• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनको २१ बुँदे अभियोग



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले २१ बुँदे अभियोग लगाएको छ । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएको छ।

सर्वोच्च अदालत र न्यायालयभित्रै प्रधानन्यायाधीश जबराको कार्यकालमा विकृति विसङ्गति र भ्रष्टाचार बढेको तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ । 

सत्तारुढ गठबन्धनका ९८ सांसद्हरुले महाअभियोग प्रस्ताव संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराउनुभएको हो । महाभियोगको प्रस्तावकमा नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ रहनुभएको छ । 

महाभियोग प्रस्ताव दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ। महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबराले निलम्बित अवस्थामा रहेर काम गर्न नपाउने संवैधानिक व्यवस्था छ।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको तथा विभिन्न मुद्दामा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश  राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ। 

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।

– महाअभियोग २१ बुँदे आरोपको प्रस्तावको पूर्णपाठ :

१. लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न वर्तमान प्रधान न्यायाधीश अक्षम रहेका छन् ।

२. सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्र नै निजको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाहरुले प्रवेश पाएको र प्रभाव वढाउँदै लगेको अवस्था विद्यमान छ ।

३. नेपालको संविधानले स्वतन्त्र, सक्षम, निष्पक्ष र जवाफदेही न्यायपालिकाको परिकल्पना गरी तदनुरुपको संवैधानिक प्रवन्ध गरेको छ । संविधानले परिकल्पना गरेको मूल्य र आदर्श सहितको न्यायपालिकाको लागि न्यायाधीशहरुलाई सोही अनुरुपको सेवा सुविधा र सेवाका शर्तहरु संविधान र कानूनद्वारा नै तोकिएका छन् । शक्ति पृथकीकरण र शक्ति सन्तुलन सिद्धान्तका सम्पूर्ण अवयवहरुलाई आत्मसात गरी नेपालको संविधानले न्यायपालिका तथा त्यसमा कार्यरत न्यायाधीशहरुलाई स्वतन्त्र र निर्भिकताको साथ इमान्दारीतापूर्ण ढंगले पदीय कर्तव्य निर्वाह गर्ने संवैधानिक दायित्व सुम्पिई त्यो शर्तमा नेपाली जनताले बुभाएको करबाट स्थापित सर्व–संचित कोषवाट निजहरुले पारिश्रमिक, सेवा र सुविधा प्राप्त गर्ने व्यबस्था गरेको छ ।

संविधानको पवित्र उद्देश्य र संवैधानिक दर्शनलाई सम्पूर्ण रुपमा भताभुंग र नष्ट गर्ने गरी स्वयं पदासीन निज प्रधान न्यायाधीशवाट उक्त संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले देखादेखी दुरुपयोग गरेकोले नेपालको सिंगो न्याय क्षेत्र र कानूनको रक्षा एवं स्वतन्त्र र सक्षम न्यायपालिकाको श्रीवृद्धि गर्नु पर्ने अहंम दायित्व बोकेका प्रधान न्यायाधीश सो अनुरुपको कर्तब्य पालन गर्न अक्षम तथा पूर्णतः विफल हुन पुगेका छन् ।

४. न्यायपालिका संविधानको अन्तिम व्याख्याता हो भने यसको नेतृत्व गर्ने प्रधान न्यायाधीश न्यायप्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्राप्त पदाधिकारी हुन् । प्रधान न्यायाधीश नियुक्ति हुनासाथ संविधान र कानूनको संरक्षण, सम्बर्धन र रक्षाका लागि सपथ लिएको मानिन्छ । तर, दुर्भाग्य नै भन्नु पर्छ नेपालको न्यायिक नेतृत्वमा पदासीन प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.का कार्यहरु एकपछि अर्को विवादास्पद, आपत्तिजनक पदीय मर्यादा र आचरण विपरित एवं संविधान र कानून विपरित हुँदै गएका छन् ।

लोकतन्त्रमा न्यायापालिकालाई संविधानको अन्तिम व्याख्याता र राज्यका अन्य अंगहरुमाथि शक्ति सन्तुलन कायम राख्ने महत्वपूर्ण निकायका रुपमा लिइन्छ । सक्षम एवं सशक्त न्यायालयको अभावमा सिंगो संविधान र त्यसले परिकल्पना गरेका कुनै पनि व्यवस्थाहरु यथार्थमा कार्यात्मक र जीवन्त हुन सम्भव छैन । यसका लागि न्यायालय सम्पूर्ण रुपमा स्वतन्त्र, सक्षम, निष्पक्ष, स्वच्छ, भ्रष्टाचारमुक्त र जिम्मेवार हुन जरुरी हुन्छ ।

