• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आदिपुरुषः चलचित्रको नकारात्मक समीक्षा हटाउन निर्माताले घुस दिएको खुलासा



एजेन्सी । ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा आलोचित बनेको छ । फिल्म रिलिज भएदेखि नै इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । टपोरी संवाददेखि लिएर सीतालाई भारतकी छोरी भनेर सम्बोधन गर्नेसम्म फिल्म धेरै विवादमा परेको छ ।

अब यसैसँग जोडिएको अर्को विवाद बाहिर आएको छ । केही रिपोर्टका अनुसार फिल्मको टिमले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई फिल्मको नकारात्मक समीक्षा मेटाउने बदलामा घूस दिएको बताइएको छ ।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले त्यस्ता स्क्रिनसटहरू सेयर गरेका छन् जसमा फिल्मका निर्माताहरूले उनीहरूलाई सामाजिक सञ्जालबाट फिल्मको नकारात्मक समीक्षा हटाउन आग्रह गरिरहेका छन् । त्यसको बदलामा निर्माताले घूस पनि दिने गरेको दाबी गरिएको छ ।

स्क्रिनसट सेयर गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, – केही एजेन्सीहरूले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् र मेरो ट्वीटहरू मेटाउन आग्रह गरिरहेका छन् । बदलामा मलाई पैसा पनि दिने बताइएको छ । माफ गर्नुहोस्, तपाईं मानिसहरू गलत व्यक्तिसँग कुरा गर्दै हुनुहुन्छ ।’

अर्कोतर्फ, यी सबै विवादका बीच फिल्मले पहिलो दिन विश्वभर १४० करोडको कलेक्सन गरेको छ । ओम राउत निर्देशित यस फिल्ममा प्रभास, सैफ अली खान र कृति सेनन महत्वपूर्ण भूमिकामा छन् ।