३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

०७८ भदौमै पार्टीको महाधिवेशन हुने देउवाको दाबी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।

देउवाले बुधबार एक वक्तव्य जारी गर्दै महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

देउवाको अपिलको पूर्णपाठ
आदरणीय दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरू !
कोभिड–१९ को महामारीले लामो समयदेखि हामी अत्यन्त कठिन अवस्थामा छौं । संक्रमणका कारण पार्टीका धेरै साथीहरु, साथीहरुका परिवारका सदस्य र नागरिकहरुले ज्यान गुमाउनु भयो भने कतिपय निकै पीडामा रहनु प¥यो । म कोभिड–१९ का कारण दिवंगत हुनु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । संक्रमणका कारण घरमा आइसोलेसनमा बस्नु भएका वा अस्पतालमा भर्ना हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको राय अनुसार रहन÷बस्न अनुरोध गर्दछु । सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सृजना भएको छ । यसमा सरकार पूर्ण रुपले दोषी छ । 

यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् । महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनु पर्दछ । हामीसँग अब बढी समय छैन । आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन् । 

म पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु । कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु । 
जय नेपाल !
शेरबहादुर देउवा
सभापति