“न्याय र शीलता” न्यायालयको पहिलो गुण हो । त्यसैले न्यायालयलाई न्यायको अन्तिम उपाय भनिएको हो । जसको प्राप्ती केनल स्वच्छ, सक्षम र स्वतन्त्र न्यायालयबाट मात्र सम्भव छ । संविधानमा अन्तरनिहित प्रस्तुत दर्शनको यथार्थ कार्यान्वयनका लागि न्यायिक नेतृत्वगर्ने प्रधान न्यायाधीशको सक्षमता, इमान्दारिता, सवैधानिक नैतिकता र आचरण सवै भन्दा अहं हुन जान्छ ।

कुनै पनि बहालवाला प्रधान न्यायाधीशसंग एउटा सफल संविधान र स्वतन्त्र न्यायपालिकाले अपेक्षा गर्ने र गरेका कुनैपनि गण र विषेशताहरु प्रधानन्यायाधीश राणासँग अब बाँकी नरहेकोले निजलाई पदमा कायम राखीरहन न्यायिक मूल्य र मायने उपयुक्ति देखिदैन,

५. प्रधान न्यायाधीशको उच्च पदीय जिम्मेवारीका अतिरिक्त नेपालको संविधानको धारा १२६ जारा पचासीन प्रधान न्यायाधीशलाई अति उच्च विश्वासकासाथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न सम्माननिय प्रधान न्यायाधीश राणा असक्षम रहेको, न्यायालयको साख, इज्जत, प्रतिष्ठा, प्रभावकारिता, जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट निज पूर्ण रुपमा बिमुख र विफल भएको तथा प्रधान न्यायाधीश राणामा पदीय जिम्मवारी, संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमता समेत नदेखिएको कारणले निजलाई महाभियोग लगाउनु पर्ने पर्याप्त आधार, कारण एवं अवस्था विद्यमान देखिएको छ ।

६.संवैधानिकता परीक्षण गर्न दायर भएका रिट निवेदनहरुको समयमै निज प्रधान न्यायाधीश राणाले निरुपणको व्यवस्था गर्नु पर्नेमा पदीय जिम्मेवारी विपरितका कार्य गरी न्यायमा बिचलन ल्याएका छन् । वस्तुतः न्यायिक अधिकार न्याय छिटो छरितो निरुपणका लागि हो न कि न्यायिक पदाधिकारीको आफ्नो वा अन्य कसैको निहित स्वार्थ परिपूर्तिको लागि दुरुपयोग गर्ने हो,

७. संवैधानिक परिषदको सदस्यको हैसियतमा प्रधानन्यायाधीश राणा आफू समेत संलग्न भई विभिन्न संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्ति सम्बन्धमा परेका रिट निवेदनहरुको एक वर्षसम्म पनि प्रारम्भिक सुनुवाइसम्म पनि नगरी न्यायमा गम्भीर अवरोध र विचलनको अवस्था सृजना गरेका सार्वजनिक भएको यथार्थ हो । प्रधान न्यायाधीश राणाबाट गरिएको विचलन, अवरोध छिप्न सनन जगजाहेर भइसकेको छ । प्रधान न्यायाधीशले आफूले अध्यक्षता गर्नु पर्ने संवैधानिक इजलाशको काम कारबाहीलाई अवरुद्ध गरी संविधानको कार्यान्वयनमै गम्भीर अवरोध सृजना गरेको प्रमाणित तथ्यले निजले पदीय कर्तव्य पालना नगरेको प्रमाणित भएको

८. सशस्त्र प्रहरीका तत्कालीन वरिष्ठ अधिकृत रञ्जनकृष्ण कोइराला संलग्न ज्यान मुद्दामा मातहत अदालतबाट भएको फैसला उल्टी गरी गैरकानूनी ढंगले कैद घटाएको प्रश्नमा उक्त मुद्दा पुनः सर्वोच्च अदालतमा विचाराधीन रहेकोमा त्यस्तो संगीन मुद्दाको शिघ्र सुनुवाई गरी गराई न्यायिक मूल्य पुनस्थापित गर्नु पर्नेमा आफैले पटक पटक पेशी स्थगित गरेको र त्यति संवेदनशील विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी सार्वजनिक रुपमै फैसलाको व्याख्या गर्दै त्यसको प्रतिरक्षा गरेको देखिएको छ ।

