३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक अस्पताल बन्दै महाकाली अस्पताल



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ ।  सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो ।

कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्का सामाजिक विकासमन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक बनाइएको हो । मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निर्णय गरेको हो । अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निर्णय हो । “मन्त्री भएपछि महाकाली अस्पताल बनाउने पहिलो निर्णय गरिएको छ”, मन्त्री खड्काले भन्नुभयो, “अब महाकाली पनि सेती अस्पतालकै हैसियतमा आएको छ ।”

महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरुदेखि प्रदेशसभा सदस्यलाई दबाब दिँदै आएको थियो । “महाकाली अस्पताललाई प्रादेशिक बनाउन शुरुदेखि नै आवाज उठ्दै आएको थियो । आज त्यसलाई सम्बोधन गरिएको छ”, मन्त्री खड्काले भन्नुभयो । 

महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुने छन । प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन् । यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उपप्रादेशिक अस्पताल बनाएको थियो । महाकाली अस्पताललाई टीकापुरसरह उपप्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो । महाकाली अस्पताल व्यवस्थापनले उपप्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताउनुभयो । “प्रादेशिक बनाउनुपर्ने माग विगतदेखि राख्दै आएका थियौँ । यसपटक मन्त्रीले माग पूरा गरिदिनुभयो”, अध्यक्ष जोशीले भन्नुभयो ।

अध्यक्ष जोशी प्रदेश र सङ्घीय सरकारसित समन्वय गरी महाकाली अस्पताल सुधारमा लाग्नुभएको छ । चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन् । विसं २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अञ्चल अस्पताल विसं २०४३ मा अञ्चल अस्पताल बनेको थियो । रासस