काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले जित निकालेको छ । बिहीबार राति भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईमाथि २–० गोलको जित निकालेको हो ।
कुवेतको राजधानी कुवेत सिटीमा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे । खेलको चौथो मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
नेपालका लागि दोस्रो गोल बैकल्पीक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले ८१ औं मिनेटमा समन अर्यालले दिएको पासमा गोल गर्दै टिमलाई २–० गोलको जित निकाले ।
जितसँगै नेपालले विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । योसँगै नेपालको विश्वकप छनोटमा आफ्नो गणितिय सम्भावना भने कायम राखेको छ ।
यता जित निकाल्दै नेपालले एसिया कपका लागि आफूलाई बलियो बनाउने मौका पाएको छ ।











