छ।
यस अन्तरगत, गह्रा सुधार, भइरहेका पोखरी संरक्षण, पुनर्भरण अर्थात् रिचार्ज पोखरी निर्माण, खोला किनार संरक्षण तथा फिल्टरिङ ड्याम निर्माण, चरन क्षेत्र व्यवस्थापन र विस्तार र समुदायको जीविकोपार्जन सुधार क्रियाकलापजस्ता पाँच किसिमका काम गरिन्छ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन परियोजना (इबिए–२) को भनाइमा गह्रा सुधार अन्तरगत जलवायु परिवर्तनका कारण हिउँदमा सुक्खापन बढ्ने र वर्षा याममा घनघोर वर्षाको कारण बढि क्षति हुने र कृषि उत्पादन कम हुने समस्याको समाधानको लागि भिरालो जमिनलाई सम्म बनाई खेती गर्न योग्य बनाइन्छ । छेउतर्फ ढुङ्गाको पर्खाल लगाई भूक्षय न्यूनीकरण तथा माटोको चिस्यान कायम राखी कृषि उत्पादकत्व बढाउन गरा सुदृढीकरण गरिन्छ । यसबाट जमिनको स्थिरता बढाउन भिरालो जमिनमा संरचनात्मक साथै वनस्पति प्रविधि प्रयोग गरिन्छ ।
इबिए–२ का अनुसार पोखरी संरक्षणमा चाहिँ बढ्दो खडेरी तथा पानीको अभाव कम गर्न प्राथमिकता प्राप्त जलाधार क्षेत्रमा प्राकृतिक रुपमा रहेका महत्वपूर्ण, उपयोगी, ऐतिहासिक र लोपोन्मुख पानीका श्रोत तथा पोखरीको पहिचान गरी संरक्षण गर्न सकिन्छ। यसका लागि पुनर्भरण पोखरी निर्माण पनि गरिन्छ ।
खोला किनार संरक्षण तथा फिल्टरिङ ड्याम निर्माणसम्बन्धी क्रियाकलापमा जलवायु परिवर्तनका कारण हुने घनघोर वर्षाको कारण हुने क्षतिलाई कम गर्न खोला किनार संरक्षण गर्दै पानीको वहाव नियन्त्रण र भू–क्षय कम गर्नका लागि झाडी, नरकट, बाँस निगालोलगायतका वनस्पति तथा ढुङ्गामुढालगायतका प्राकृतिक वस्तुको प्रयोग गरी खोला किनार संरक्षण तथा फिल्टरिङ ड्याम निर्माण गरिन्छ । चरण क्षेत्र व्यवस्थापन र विस्तारमा घाँसे मैदान तथा झाडीदार क्षेत्रमा स्थानीय प्रजातिलाई प्राथमिकता दिई घाँस रोपन गरी चरण क्षेत्र सुधार र विस्तार गरिन्छ।
सल्यान जिल्लाका वन अधिकृत जितेन्द्र रावतका अनुसार, समुदायको जीविकोपार्जन सुधार क्रियाकलापमा पारिस्थितिकीय प्रणालीको संरक्षण र व्यवस्थापन सँगसँगै स्थानीय स्रोतमा आश्रित समुदायको आम्दानी बढाउन सके मात्र समुदायको अनुकुलन क्षमता बढ्छ र जलवायुजन्य प्रकोपको सामना गर्न उनीहरू सक्षम हुन्छन्। यसका लागि समुदायका विपन्न र जलवायु परिवर्तकका कारण जोखिममा परेका समुहलाई प्रत्यक्ष आम्दानी हुने खालका क्रियाकलापहरू सञ्चालन गर्न समुदायसँग गहन छलफल गरिन्छ र उनीहरूको चाहना, स्थानीय आवश्यकता र सम्भाव्यताको आधारमा जीविकोपार्जन सुधार योजना बनाई जीविकोपार्जनका काम सञ्चालन गरिन्छ। यसमा टिमुर, अम्रिसो, अदुवा, बेसार, तरकारी खेती तथा मौरीपालन जस्ता क्रियाकलापहरू सञ्चालन गरिन्छ ।
स्वच्छ पानी संरक्षणका लागि यो कार्यक्रमले स्थानीय पालिका तथा स्थानीय जनताको प्रत्यक्ष संलग्न गराउने रणनीतिले यसलाई दिगोपन तिर डोर्याएको छ। कार्यक्रमको छनौटदेखि कार्यान्वयनको तहसम्ममा स्थानीय पालिका तथा वडाका जनप्रतिनिधिहरूको प्रत्यक्ष संलग्नता हुन्छ।
अछाम साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको डाँडोको सिरानतिर एक वर्ष अगाडि एउटा पोखरी खनियो। धेरैले यो पोखरीले काम गर्छ भन्ने पत्याएका थिएनन्। तर अहिले त्यही पोखरीले जमिनमुनिको पानी रिचार्ज गरेकाले बाब्लाको डाँडोको मध्यतिरको बस्तीका पुराना धाराहरूमा पानी आउन थालेको छ। बाब्लाकी पार्वती नेपालीको भनाइमा पानीको दुःख भएको ठाउँमा फेरि पानी आउन थालेपछि महिलाहरूको काम केही घटेको छ।
तस्बिरहरूः राजेश घिमिरे