काठमाडौं । प्रतिनिधिसभा विघटन सन्दर्भमा परेको रिटहरूमाथिको सुनुवाइमा आज पनि संवैधानिक इजलासलाई स्थगित गरिएको छ ।
दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलबाट प्रश्न उठेपछि मुद्दामा प्रवेश हुन नसकेको हो । उनीहरु दुवै पुनर्गठित इजलासमा दोहोरिएका न्यायधीश हुन् ।
इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहसले मोड लिएको थियो ।
प्रधानन्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिएसँगै बहस त्यसतर्फ मोडिन पुग्यो ।