यस वर्षको फ्रेन्च ओपन टेनिसको चौथो राउन्डबाटै अमेरिकी सेरेना विलियम्स विदा भएकी छिन् ।
विश्व वरियतामा हाल सातौं नम्बरमा रहेकी सेरेनालाई २१औं वरियताकी कजाकिस्तानकी एलिना रिबाकिनाले सोझो सेटमा हराइन् । क्ले कोर्टमा शुरुदेखि नै संघर्ष गर्नु परेकी सेरेनालाई एलिनाले ६–३, ७–५ ले पराजित गरिन् ।
यो जितसँगै एलिना महिला सिंगल्स तर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । अब उनको भेट क्वार्टरफाइनलमा बेलारुसकी ३१औं वरियताकी अनास्तासिया पाब्लुचेन्कोभासँग हुनेछ ।
पूर्व विश्व नम्बर १ तथा २० वटा ग्रान्डस्लाम जितिसकेका रोजर फेडररले फ्रेन्च ओपन परित्याग गरेका छन् । घुँडामा चोटको दुई पटक अपरेसन गरेर रिहाविलिटेसन गरिरहेका फेडररले आफू थप खेल खेल्न नसक्ने बताएका छन् ।
उनले एक वक्तव्य प्रकाशन गरी टिममा छलफल गर्दा थप खेलहरु नखेल्नु उचित हुने सल्लाह दिइएको बताएका छन् ।
आइतबार सम्पन्न अन्य खेलहरुमा पुरुष एकलतर्फ ग्रीसका पाँचौं वरियताका स्टिफानोस चिचिपास क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।
उनले १२औं वरियताका पाब्लो क्यारेनो बुस्टालाई ६–३, ६–२, ७–५ ले पराजित गरेका थिए ।
रसियाका विश्व वरियताको दोस्रो नम्बरमा रहेका डानी मेडभेडेभले चिलीका २२औं वरियताका क्रिस्टियन ग्यारिनलाई ६–२, ६–१ र ७–५ ले सोझो सेटमा पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै आइतबार राति भएको खेलमा अलेक्जान्डर झेरेभले जापानका केई निशिकोरीलाई ६–४, ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।
महिला सिंगल्स तर्फ बेलारुसकी ३१औं वरियताकी अनास्तासिया पाब्लोचेन्कोभा विजयी भएकी छिन् । उनले १५औं वरियताकी रसियाली भिक्टोरिया अजारेन्कालाई ७–५, ६–३, ६–२ ले हराइन् ।
यस्तै, टमारा जिडानसेक र मार्केटा भोन्ड्रुसोभा पनि आआफ्ना खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।