काठमाडौं । महात्मा गान्धीकी पनातिनी आशिष लता रामगोबिनलाई दक्षिण अफ्रिकाको एक अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ ।
रामगोबिनलाई अदालतले ६० लाख रेन्ड जालसाजी गरेको अभियोगमा यो सजाय सुनाएको हो । रेन्ड दक्षिण अफ्रिकाको मुद्रा हो र नेपाली रुपैयाँमा यसको मूल्य करिब ५ करोड १५ लाख रुपैयाँ हुन जान्छ ।
सोमबार दर्बनको एक अदालतले ५६ वर्षकी रामगोबिनलाई यो सजाय सुनाएको हो ।
उनीमाथि उद्योगपति एसआर महाराजलाई जालसाजी गरेर पैसा ठगेको आरोप थियो । आशिष लता नाम चलेकी मानवअधिकारकर्मी इला गान्धी र दिवंगत मेवा रामगोविन्दकी छोरी हुन् ।
महात्मा गान्धीका कैयौं अन्य वंशजहरु मानव अधिकार कार्यकर्ता छन् । उनीहरुमध्ये आशिष लताका काकापट्टिका दाजुभाइ किर्ति मेनन, स्वर्गीय सतीष धुपेलिया र उमा धुपेलिया मिस्त्री लगायत छन् । आशिष लताकी आमा इला गान्धीलाई पनि विशेष रुपले उनका प्रयासको लागि अन्तराष्ट्रिय स्तरमा पहिचान प्राप्त भएको थियो ।
। इला गान्धी महात्मा गान्धीका ४ छोरामध्ये माइला छोरा मणिलाल गान्धीकी छोरी हुन् ।
भारत र दक्षिण अफ्रिकामा उनलाई राष्ट्रिय सम्मानले पुरस्कृत गरिएको थियो ।