१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

जलकुम्भीले सुक्दै ताल

जलकुम्भीले सुक्दै ताल
अ अ+ अ-

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।

भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो । “दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो”, उहाँले भन्नुभयो ।

पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको अध्यक्ष चापागाईँको भनाइ थियो । उहाँका अनुसार दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । “यहाँ आउने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि”, उहाँले भन्नुभयो ।

अध्यक्ष चापागाईँका अनुसार वन प्रवेश गरेको एक जनासँग रू २५ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उहाँले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताउनुभयो । उहाँले पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको बताउनुभयो ।

दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यसवर्ष बर्सातको कमी भएका कारण जलकुम्भी झार बढेको बताउनुभयो । “पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फुल पहिले पनि फुल्थ्यो । अहिले फुल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ”, उहाँले भन्नुभयो । जलकुम्भीले ताललाई विनास गरेको उहाँको भनाइ थियो । “अहिले जलकुम्भीका कारण ताल पुरिएकाले ताल गहिराउनुपर्ने अवस्था छ”, न्यौपानेले भन्नुभयो, “हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकट काटेर प्रवेश गराएका छैनौँ ।”

बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनारले जलकुम्भीलाई कमलको फुल भन्दै टाढाटाढाबाट आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो । “प्रत्येक दिन यहाँ आएर सयौँले जलकुम्भीबारे सोध्नुहुन्छ । हामीले तालमा फुल्ने झार हो भनेर जानकारी दिने गरेका छौँ”, उहाँले भन्नुभयो । जलकुम्भी झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।”

बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिनुभयो । “मान्छे प्रकृतिमा रमाउन चाहान्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ”, उहाँले भन्नुभयो । जलकुम्भीको फुल फुल्ने, बाक्लो हुँदै जाने र ताल माथिमाथि आएर कुहिने हुनाले विस्तारै ताल सुक्दै जाने यादवको भनाइ थियो । उहाँका अनुसार यहाँ हुने रैथाने झार चराका लागि राम्रो मानिन्छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै यादवले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताउनुभयो ।

निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने बनस्पतीलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै ध्यान यसतर्फ सबैको जानुपर्ने बताउनुभयो । “डढेलो लाग्ने ठाँउमा जलकुम्भी बढी फैलन्छ र ताल तलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालिन रुपमा असर गर्छ, बेलेमा सबैको पहलमा समाधनतर्फ लाग्नुपर्छ”, अधिकृत घिमिरेले भन्नुभयो ।

निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले ताल नै नरहने जोखिम बढ्ने बताउनुभयो । उहाँले यहाँका ताल यस क्षेत्रको सिँचाइको स्रोत समेत भएको जानकारी दिनुभयो । “यहाँका ताल अनुसन्धान केन्द्र (रिचार्ज सेन्टर) हुन् । यिनको संरक्षण विना सिमसार जोगाउने कुरा सम्भव हँुदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक भित्रिए पनि दीर्घकालिनरुपमा यसले वातावरण र तालतलैयामा असर गर्छ”, समितिका अध्यक्ष ढुङ्गानाले भन्नुभयो । उहाँले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग दुवै स्थानीयले गर्ने भएकाले पर्यटक भित्राउन अन्य दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताउनुभयो । उहाँले यसको दीर्घकालिन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्राउने भन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले तालहरू यहाँको कृषि प्रणालीसँग जोडिएकाले तालको संरक्षण गर्दा कृषि उत्पादनमा टेवा पुग्ने बताउनुभयो । घिमिरेले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गर्नुभयो । पत्रकार रमेशकुमार पौडेलले समस्या ल्याउने बनस्पतीलाई समस्याका रुपमा हेर्नुपर्ने भन्दै पर्यटकीय आकर्षणका लागि अन्य विकल्प खोजी जलकुम्भीको दीर्घकालिन समाधान खेज्नुपर्ने बताउनुभयो । रासस