• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि

तनहुँमा ड्रागन खेती



तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लाग्नुभएको हो ।

करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताउनुभयो । “गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा रू एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ”, उहाँले भन्नुभयो ।

कृषक गौलीले खेतीका लागि सुरुमा करिब रू ७० लाख लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिनुभयो । एउटा पोलमा करिब रू दश हजारका दरले खर्च भएको उहाँको भनाइ थियो ।

बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताउनुभयो । उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गर्नुभएको थियो । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भन्नुभयो, “फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु”, “केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुन: बिरुवामा परिणत गर्ने योजना बनाएको छु ।” फुल्न लागेको समयमा हावाहुरी आउँदा केही फूल झरेर क्षति भएको उहाँले बताउनुभयो ।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गर्नुभएकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित हुनुभएको हो । उहाँले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आउनुभएको छ । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिनुभयो । रासस