२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी २०७८/७९ मा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट विनियोजन



budget
अ+ अ-

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच सरकारले अध्यादेशबाट आगामी २०७८/७९ का लागि जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ सामान्य वृद्धि भएको छ । कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । अघिल्लो वर्षको तुलनामा खेलकुदको बजेटमा ३८ करोड रूपैयाँ वृद्धि हुँदा बजेटले विशेष गरी पूर्वाधार निमार्णमा जोड दिएको छ ।

कोरोना महामारीले थलिएको स्वास्थ्य क्षेत्रलाई बजेट केन्द्रित भएको अवस्थामा पनि खेलकुद क्षेत्रमा बजेट सामान्य बृद्धि भएको छ । खेलकुद क्षेत्रलाई सरकारले सकारात्मक तरिकाले हेरिरहेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जारी गरेको बजेटले विशेषगरी पूर्वाधार निर्माणका लागि जोड दिएको छ ।

विश्वका धेरै राष्ट्र हरेक वर्षको बजेटमा खेल क्षेत्रलाई वैज्ञानिक तरिकाबाट अगाडि बढाउन योजना बुन्ने गर्छन् । तर नेपालमा भने कुनै प्रकोप या आर्थिक संकट हुँदा खेल क्षेत्रमा नै बजेट खुम्च्याइने गरिन्थ्यो । तर यो आर्थिक वर्षमा भने सामान्य बृद्धि हुँदा बजेट सकारात्मक भएको तर बजेट पर्याप्त नभएको राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव केशव कुमार विष्टले बताउनुभयो ।

खेल क्षेत्रका लागि बजेट आशाजनक रहेपनि रकममा अपेक्षाकृत हुन नसकेको कतिपय खेलमा आबद्ध अधिकारीहरुले टिकाटिप्पणी गरिरहेका छन् । विगतका बजेट भाषणमा नेपालको साहसिक खेललाई जोड दिइएको थियो । सोही अवस्थालाई निरन्तरता दिँदै यस पटक पनि अर्थमन्त्री पौडेलले बजेटमा पर्यटकीय र साहसिक खेल प्रवद्र्धन गर्न सरकारले लगानी गर्ने आश्वासन दिए । पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन भएको छ ।

मोरङको बैजनाथपुर, काठमाडौंको मूलपानी, रूपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगन्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला सम्पन्न गर्न आवश्यक बजेट छुट्याइएको छ । मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला दुई वर्षभित्र सञ्चालनमा आउने लक्ष्य लिइएको छ भने पोखरा रंगशाला आगामी वर्षभित्र निर्माण सम्पन्न हुने बजेटमा उल्लेख छ । नवौँ राष्ट्रिय खेलकुद आगामी वर्ष सञ्चालन गर्ने सरकारले योजना बनाएको छ । अध्यादेशबाट जारी बजेटले खेलकुद क्षेत्रलाई पनि सम्बोधन गरेको छ । तर ४ वर्षअघि राष्ट्रिय खेल घोषणा भएको भलिबललाई किटानी सम्बोधन भएन । भलिबलको अहिलेसम्म आफ्नै पूर्वाधार छैन । राष्ट्रिय खेल भइसकेपछि दिइनु पर्ने प्राथमिकतामा सरकारले सम्बोधन गर्न नसकेको भन्दै नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङले आलोचना गर्नुभयो ।

आर्थिक विकासका लागि महत्वकांक्षी बजेट सार्वजनिक भए पनि खेल क्षेत्रमा जिवन अपर्ण गरेका राम्रा खेलाडीहरू विदेश पलायन हुने दुःखद यथार्थलाई रोक्न कुनै किसिमको योजना बजेटमा सम्बोधन हुन सकेको छैन । तर, यसपटक सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था निरन्तरता मात्रै भएको तथा संघ सञ्चालनको विषयमा कुनै सम्बोधन नभएको टिप्पणी पूर्व सदस्य सचिव विष्टले गर्नुभयो ।

सरकारले युवा तथा खेलकुदमार्फत कुल पाँच क्षेत्रका लागि बजेट विनियोजन गर्ने गर्दछ । तीमध्ये मन्त्रालय, युवा परिषद्, स्काउट, युवा स्वरोजगार कोष र राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्छन् । यीमध्ये खेलक्षेत्रमा बढी हिस्सा लगभग ८० प्रतिशत खर्च हुन्छ र धेरै जसो रकम प्रशासनिक खर्च, कर्मचारीको तलब, भत्ता, उपदान र इन्धन गर्दा करिब एक अर्ब खर्च हुन आउँछ । यही अवस्थाबाट बजेट अभावका कारण ग्रासरुटबाटै खेल विकासमा लगानी हुन पाउँदैन र खेलाडीको वृत्तिविकास र आवश्यक दीर्घकालीन योजना प्रभावित हुने गरेको छ । बर्सेनि सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा खेलक्षेत्रलाई आशालाग्दो सम्भावना देखाउने गरेपनि कार्यन्वयनमा भने सधै प्रश्न उठ्ने गरेका छन् ।