• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री ★   पुष्पकमल दाहालमा अति कुर्सीमोह दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको छ: बाबुराम भट्टराई ★   प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन ★   क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै ★   ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र ★   आफ्नै रेकर्ड तोड्दै कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा ★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर

काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता



काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार तीन सय १२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिनुभयो । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उहाँले भन्नुभयो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताउनुभयो । पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उहाँको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए । रासस