२५ मंसिर २०८१, मंगलवार
,
Latest
महासंघको विधान संशोधन सर्वसम्मत: अध्यक्ष प्रत्यक्ष निर्वाचित, कार्यकाल २ वर्ष बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक यस वर्षको ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान वीरगञ्जमा सकियो रवि लामिछानेको बयान, बुधबार कास्की  लैजाने तयारी  आगामी यात्रा तय गर्न यो जित पर्याप्त हुँदैनः रोहित पौडेल एकै खेलमा ६ विकेट लिएका बोसिस्टो भन्छन्– नेपालमा धेरै क्षमतावान् युवा क्रिकेटर छन् प्रधान सेनापति सिग्देल भारत प्रस्थान मिडिल अर्डरमा राम्रो हुन सकेन– दिनेश खरेल नागरिकको मानवअधिकार रक्षामा प्रतिबद्ध छौँः गृहमन्त्री लेखक सर्वोच्चले माग्यो रास्वपा नेताहरूसँग लिखित जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत खेती छाडेर कफी खेतीमा



symbolic picture
अ+ अ-

रेसुङ्गा । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पुर्‍याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ ।

सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गर्नुभएको छ । “मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो”, उहाँले भन्नुभयो, “कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।” उहाँले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गर्नुभएको छ ।

सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गर्नुभएको छ । “छोराछोरी अध्ययनको लागि सहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ”, उहाँले भन्नुभयो, “कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरेमात्र पुग्छ ।” अहिले सबै खेतबारीमा कफीका बिरुवा रोपेको उहाँले बताउनुभयो ।

मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताउनुभयो । “कफीबाट आर्थीक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ”, उहाँले भन्नुभयो, “हामीले मकै, कोदो र गहुँ खेती छाडेर कफी खेतीमा लाग्यौँ ।” आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषि भन्दा आधुनिक कृषि बढी लाभदायी हुने उहाँको भनाइ थियो ।

सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ । किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताउनुभयो । उहाँका अनुसार उक्त परियोजनान्तर्गत सिर्सेनी प्राङ्गारिक कफी कृषि पाठशाला १५ हप्तासम्म कफी पाठशाला कार्यक्रम सञ्चालन गरेर प्रशिक्षण प्रदान गरिएको थियो ।

परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताउनुभयो । “कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा सचेतना गराएका छौँ”, उहाँले भन्नुभयो, “कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।”

गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताउनुभयो । “कफीको उत्पादनमा मात्रै समस्या हो, बजारीकरणको समस्या छैन”, उहाँले भन्नुभयो, “सिर्सेनीका किसानको सक्रियताले कफीमा आशा जगाएको छ ।” प्रमुख भण्डारीले पाठशालामार्फत सिकेका कुरा कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट कफी खेतीलाई विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । रासस