• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo

ट्याक्सीलाई तीन वर्गमा छुट्याइने, ‘लक्जरी’को भाडा दोब्बर



काठमाडौँ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनका लागि नयाँ मापदण्ड जारी गरेको छ । यातायात व्यवस्था विभागले जारी गरेको नयाँ मापदण्ड अनुसार अब ट्याक्सीलाई तीन वर्गमा विभाजन गरिनेछ ।
जसमा साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी छुट्याइनेछ । विभागले सोमबार नयाँ निर्धारण जारी गरेको हो । जसअनुसार प्रत्येक ट्याक्सीले छतमा अगाडि र पछाडिबाट देखिने गरी सूचक बत्ति पनि राख्नुपर्नेछ । ट्याक्सीको छतमा पहेँलो रंग लगाइएको हुनुपर्नेछ ।
साधारण ट्याक्सी
साधारण ट्याक्सीमा इन्टरनल कम्बसन इन्जिन जडित सवारीको हकमा ८ सय सिसी क्षमता वा सोभन्दा माथि र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा र सवारीको कुल भारबीचको न्यूनतम अनुपात ०.०१२ हुनुपर्नेछ । यस्ता सवारी साधनमा  मनोरञ्जनका लागि कम्तीमा सवारी साधानको अगाडि वा पछाडि साउण्ड सिस्टम समेत जडान गरेको हुनुपर्नेछ ।
विशेष ट्याक्सी
विशेष ट्याक्सीको हकमा इञ्जिन क्षमता इन्टरनल कम्बसन इन्जिन जडितको हकमा १२ सय वा सोभन्दा माथि र विद्युतीयको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा र सवारीको कुल भारबीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्नेछ ।  यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि सवारीको अगाडि र पछाडि साउन्ड सिस्टम, टच स्क्रिनसहितको डिस्प्ले कम्तीमा एउटा, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), स्वचालिक वातानुकुलन प्रणाली र पछाडि रिडिङ ल्याम्प हुनुपर्नेछ ।
विशिष्ट ट्याक्सी
विशिष्ट ट्याक्सीको हकमा इञ्जिन क्षमता इन्टरनल कम्बसन इन्जिन जडितको हकमा २ हजार वा सोभन्दा माथि र विद्युतीयको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा र सवारीको कुल भारबीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्नेछ ।  यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि सवारीको अगाडि र पछाडि साउन्ड सिस्टम, टच स्क्रिनसहितको डिस्प्ले कम्तीमा एउटा, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), स्वचालिक वातानुकुलन प्रणाली र पछाडि रिडिङ ल्याम्प हुनुपर्नेछ ।
साथै विशिष्ट ट्याक्सीमा पछाडिको सिटमा शिर अड्याउने हेड रेष्ट, अगाडि र पछाडि कप होल्डर, पछाडि रिडिङ ल्याम्प, पछाडिको सिटका यात्रुका लागि मोबाइल तथा अन्य विद्युतीय उपकरण चार्ज गर्न डिसी वा एसी पावर आउटलेट, वाइफाइको सुविधा, अगाडिको शिर कक्ष र पछाडिको शिर कक्ष कम्तीमा क्रमशः १ हजार मिति र ९५० मिमि हुनुपर्ने र अगाडिको पाउ कक्ष र पछाडिको पाउ कक्ष कम्तीमा क्रमशः एक हजार मिमि र नो सय मिमि हुनुपर्नेछ ।
ट्याक्सीका लागि अगाडिको सिसाको चाकलतर्फको माथिल्लो कुना, पछाडिको दायाँ र बायाँ ढोकाको सिसामा र पछाडिको सिसाको दायाँतर्फको कुनामा वर्ग खुल्ने गरी उल्लेख गर्नुपर्नेछ । यसरी ट्याक्सीको वर्ग छुट्याइएपछि अर्डिनरी अर्थात साधारण ट्याक्सीको हकमा ‘ओ’, डिलक्स वा विशेषका लागि ‘डी’ र लक्जरी अर्थात् विशिष्टको हकमा ‘एल’ उल्लेख भएको हुनुपर्नेछ ।
ट्याक्सी खाली भएमा छतमा राखिने बत्ति हरियो बलेको हुनुपर्नेछ भने सवारी खाली नहुँदा रातो बत्ति हुनुपर्नेछ । साथै सवारी सेवामा नहुँदा सेतो संकेतको बत्ति बाल्नुपर्नेछ । बत्तिमा बालिने तीन थरी रंगको नियन्त्रणका लागि स्वीच चालक सिटको अगाडि जडान भएको हुनुपर्नेछ ।
भाडा
साधारण वर्गको ट्याक्सीको भाडा दर नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडा दर बराबर हुनेछ । विशेष वर्गको ट्याक्सीको भाडादर साधारण वर्गको ट्याक्सीको तुलनामा २० प्रतिशत बढी र विशिष्ट वर्गको ट्याक्सीको भाडा दर साधारण वर्गको ट्याक्सीको तुलनामा शतप्रतिशत बढी हुनेछ । साथै प्रिन्टरसहितको डिजिटल भाडा मिटर जडान गरेको हुनुपर्नेछ भने डिस्प्लेसहितको जीपीएस नेभिगेसन प्रणाली पनि जडान भएको हुनुपर्ने उल्लेख छ ।