२३ असार २०८३, मंगलवार
,
Latest
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्धर्वको पीडा: रोगले भन्दा पनि भोकले मर्ने भइयो



अ+ अ-

झापा । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् । 

सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत गाएर मनोरञ्जन प्रदान गर्ने उनीहरुको पुख्र्यौली पेशा हो । अहिलेसम्म यो पेशा धान्दै आएका उनीहरु सर्वत्र निषेधाज्ञा लागू भएका कारण घरबाट बाहिर निस्कन पाएका छैनन् । खेतीपाती र व्यापार नरुचाउने यो जाति कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएपछि भोकमरीमा परेको छ तर अहिलेसम्म कसैले पनि उनीहरुलाई खाद्यान्न सहयोग पु¥याएका छैनन् ।

“रोगले भन्दा भोकले मर्ने भयौँ”, पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्व भन्नुहुन्छ, “सारङ्गी रेटेर कमाएको पैसोले हाम्रो जातिको परिवार धानेको थियो । अहिले घरबाहिर निस्कन नसक्दा बिहान बेलुकाको छाक टार्न मुस्किल भइसक्यो ।”

सहज अवस्थामा उनीहरु काठमाडौँ, पोखरा, धरान, इलाम र ताप्लेजुङ मात्र होइन, छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जीलिङ, कालिम्पोङ र सिक्किमसम्म पुगेर सारङ्गीमा गीत सुनाउँथे । फर्केर घर आउँदा मनग्यै कमाइ हुन्थ्यो । त्यही कमाइले परिवारको लालनपालन र शिक्षादीक्षा हुँदै आएको उहाँको भनाइ छ । 

“खेतीपाती र जनमन गर्न सिकिएन । घरमा भएको अन्न सकियो । ऐँचोपैँचो र उधारो पनि नपाउने अवस्था भयो । भोकले केटाकेटी र वृद्धवृद्धाहरु आत्तिन थालिसकेको छन्”, सचिव गन्धर्व पीडा सुनाउँदै भन्नुहुन्छ, “सरकारका मान्छे र पार्टीका नेताहरु सबैलाई गुहारिसक्यौँ, आश्वासन दिन्छन् तर राहत कसैले दिएनन् ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले हालसम्म पालिकामा राहतको माग गरेर कोही पनि नआएको बताउनुभयो । “पालिकाभित्रका जनतालाई भोकले मर्ने दिँदैनौँ”, उहाँले भन्नुभयो, “राहत वितरणको तयारी हुँदैछ, खाद्यान्न अभावमा कसैको घरमा चुल्हो बलेको छैन भने अनुगमन गरेर त्यो पनि व्यवस्था गर्छौँ ।” उहाँले पालिकाभित्र मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत काम दिइरहेको बताउनुभयो । 

गन्धर्व समुदायले रोजगार कार्यक्रममा सहभागी हुने अवसर पाएनन् । हालसम्म घरबाहिर ननिस्केका कारण गन्धर्व समुदायमा कोभिड–१९ को सङ्क्रमण देखिएको छैन । राहत नपाए अब सारङ्गी बोकेर बाँच्नका लागि भए पनि गाउँतिर निस्कने सल्लाह भइरहेको सचिव गन्धर्वले बताउनुभयो ।

उहाँका अनुसार कचनकवल–२ मा मात्र ४५ घर परिवारका २०७ जना गन्धर्व जातिको बसोबास रहेको छ । यो जाति लोपोन्मुख जातिमा पर्ने भए पनि हालसम्म सूचीकृत हुन नसक्दा सामाजिक सुरक्षा भत्तासमेत उनीहरुले पाउन सकेका छैनन् । नेपालमा गन्धर्व जातिको कुल जनसङ्ख्या ६६०० मात्र छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक मौलिकता बोकेको यस जातिको राष्ट्रमा छुट्टै पहिचान छ ।




भर्खरै