प्रधान न्यायाधीशले सरकारी प्रवक्ता जस्तो भई इजलाश बाहिर आफ्नो फैसलाबारे बोल्दै हिंड्नु र टीकाटिप्पणी गर्नु अदालतको गरिमा र पदीय मर्यादा अनुकूलको आचरण होइन, हुन सक्दैन,

९. भष्टाचारको अभियोग लागेका मुद्दाको छिटो छरितो सुनुवाइ गर्ने प्रयोजनका लागि विशिष्टकृत अदालतको रुपमा विशेष अदालतको गठन र शिघ्र न्याय सम्पादनको व्यवस्था विगत २ दशक अघिदेखि भएकोमा उक्त अदालतमा महिनौ देखि न्यायाधीशको पदपूर्ती गर्न अनिच्छुक रही निजले यो विशेष न्याय प्रक्रियामा समेत अवरोध सृजना गरेका छन,

१०. प्रधान न्यायाधीश तथा न्यायाधीशहरुले आफूसँग सम्बन्धित वा आफ्नो स्वार्थ सन्निहित मुद्दाको सुनुवाइमा आफु संलग्न नहुने भनी संवैधानिक इजलाशवाटै निर्णय गरे पश्चात पनि प्रधानन्यायाधीश राणाले इजलासमा बसेर व्यक्त गरेको आफ्नो राय विपरीतको विषयवस्तु बनाई संवैधानिक इजलाशको सुनुवाई रोकी पाँउ भनी परेको रिट निवेदनलाई अस्वाभाविक तरिकाले निजले पुर्व–अभ्यास ’वरित एकल इजलास समक्ष पेशीमा चढाई संवैधानिक इजलाशलाई अनिश्चित कालसम्म अवरुद्ध गर्ने प्रबन्ध मिलाउन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा. ले मुख्य भूमिका निर्वाह गरी संविधानको धारा १३७ ले प्रदान गरेको अधिकारको स्पष्टतः दुरुपयोग गरेको देखिएको छ,

११. प्रधानन्यायाधीशको नियुक्तिको क्रममा संसदीय समितिबाट सुनुवाई हुँदाका बखत निज प्रस्तावित प्र.न्या. राणाले सार्वभौम संसद समक्ष गरेका प्रतिवद्धता विपरित न्यायाधीशको पदपूर्ति र उचित समयभित्र मुद्दाको फस्र्योट गर्न असक्षम रही निरन्तर न्यायमा अवरोध सृजना गरी आफू संविधानतः प्रधान न्यायाधिशको नेतृत्वको जिम्मेवारी बहन गर्न पूर्ण असक्षम सिद्ध भैसकेको र संसदीय सुनुवाईका बखत व्यक्त निजको प्रतिबद्धता निजका काम कारबाहीबाट झूठो सावित हुन गएको छ,

१२. संवैधानिक परिषदको पदेन सदस्यको रुपमा कार्यपालिकासंग हिस्सेदारी माग गरी संवैधानिक आयोग तथा अन्य आयोगहरुमा आधार, कारण र मापदण्ड समेत निर्धारण नगरी आफ्ना परिवारका सदस्य तथा निकटका व्यक्तिहरुलाई प्रधान न्यायाधीश राणाले नियुक्तिको सिफारिश गरेको कुरा सार्वजनिक भइसकेकोले पनि त्यस्तो सम्मानित पदमा आसीन व्यक्तिले प्रधान न्यायाधीशको पदको घोर अपमान एवं दुरुपयोग हुने गरेको पुष्टी भएको छ,

१३. न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारको सम्वन्धमा अध्ययन गर्न आफैद्वारा गठित माननीय न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन प्राप्त भएपछि पनि सो प्रतिवेदन लागुगर्न अनिच्छुक तथा असक्षम देखिएको र सो प्रतिवेदन बुझ्ने क्रममा तत्काल कार्यान्वयनको प्रतिबद्धता प्रधान न्यायाधीश राणाले व्यक्त गरेपनि सोही प्रतिवेदनका बिरुद्धमा अभिव्यक्ति दिई पदिय मर्यादा विपरीत कार्य गरेको प्रष्ट छ,

