काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई मन्त्रीको शपथ गराउने तयारी छ ।
नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज साँझ ५ बजेसम्म नयाँ मन्त्रीलाई शपथ गराएपनि कुन कुन मन्त्रालय कसलाई दिने भन्ने सूचीबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।
सर्वोच्च अदालतले गएको ६ जेठमा माओवादी पृष्ठभूमिका सात जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएसंगै ओलीले मन्त्रिपरिषद् पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् । जसपाका ठाकुर पक्षमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति जुटिसकेको छ ।
प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्नुहुने करिब तय भएको छ ।
जसपा स्रोतकाअनुसार राजेन्द्र महतो आपूर्ति, शरदसिंह भण्डारी उर्जा, विमल श्रीवास्तव खानेपानी, उमाशंकर अगरिया युवा तथा खेलकुद, अनिल झा शहरी विकास मन्त्रीमा सपथ लिने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री परिषद्को तयारी भएपनि अहिलेसम्म अन्तिम टुङ्गो लागि नसकेको बताउनुभयो । जसपाको पार्टी निर्णय भएर तयारी साथ आएमा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नुहुने उहाँले बताउनुभयो ।











