५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसीपुर आगलागीः छोराछोरी लिन गएका बाबु कहिल्यै नफर्किने गरी अस्ताए



अ+ अ-

दाङ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् । ‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् ।

उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो ।

तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले दर्दनाक पीडा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आगोको लप्कामा परेर दुई छोरा छोरीसहित नजर दिन आगोमै बिलाए ।

सो आगलागीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आगलागी भएको प्रहरीले थाहा पाएको थियो ।

लगत्तै तुलसीपुर/घोराही उपमहानगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासमा बिहान करिब ७ बजे आगो निन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुर डीएसपी श्यामु अर्यालले जानकारी दिए । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्रै प्रहरीले पाँच जनाको शव बाहिर निकाल्न सफल भएको थियो । यसैबीच प्रहरीले ७ करोडबराबरको क्षति भएको बताएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको निष्कर्ष
प्रहरीले विद्युत् सर्ट भएर घटना भएको हुन सक्ने निष्कर्ष निकालेको छ । ‘घटनाको प्रकृति हेर्दा र अन्य कुराहरू बुझ्दा विद्युत् सर्ट भएर आगलागी भएको देखिन्छ,’ डीएसी अर्यालले भने ।

शोकमा तुलसीपुर बजार बन्द
पाँच जनाको ज्यान जानेगरी भएको आगलागीको घटनाको शोकमा तुलसीपुरका व्यवसायीले एक दिन तुलसीपुर बजार बन्द गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्स र तुलसीपुर उद्योग वाणिज्य संघको आह्वानमा तुलसीपुर बजार एक दिन बन्द गरिएको हो । यसैबीच तुुलसीपुर चेम्बर अफ कर्मसका अध्यक्ष टोपबहादुर घर्तीले घटनाप्रति दुःख व्यक्त गर्दै उचित राहतका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरेका छन् । राजधानी दैनिकमा ओपेन्द्र बस्नेतले समाचार लेखेका छन् ।