काठमाडौं । सरकारले आजदेखि (मंगलबार) देशैभरी खोप अभियान सञ्चालन गर्दैछ । ६० वर्षदेखि ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
केही दिन अघि मित्रराष्ट्र चीनले नेपाल सरकारलाई सहयोग स्वरुप दिएको १० लाख डोज खोप उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले ६० देखि ६५ वर्षको उमेर समुहलाई लगाउने खोप देशैभरीका खोप केन्द्रमा पुगिसकेको बताउनुभयो । ६० देखि ६४ वर्ष उमेर समुहका करिब ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको सह–प्रवक्ताले जानकारी दिनुभयो ।
८ लाख मध्य ३ लाखले विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा ५ लाख जना जेष्ठ नागरिकले खोप लगाउने स्पष्ट पार्नुभयो ।
सहप्रवक्ता अधिकारीले खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानुपर्ने बताउनुभयो । यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने बताउनुभयो ।