नाम : वंशराज पाँडे
जन्म: वि.सं. १७९६, गोर्खा
पद: काजी
योगदान: एकीकरणकालीन युद्धमा नेतृत्व र सफलता-सैनिक सेवा
अभियोग: लमजुङ र पर्वतका राजालाई पक्राउ नगरी भाग्न दिएको
मृत्युदण्ड दिइएको मिति: वि.सं. १८४२ वैशाख, भण्डारखाल बगैंचा, हनुमानढोका राजदरबार, काठमाण्डु
वंशराज पाँडे गोर्खा राज्यका पुराना काजी कालु पाँडेका जेठा छोरा थिए । कालु पाँडे गोर्खा राज्यका संस्थापकमध्येका गणेश पाँडेका सन्तति थिए । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको प्रारम्भ गर्दा उनको योजनालाई साकार रुप दिन जीवनकै बलीदानी दिने मुख्य भारदारमा कालु पाँडे मुख्य व्यक्ति थिए ।
गोर्खाली सेनालाई सुदृढ बनाउन, हातहतियारको व्यवस्था गर्न, तालिम, सुशासन र युद्ध तथा छिमेकी राज्यसँग कुटनीतिक चातुर्य प्रदर्शन गर्नमा यिनले सुझबुझपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यिनैको योगदानबाट गोर्खाले नुवाकोट लगायतका काठमाडौँ वरिपरिका स–साना क्षेत्रहरू गोर्खामा गाभेको थियो । कालु पाँडे गोर्खाले कीर्तिपुरमाथि गरेको आक्रमणमा उपत्यकाका तिनवटा मल्ल राजाहरूको संयुक्त सेनासँगको वि.सं. १८१४ (१८ मे सन् १७५७) मा भएको प्रथम कीर्तिपुर युद्धमा काठमाडौँको बल्खु खोलामा काटिएका थिए ।
वंशराज पाँडेको जन्म वि.सं.१७९६ मा गोर्खामा भएको थियो । युद्धमा मारिने सैनिकका परिवारलाई मरवट दिने पृथ्वीनारायण शाहको नीति अनुरुप यिनका भाइहरू गोर्खाका राजाको संरक्षणमा हुर्किए र उमेर पुगेपछि युद्धमा सहभागी हुन थाले भने वंशराज पाँडे बाबु छँदै युद्धमा भाग लिन थालेका थिए । राजा पृथ्वीनारायण शाहकै पालामा भएको वि.सं. १८१९ को मकवानपुर विजय युद्ध, कप्तान किनलोक नेतृत्वको अंग्रेज सेनासँगको सिन्धुलीगढीको युद्ध, कीर्तिपुर, भक्तपुर, तिमाल, पौवागढी, तनहुँ, लमजुङ, चिसापानी लगायत उपत्यका विजयका महत्वपूर्ण युद्धमा नेतृत्व गरी वीरता देखाएर पृथ्वीनारायण शाहको मन जितेका वंशराज पाँडे तत्कालीन गोर्खाका विश्वासिला र बहादुर भारदारमध्ये एक थिए ।
सिन्धुलीको युद्धमा अंग्रेज कमाण्डर कप्तान किनलक र मकवानपुरको युद्धमा गुर्गिन खाँको आधुनिक तालिम प्राप्त र अत्याधुनिक हातहतियारले सु–सम्पन्न सैनिकलाई हराउन तथा गोर्खालाई आधुनिक हातहतियारसमेत प्राप्त गर्नमा यिनको मुख्य भूमिका थियो । अद्यापि सैनिक इतिहासमा भिन्दै महत्व राख्ने सिन्धुली र मकवानपुर युद्धको नेतृत्व वंशराज पाँडेले नै गरेका थिए । पृथ्वीनारायण शाहले यिनलाई काजी पद दिएका थिए ।