१४. सर्वोच्च अदालतमा साप्ताहिक तथा दैनिक मुद्दाको पेशी र न्यायाधीश तोक्दा कुनै निश्चित आधार, मापदण्ड र मान्य प्रचलन एवं अभ्यासको पालना नगरी, मनोमानी र अपारदर्शी आधारमा इजलास गठन गर्ने र मुद्धा तोक्ने, न्यायाधीश तोक्दा खास खास किसिमका मुद्दाहरु आफ्नो इजलाशमा वा नियन्त्रणमा पर्ने गरी इजलाश तोकेर न्यायापालिकालाई निरन्तर विवादमा ल्याएको र न्यायपालिकाभित्र न्यायाधीशहरुका बिचमा पनि गुट–उपगुट सृजना गरी न्याय दिन बसेका न्यायाधीशबीच नै आशंका, अन्योल र उदासीनताको वातावरण सृजना गरी अदालतको न्यायिक कार्य सञ्चालनमा वाधा–अबरोध पु¥याएको।

१५. न्यायपरिषदको अध्यक्षको हैसियतले सबै तहका अदालतका न्यायाधीशहरुको नियुक्ति गर्दा निष्पक्ष एवं पारदर्शी रुपमा गर्नु पर्नेमा मनोमानी ढंगले नियुक्ति गरेको, नियुक्त भएका कतिपय व्यक्तिहरुको योग्यता, क्षमता र अनुभव नभएकोले त्यस्तो गैर कानूनी नियुक्तिको कानूनी र नैतिक दायित्व निज प्रधान न्यायाधीशबाट पालना नभएको, निजको सक्रियतामा नियुक्त न्यायाधीशहरु स्वीकार्यतामा नै प्रश्न चिन्ह खडा भएको छ,

१६. आफ्नै परिवारका सदस्य र नातागोताका व्यक्तिहरु एवं आफूले नियुक्त गरेका कतिपय न्यायाधीश र पदाधिकारीहरुलाई विचौलियाको रुपमा संलग्न गराई भ्रष्टाचार र अनियमितता गरी अबैध सम्पत्ति आर्जन गर्ने गराउने कार्यमा सम्लग्न रहेको, निजले आफ्ना परिवारका नाममा जोडेका सम्पत्तिको विवरण सार्वजनिक भएपछिको जानकारीबाट पनि प्रधान न्यायाधीश राणाको आचरण, पदीय मर्यादासँग अमिल्दो र विल्कुल अस्वाभाविक देखिन आएको छ ।

त्यतिमात्र होइन, यसबाट प्रधान न्यायाधीशको सम्मानित पद मुलुकको संविधान र कानूनको रक्षा गर्न वा भोका निमुखा अन्यायमा परेका जनताको रक्षाका लागि होईन आफू र आफ्ना परीवार एवं सीमित घेराका निहित स्वाधी विचौलियाहरूको हकहितको सम्वर्द्धन र संरक्षण गर्नका लागि निजबाट पदको दुरुपयोग भइरहेको भन्ने जनमानसमा पर्न गई न्यायापालिकाको छविमा गम्भीर असर र अनास्था उत्पन्न हुनगएको छ । साथै प्रधानन्यायाधीश स्वयं भ्रष्टाचार र अनियमितता गरी अबैध सम्पत्ति आर्जन गर्ने गराउने कार्यमा सम्लग्न रहेको विषयमा सम्पत्ति सुद्धीकरण लगायतका नियमनकारी निकायमा छानविनको माग भई उजुरी समेत परेकोले यस सम्बन्धमा समेत छानविन गर्न महाअभियोगको कारबाही चल्न आवश्यक रहेको छ,

१७. मिति २०७८–०७०८ पश्चात निज प्रधान न्यायाधीश राणामाथिको आशंका र अविश्वास तथा निज स्वयंको गैरन्यायिक आचरणका कारणले इजलाशमा निज बस्न नसकेको, संविधानले परिकल्पना गरेको सक्रिय प्रधान न्यायाधीशको अवधारणा निश्कृय हुन गएको छ । प्रधान न्यायाधीश राणाले आफ्नै कार्य तथा आचरणबाट निज प्रधान न्यायाधीशको पदीय जिम्मेवारी पालना गर्न गराउन असक्षम एवं असमर्थरहेको निर्विवाद सिद्ध छ ।

