काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको जनतासँगको सम्बन्ध कमजोर भएका कारण एमाले कमजोर अवस्थामा पुगेको बताएका छन्।
धनुषाको लालगढमा पार्टीको मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले एमालेको कार्यशैली जनपरिचालनमुखी हुनुपर्नेमा सरकारी शैलीतर्फ केन्द्रित भएको बताए।
उनले पार्टी नेता–कार्यकर्ता जनताको समस्या र मुद्दाभन्दा प्रशासनिक नियुक्ति तथा सरुवामा बढी केन्द्रित हुँदा जनतासँगको सम्बन्ध टाढिएको दाबी गरे।
‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो, राजर्षी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सीडीओ, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’
ज्ञवालीले गत फागुनमा भएको निर्वाचनमा एमालेले कमजोर नतिजा ल्याउनुमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु पनि प्रमुख कारण रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह–उपसमूहको निर्माण तथा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा पार्टीले क्षति व्यहोरेको उनको भनाइ थियो।
‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ उनले भने, ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्दाबाट टाढिएको परिणाम हो।’
पार्टी जनताका मुद्दाबाट टाढिँदा संविधान मिचिँदा वा पार्टीका नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआएको ज्ञवालीले बताए।
उनले २०७९ को निर्वाचनपछि एमालेप्रति जनतामा सत्ताभोगी पार्टीको छवि बनेको समेत बताए। २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उल्लेख गर्दै उनले सत्ता गठबन्धन परिवर्तनको औचित्यबारे पार्टीले जनतालाई स्पष्ट रूपमा बुझाउन नसकेको बताए।
‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण बदल्यो। पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो। केही महिनामै त्यो सरकार छाड्यो। फेरि प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो,’ ज्ञवालीले भने, ‘सरकारमा भित्रिने वा बाहिरिने कारण हामीले जनतालाई भनेनौँ। आखिर प्रचण्ड सुध्रिएर हामी सत्तामा गएका थियौँ कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन्।’
प्रचण्ड नेतृत्वको सरकारबाट हठात् बाहिरिएर नेपाली कांग्रेससँग सहकार्य गर्नुले पनि जनतामा नकारात्मक सन्देश गएको उनको विश्लेषण थियो।
ज्ञवालीले अब एमालेले जनताका समस्या पहिचान गर्ने, ती समस्या उठाउने र समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए। पार्टीको मधेस प्रदेशस्तरीय भेला धनुषाको लालगढमा जारी छ।