पृथ्वीनारायण शाहको वि.सं.१९३१ मा मृत्यु हुँदा वंशराज पाँडे पर्वत राज्यको कैदमा थिए । वि.सं. १८२८ मा संयुक्त चौबिसे (लमजुङ, पाल्पा र पर्वत लगायत) सेनासँग भएको सतहुँको युद्धमा बख्सि केहरसिंह बस्नेत मारिए भने यिनलाई चौविसी सेनाले बन्दी बनाएर बेनीमा कैद गरेको थियो । प्रतापसिंह शाह राजा भएपछि केही वर्ष युद्ध झगडा नगर्ने छिमेकी राज्यहरूसँगको प्रतिबद्धतापछि यिनलाई पर्वतले कैदमुक्त गरेको थियो ।
कैदमुक्ति पछि यिनी काठमाडौँ आएर काजी पदमा बहाल भए । त्यसपछि पनि यिनले गोर्खाली सेनामा रहेर दिलोज्यानले नेपाल राज्यको बिस्तारमा योगदान गरे । स्व.राजा पृथ्वीनारायण शाहका उत्तराधिकारी राजा प्रतापसिंह शाह जीवित छँदा उनी नजिकका सल्लाहकारमा काजी स्वरुपसिंह कार्की, मैजुरानी र मैजुरानीका माइती केही प्रधान तथा खवासहरू र पं.ब्रजनाथ पौडेल लगायतका व्यक्ति थिए ।
यिनीहरू गोर्खाका पूराना भारदार वंशराज पाँडे लगायतका वीरहरूलाई दरबारबाट टाढा राख्न चाहन्थे । प्रतापसिंह शाहको वि.सं. १८३४ मंसिर ६ गते २८ वर्षको उमेरमै मृत्यु भयो । राजा प्रतापसिंह शाहको मृत्युपछि राजगद्दीमा बसेका उनका नाबालक छोरा रणबहादुर शाहको नायवीका रुपमा स्व.राजा प्रतापसिंह शाहकी महारानी राजेन्द्रलक्ष्मी र भाइ बहादुर शाहबीच मिलाप हुँदा वंशराज पाँडे काजी पदमै रहे । पछि देवरभाउजूबीच मनमुटाव हुँदा बहादुर शाह कैदमा परे । महारानी राजेन्द्रलक्ष्मी नै नाबालक राजा रणबहादुर शाहको नायव बनिन् ।
उनले सर्वजित रानालाई मूलकाजी बनाएर आफ्नो सल्लाहकारमा राखिन् भने वंशराज पाँडेलाई दोस्रो काजी बनाएर गोर्खातर्फ पठाएकी थिइन् । दरबारभित्रको षडयन्त्रपूर्ण कृयाकलापमा स्व.प्रतापसिंह शाहकी महारानी राजेन्द्रलक्ष्मी र राजकुमार बहादुर शाहबीचको शक्ति संघर्षमा यिनी राजकुमार बहादुर शाह पक्षमा रहेको आरोपमा काजीबाट पदच्युत भए र नेपाल–भारत सीमा बेतियामा निर्वासनमा गए । महारानी राजेन्द्रलक्ष्मीका नजिकका मानिने तत्कालीन नेपाल दरबारका काजी स्वरुपसिंह कार्कीले यिनलाई आफ्नो बाधकका रुपमा हेर्ने गरेको पाइन्छ ।
राजा रणबहादुर शाह ११ वर्ष उमेर पुगेपछि व्रतबन्ध गर्ने कार्यक्रमका लागि नेपाल– भारतको सीमा बेतियामा निर्वासित जीवन बिताइरहेका राजकुमार बहादुर शाह र वंशराज पाँडेलाई नेपाल दरबारमा बोलाइयो । वि.सं. १८४१ माघ ९ गते व्रतवन्ध गोर्खा दरबारमा गरिएको थियो जहाँ बहादुर शाह समेत सरिक थिए । वंशराज पाँडे गोर्खा नगई केही समयपछि अर्थात् वि.सं. १८४१ फागुन ३० गते काठमाडौँ दरबारमा आए । वंशराज पाँडे काठमाडौँ आउने, नआउने द्विविधामा थिए ।
