एजेन्सी । कोरोना भाइरसविरुद्ध लड्नका लागि चीनमा बनेको सिनोभ्याक कोभिड खोपलाई विश्व स्वास्थ संगठनले आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ ।
यस खोप लगाएका ५१ प्रतिशतमा लक्षण देखिएको रोगको रोकथाम भएको डब्लुएचओले जनाएको छ । त्यस्तै, खोप लगाएकाहरुको शतप्रतिशत नमूनामा कडा खाले लक्षण र अस्पताल भर्ना हुनुपर्ने अवस्था देखिएएको पनि उसले उल्लेख गरेको छ ।
डब्ल्युएचओबाट स्वीकृति पाउने यो दोस्रो चिनियाँ खोप हो । यसअघि सिनोफार्मले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । अनुमतिसँगै कोभ्याक्स कार्यक्रम अन्तर्गत यो खोप प्रयोग गर्नका लागि ढोका खुलेको छ । यस कार्यक्रमले खोपको निष्पक्ष वितरण गर्ने लक्ष्य राखेको छ ।
धेरै देशमा अहिले प्रयोग भइरहेको सिनेभ्याक १८ वर्षमाथिका व्यक्तिहरुका लागि प्रयोग गर्न सिफारिस गरिएको छ । पहिलो डोज लगाएको दुई वा चार सातापछि यस खोपको दोस्रो डोज लगाइन्छ ।
चीनले कोभ्याक्स परियोजनाका लागि १ करोड डोज कोभिड खोप अहिल्यै उत्पादन गरिसकेको जनाएको छ । यस वर्षको अन्त्यसम्म ३ अर्ब डोज उत्पादन गर्ने लक्ष्य चीनको रहेको छ ।











