५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोपाइँ गर्ने बेला खडेरी: खेतमै सुक्न थाल्यो धानको ब्याड



अ+ अ-

लुम्बिनी ।  एक महिनादेखि परेको खडेरीले किसानले रोपाइँ गर्न पाएका छैनन् । खडेरीका कारण चर्को गर्मी हुँदा जनजीवन कष्टकर बनेको छ । पानीको हाहाकार सुरु भएको छ, बोटबिरुवा सुकेका छन्, किसानका खेतमा धानको ब्याड राखेका ठाउँ पटपटी फुटेर धाँजा फाटेका छन् ।

मल, बीउ अभाव झेल्दै आएका किसानहरू बीउ राख्ने बेलादेखि रोपाइँ सुरु गर्ने बेलासम्म परेको लामो खडेरीले समयमा धान रोपाइँ नै प्रभावित हुनेमा चिन्तित बनेका छन् । तराईमा असार पहिलो सातादेखि रोपाइँ सुरु हुने भएकाले यतिबेला खेतमा ब्याड हरियो भइसक्ने थियो । तर समयमा वर्षा नहुँदा धानको बीउसमेत राख्न समस्या भएको किसानले बताएका छन् ।

असार सुरु हुँदासमेत पानी नपर्दा अधिकांश स्थानमा किसानहरूले बीउ राख्नसमेत पाएका छैनन । कतिपय राखिएका ब्याड पनि सुकेर सुर्ती मिच्ने जस्तै भएको रूपन्देही गैडहवा गाउँपालिका–७ का किसान आनन्दकुमार गुप्ता बताउनुहुन्छ । “रोपाइँ गर्नेबेला भयो तर धानको बीउ खेतमै सुकेर सुर्ती मिच्ने जस्तै भएको छ”, उहाँले भन्नुभयो, “मानिसले पिउने पानीको समेत हाहाकार हुनथाल्यो, रोपाइँ कसरी गर्ने ?”

लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका सिँचाइको सुविधा भएका क्षेत्रमा धानको बीउ राख्ने काम सकिएको र रोपाइँको तयारी सुरु भएको छ । तर सिँचाइको सुविधा उपलब्ध नभएका जिल्लाहरूमा समयमा वर्षा नहुँदा बीउसमेत राख्न नपाएको र छरेको बीउ ब्याडमै सुक्ने अवस्था आएको छ ।

निर्देशनालयका सूचना अधिकारी, कृषि अर्थविज्ञ डिल्लीराज पौडेल लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन लाख २० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको बताउनुहुन्छ । यसमध्ये तराईका छ जिल्लामा मात्र ८८ प्रतिशत र बाँकी पहाडी जिल्लामा १२ प्रतिशतमा धानखेती हुने गरेको छ । प्रदेशका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा धानखेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको छ । असारको पहिलो सातादेखि धान रोपाइँ सुरु हुने भए पनि यस वर्ष वर्षा नहुँदा रोपाइँ सुरु हुन सकेको छैन ।

लुम्बिनी प्रदेशमा धानखेती हुने क्षेत्रमध्ये ५७ दशमलव ०७ प्रतिशत भूभागमा पर्याप्त सिँचाइको व्यवस्था रहेको सूचना अधिकारी पौडेल बताउनुहुन्छ । सिँचाइको सुविधा नभएका भूभागमा खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले यस वर्ष रोपाइँ ढिला सुरु हुने अवस्था रहेको उहाँको भनाइ छ ।

रूपन्देही तिलोत्तमाका कृषक पुरन क्षेत्री जेनतेन बोरिङको पानीले धानको ब्याड राखे पनि रोपाइँ गर्न भने आकाशको पानी कुरेर बसेको बताउनुहुन्छ । उहाँले असारको पहिलो साता बितिसक्दा पनि पानी नपर्दा धेरै किसानलाई निराश बनाएको बताउनुहुन्छ । “बीउ त छरियो, ब्याड जोगाउन दिनदिनै बोरिङ चलाएर पानी हाल्नुपर्छ”, उहाँले भन्नुभयो, “रोपाइँ गर्न बोरिङको पानीले पुग्दैन, आकाशको पानीमा भर पर्नुपर्छ ।”

लुम्बिनी प्रदेशमा धान उत्पादन हुने मुख्य तराईका जिल्लामध्ये पश्चिम नवलपरासीमा गण्डक नहरको सिँचाइ हुने केही क्षेत्रमा रोपाइँ सुरु भएको तर आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा भने खडेरीले खेतीपातीमा प्रभाव पारेको कृषि ज्ञानकेन्द्र पश्चिम नवलपरासीका सूचना अधिकारी समिरसिंह बराइ मगर बताउनुहुन्छ । पश्चिम नवलपरासीमा २१ हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको र हालसम्ममा पाँच प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको सूचना अधिकारी मगर बताउनुहुन्छ । जिल्लामा कूल खेतियोग्य जमिनको ७० प्रतिशत भूभागमा सिँचाइको सुविधा उपलब्ध छ ।

धानखेतीमा राम्रो उत्पादन हुने जिल्ला मानिएको दाङ जिल्लामा समयमा वर्षा नहुँदा रोपाइँमा असर परेको छ । जिल्लाको कूल खेतीयोग्य ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमध्ये ३९ हजार चार सय हेक्टर क्षेत्रमा बर्सेनि धानखेती हुन्छ । तर यसवर्ष अहिलेसम्म करिब ९१ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गरिएको कृषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउनुहुन्छ ।

जिल्लामा कूल खेतीयोग्य जमिनको ३० प्रतिशत १९ हजार छ सय ८७ हेक्टर जमिनमा सिँचाइ सुविधा रहेको छ । यससँगै १९ हजार दुई सय ६१ हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा रहेको र करिब १० प्रतिशत जमिनमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो । रासस