यता उनलाई कास्की विजय अभियानका लागि भनेर बोलाइए पनि काजी स्वरुपसिंह कार्की र महारानी राजेन्द्रलक्ष्मीले सधैँका लागि पन्छाउने योजना गरेका रहेछन्, जुन गुप्त रहस्य यिनलाई जानकारी भएन । त्यसबेला महारानी राजेन्द्रलक्ष्मी क्षयरोगबाट ग्रस्त थिइन् । आफ्नो निधनपछि वंशराज पाँडे र बहादुर शाह मिलेर नावालक राजा रणबहादुर शाहविरुद्ध षडयन्त्र गर्लान् भन्ने डरले महारानी वंशराज पाँडे र बहादुर शाहलाई पन्छाउन चाहन्थिन् ।
त्यतिबेला कास्की चौविसीहरूको नियन्त्रणमा पुगेको थियो । कास्कीमाथि पुनः नियन्त्रणका लागि वंशराज पाँडेलाई बोलाइएको भनिएको थियो । तर दरबारभित्रको आपू प्रतिकूलको वाताबरणबाट परिचित वंशराज पाँडेले काठमाडौँ नआउने विचार पनि गरेका थिए । आफ्ना विश्वासी बहादुर शाह काठमाडौँमा भएकाले उनी नेपाल आए र कास्की अभियानमा गए । चौविसी राज्यहरूबीचको एकता भत्काउन उनले तनहुँका सेनापति गरुडध्वज पन्तलाई हात लिएर चौबिसे गुटबाट तनहुँलाई अलग्याए । त्यसपछि लमजुङ विजय गरे, कास्की जिते, त्यहाँ कब्जा जमाएका पर्वतका राजा कीर्तिबम मल्ललाई पराजित गरी भाग्न बाध्य पारे । त्यसपछि तत्कालीन सर्दार (पछि बडाकाजी) अमरसिंह थापालाई कास्कीको तैनाथी दिएर यिनी काठमाडौँ फर्के ।
काठमाडौँ आएपछि वंशराज पाँडेलाई लमजुङ र पर्वतका राजालाई पक्राउ नगरी भगाएको आरोप लगाएर कैद गरियो । त्यसबेला बहादुर शाह नजरबन्दमा राखिएका थिए । काजी स्वरुपसिंह कार्की र महारानी राजेन्द्रलक्ष्मीले बहादुर शाहको पक्षमा लागेको किटानी गरी वि.सं. १८४२ साल वैशाख १२ गते राती हनुमानढोका दरबारभित्र कचहरी बसाएर कपोलकल्पित आरोप लगाएर सफाईको मौका नै नदिई सोही रात हनुमानढोका दरबारभित्रको भण्डारखाल बगैँचा (हाल नेपाल बैंक लि.को मुख्य कार्यालय रहेको स्थान) मा लगेर वंशराज पाँडेलाई निहत्था अवस्थामा काट्न लगाए । त्यसबेला यिनको उमेर ४६ वर्ष थियो । यिनी विरुद्ध अरु के के आरोप लगाइएको थियो प्रष्ट छैन । त्यसबेला केवल यिनलाई सदाका लागि पन्छाउन खोजिएको मात्र बुझिन्छ ।
बहादुर शाह नजरबन्दमा थिए, वंशराजको हत्या टुलुटुलु हेर्न यिनी विवश थिए । वंशराजको हत्यापछि बहादुर शाहलाई फर्पिङमा कडा पहराका साथ राखिएको थियो । यसपछि काजी स्वरुपसिंह कार्की कास्कीको प्रमुख प्रशासक भएर गएको पाइन्छ ।
