• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल



file photo

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि बुधबारदेखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।”

भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताउनुभयो । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताउनुभयो । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमबार आव २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । “आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ”, सञ्चारमन्त्री शर्माले भन्नुभयो ।