कोभिड जस्तो संक्रमणबाट पीडित भई अस्पताल भर्ना भएको अवधिमा समेतबिदामा नबसी प्रचलित कोभिड संक्रमण सम्बन्धी कानूनको उल्लंघन गर्ने कार्य गरी सर्वोच्च अदालतलाई जानी जानी नेतृत्वविहीन बनाई नेपालको संविधानको धारा १२९(६) को ठाडो उल्लंघन गरेको,

१८. अन्य एवं सहकर्मी माननीय न्यायाधीशहरु प्रधान न्यायाधीशसंग इजलाशमा संगै बसी न्याय सम्पादन गर्न तयार नभएको तथ्यलाई निज स्वयंले स्वीकार गर्दै प्रधानन्यायाधीशको रुपमा निजमाथि आक्षेप लाग्दा पनि केवल हाजीर जनाएर निवास फर्कने गरेबाट प्रधान न्यायाधीश राणाको नेतृत्वमा सर्वोच्च अदालत सञ्चालन हुन असम्भव हुन गएको छ,

१९. प्रधानन्यायाधीश सहित बसी बैठक सञ्चालन गरी संवैधानिक र कानूनी कर्तव्य पालना गर्नु पर्ने न्यायपरिषद एवं न्याय सेवा आयोगको बैठक लामो अवधिदेखि बस्न नसकेको, यसका कारण न्यायाधीश एवं न्याय सेवाका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा लगायत वृत्ति विकासको अनिवार्य कार्यहरु अवरुद्ध हुन पुगेको जानकारी राख्दा राख्दै पनि विगत ३ महिनादेखि सर्वोच्च अदालत लगायत सम्पूर्ण न्यायपालिका नेतृत्ववहिन तथा जिम्मेवारीविहीन स्थितिमा पुयाएको साथै सर्वोच्च अदालतको पूर्ण बैठक समेत कानून एवं संविधानसम्मत रुपमा बसाउन नसक्ने लज्जास्पद अवस्था खडा गरेका छन । यसका अतिरिका न्यायप्रशासन ऐन २०७३ बमोजिम न्याय परिषदले मात्र न्यायाधिशको सरुवा गर्न सक्नेमा उच्च विशेष अदालत समेतका न्यायाधीशलाई काज सरुवा गरी पदको दुरुपयोग गरेको अवस्था छ ,

२० मुलुकको कानून प्रणालीलाई दीर्घकालीन प्रभाव छाड्ने विधिशास्त्रीय महत्वको कुनै योगदान पुर्याउन निज प्रधान न्यायाधीश असफल भएका छन् । जनताका निमित्त अन्धकार र बिचौलियाका निमित्त सुरक्षित स्वर्गको रुपमा न्यायपालिकालाई स्थापित गर्ने र सञ्चालन गर्ने असवैधानिक एवं अमर्यादित हरकतबाट न्यायपालिकालाई मुक्ति दिलाउनु अपरिहार्य भएको छ,

२१. पूर्व न्यायाधीश, नागरिक समाज, नेपाल बार एशोसिएशन एवं सर्वोच्च अदालत बार एशोसिएशन समेतबाट प्रधान न्यायाधीशको कार्यमा गम्भीर प्रश्न खडा गरी अविश्वास प्रकट गरेको र उल्लिखित बार एशोसिएशनले प्रधान न्यायाधीशको सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन १०० दिन भन्दा अघि देखि धर्ना, जुलुस, सभा सम्मेलन समेतका विभिन्न कार्यक्रम गर्दै आएको र सिंगो न्यायिक प्रणाली अबशादको स्थितिमा रही संवैधानिक प्रणाली सुसञ्चालन हुनमा बाधा उत्पन्न भइरहेको र तत्काल यो परिस्थितिबाट न्यायोचित निकास दिनका लागि महाभियोगदाग निजको पदमुक्ति अति आवश्यक हुन आएको छ ।

नेपाल राष्ट्रको सबैभन्दा सम्मानित एवं मयादित राख्नु र देखिनु पर्ने प्रधानन्यायाधीशको पदलाई आफ्नै गैरजिम्मेवारीपन, अधिकारको दुरुपयोग एवं अनैतिक आचरणको कारणले अत्यन्त विवादित बनाई न्यायिक गतिरोध सृजना गरेकोले प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.लाई महाभियोग प्रस्ताव पारित गरी पदमुक्त गर्नुको कुनै विकल्प छैन ।