काजी वंशराज पाँडेको नाम नेपाली वीर सेनानायकहरूको पङ्क्तिमा अग्रस्थानमा रहेको छ । नेपालले यसअघि सदियौंदेखि दक्षिणतर्फका शक्तिशाली बिदेशी सेनाको आक्रमणसामु सशक्त प्रतिकार गर्न सकिरहेको थिएन । काठमाडौँ उपत्यका र अन्य क्षेत्रमा शमशुद्धिन इलियास –Shamsuddin Illiyas_ लगायतले पटकपटक गरेको आक्रमण र लुटपाटबाट पीडित र त्रसित नेपालले वि.सं.१८१९ मा मकवानपुरका पराजित राजा दिग्वन्धन सेन र मन्त्री कनक बानियाँको सहयोगार्थ आएको गुर्गीन खाँ नेतृत्वको आधुनिक तालिम र हतियारले सु–सज्जित मुसलमानी सेनालाई मकवानपुरको हर्नामाडीमा आक्रमण गरी भाग्न बाध्य बनाउने गोर्खाली सेनाको नेतृत्व वंशराज पाँडेले नै गरेका थिए ।
कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको सहयोगार्थ भारतस्थित इष्ट इण्डिया कम्पनी (बेलायत) सरकारले कप्तान किनलक नेतृत्वमा गोर्खा विरुद्ध लड्न पठाएको अत्याधुनिक तालिम प्राप्त र बन्दुक, तोप समेतका हतियारले सम्पन्न अंग्रेज सेनालाई सिन्धुलीगढीको पौवागढीमा हराएर भगाउने गोर्खाली सेनाको नेतृत्व काजी वंशराज पाँडेले नै गरेका थिए ।
मकवानपुर, कान्तिपुर, भक्तपुर, सिन्धुलीमा कप्तान किनलोक नेतृत्वको अंग्रेज सेना, मकवानपुर हर्नामाडिमा मीरकासिमको गुर्गीनखां“ नेतृत्वको मुसलमान सेनासगको बिजय युद्धमा नेतृत्व गरेका, कास्कि, लमजुङ्ग , पर्वत, तनहुंसंगका ठुला युद्ध लडेका काजी बंशराज पाँडेलाइ महारानी राजेन्द्रलक्ष्मीले हनुमानढोका दरबारभित्रको भण्डारखाल बगैंचामा बिना अपराध काटिदिइन् । दुःखको कुरा ! बंशराज पाँडेको हत्या गलत थियो भनेर आजसम्म राज्य बोलेको छैन ।
तत्कालीन गोर्खा र नवोदित नेपाल राष्ट्रको निर्माण र उत्थानमा उपरोक्त दुई युद्ध अत्यन्त महत्व राख्ने किसिमका थिए । मकवानपुरको पूर्णतः पराजयबाट गोर्खालाई आधुनिक हतियारसमेत प्राप्त हुनसक्यो र ती नै हतियारबाट पृथ्वीनारायण शाहले आधुनिक तालिम प्राप्त र हतियारले सज्जित पाँच स्थायी सैनिक कम्पनी (श्रीनाथ, बर्दवाणी, कालीबक्स, सबुज र गोरख.) स्थापना गर्न सफल भए । उक्त पाँच कम्पनीले वर्तमान नेपाल निर्माणमा भएका प्रायः सबै निर्णायक युद्धमा भाग लिएर गोर्खालाई अपराजेय शक्तिका रुपमा स्थापित गरिदियो ।
यसबाहेक, मकवानपुर हर्नामाडीको गुर्गीन खाँसँगको युद्ध र सिन्धुलीको कप्तान किनलक नेतृत्वको अंग्रेज सेनासँगको युद्धपछि नेपाल सरहदभित्रका युद्धमा गोर्खालीहरूको शान र प्रभाव वेग्लै बन्यो । युद्धमा उदाउँदो विश्वशक्ति बेलायत र तिनका सेनालाई पराजित गर्न सफल गोर्खाली सेनासँग लड्नुअघि नै काठमाडौँ उपत्यका र अन्य स–साना पूर्व–पश्चिमका शक्तिशाली राज्यका राजा र सेना त्रसित हुनथालेका थिए ।
