काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एक पुरुषले युवकलाई डोरीले बाँधेर खुट्टा र शरीरमा पिटिरहेका छन् । कुटाइ खाइरहेका युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का कक्षा ११ मा पढ्ने विकास पासवान हुन् ।
त्यस्तै कुटपिट गर्ने व्यक्ति वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले पासवानलाई प्रेमपत्र पठाएको आरोपमा कुटपिट गरेको हो । दलित समुदायको युवक भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयले दावी गरेको छ ।
कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहका अनुसार पीडित युवकको स्वास्थ्य जाँच गरिएको छ । साथै उक्त घटनामा संलग्नको आरोपमा ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ परेको छन्। ‘घटनाको बारेमा पीडितले अहिलेसम्म उजुरी गरेका छैनन् । हामीले ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दैछौं’ उहाँले भन्नुभयो।