फलतः नेपालको एकीकरणमा गोर्खाप्रति सकारात्मक प्रभाव पर्दै गयो । नेपालभित्र मात्र होइन विदेशमा समेत गोर्खाली वीर र यहाँको युद्धकलाको परिचय पुग्नसक्यो । अब उनीहरूमा नेपाल भूमिमा आक्रमण गर्न आउने हिम्मत आएन । यो प्रभाव वंशराज पाँडेले नै छाड्न सके । युद्धकलाका अलावा कुशल कुटनीतिक चातुर्य वंशराजको अर्काे परिचय थियो ।
पृथ्वीनारायण शाह जहाँ चाहन्थे काजी वंशराज पाँडे त्यहीँ पुगेर विजयको झण्डा गाड्न सफल हुन्थे । गोर्खाली सेनाका अभेद्य पहाड बनेर वंशराज पाँडे युद्धमैदानमा उभिएपछि विपक्षीको युद्ध गर्ने साहस हुँदैनथ्यो । उनी आफ्ना विपक्षीमाथि इन्द्रको बज्र समान बज्रन्थे, हात्तीलेझैँ गर्जन्थे । मानौँ उनको छाती नै दुष्मनको गोली र तोप छेक्ने पहाड बन्दथ्यो । युद्धमा खटिएका सैनिकका लागि हरेक युद्ध विजय वा मृत्युको मैदान हुन्, वंशराज पाँडेले जीवन छउन्जेल दर्जनौँ युद्धमा भाग लिएर युद्धको मैदानमा मृत्युलाई पराजित गर्दैरहे । सिङ्गो र विशाल नेपाल निर्माणमा आफ्नो जीवन समर्पित गरिरहे ।
वि.सं. १८२८ मा गोर्खा र संयुक्त चौविसी सेनाबीच सतहुँमा भएको युद्धमा यिनी विपक्षी सेनाको कैदमा परे तर नेपाल अर्थात् गोर्खा विरुद्ध कदापि पनि मन डुलाएनन् र अहित सोचेनन्, देशविरुद्ध कुनै सम्झौता गरेनन् ।
सदैव युद्धमा रमाउने, विजयश्री दिलाउने र देश हितमा आपूmलाई समर्पित गर्ने देशभक्त सैनिक वंशराज पाँडेलाई हनुमानढोका राजदरबारभित्रको घृणित र लज्जास्पद आरोपले मर्म भेदन गरेको थियो । वीरताको कदरको साटो अपमानको वर्षाले जीवित छँदै मृत्युलाई रोज्न बाध्य बनाएको थियो । बिपक्षी सेनाका कैँयौँ घातक प्रहारबाट बाँच्न सफल वंशराज पाँडेले आफ्नै आँगनमा, आफ्नै बल, बुद्धि, शौर्य र कुटनीतिले बलियो बनाएको घरभित्र, आफू र आफ्ना पिता–पुर्खाको रगत पसिनाले हुर्काएको र सम्मान दिएको शाह राजाकै हातबाट लागेको लालमोहरबाट कपोलकल्पित आरोपको सामना गरी रातको समयमा एक्लो र निरीह अवस्थामा काटिएर जीवन गुमाउनु परेको थियो ।
वर्तमान नेपाल राज्यका निर्माता, राजा पृथ्वीनारायण शाहका मुख्य सारथि बनेर एकीकरणका निर्णायक युद्धमा विजयश्री प्राप्त गर्ने काजी वंशराज पाँडेको हत्याप्रति आजसम्म नेपाल राज्यले गल्ति महसुस गरेको पाइन्न । उनीप्रति सार्वजनिकरुपमा सच्चा श्रद्धान्जलि प्रकट गर्ने उच्च ओहदायुक्त कोही नेपाली अद्यापि देखिएको छैन । वंशराज पाँडेको मृत आत्माप्रति हृदयदेखि नै श्रद्धान्जलि चढाएर उहाँका सन्ततिले महसुस गरेको कालो दाग पखाल्न अब सचेत नागरिकबाट आवाज उठ्न जरुरी छ ।
लेखकको पुस्तक : ती सैनिक
मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न बाध्य पारिएका नेपालका सैनिक, काठमाण्डौ : शारदादेवी खड्का, २०७० बाट साभार ।











